बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
काठमाडौं- सरकारले यस वर्षको महाकवि देवकोटा पुरस्कारद्वारा भाषा र साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने स्रष्टाहरुलाई सम्मान गरेको छ। महाकवि देवकोटा पुरस्कारबाट पुरस्कृत हुने स्रष्टाहरुमा कवितातर्फ रामचन्द्र भट्टराई, निबन्ध समालोचनातर्फ निनु चापागाईं, आख्यान नाटकतर्फ मनु ब्राजाकी, बालसाहित्य लोकसाहित्यतर्फ शान्तदास मानन्धर र साहित्य सेवातर्फ रमेशरञ्जन झा छन्।
सो अवसरमा प्रधानमन्त्री बाबुराम भट्टराईले विभिन्न पाँच विधामा उत्कृष्ट योगदान पुर्‍याउने ती स्रष्टाहरुलाई पुरस्कार प्रदान गरेका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने सो पुरस्कारको राशि रु एक लाख र सम्मानपत्र रहेको छ।
प्रधानमन्त्री भट्टराईले महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चित मात्र नभएर आधुनिक नेपाली साहित्यको जग बसाल्ने प्रगतिशील र आधुनिकतावादी धारा एवम् प्रवृत्तिका स्रष्टा रहेको बताए। प्रधानमन्त्री भट्टराईले ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्ने कालजयी भनाइमार्फत समाजमा रहेको विभेदविरुद्ध कलम चलाउने महाकवि देवकोटालाई स्वच्छन्दवादी, प्रकृतिप्रेमी र राष्ट्रवादीका रुपमा लिन सकिने बताए।
उनले कविता, निबन्ध, नाटकलगायतका लेखनमा कलम चलाउँदा नयाँ शब्दको सिर्जना गरी नेपाली साहित्यलाई झ्याङ्गिने र फैलाउने काममा उल्लेख्य योगदान दिने महाकवि देवकोटा उच्च कोटीका सर्जक रहेको धारणा व्यक्त गरे।
“साहित्य, कला र संस्कृति समाजको ऐना भएको र बाह्य तथा आन्तरिकरुपमा देशलाई समृद्ध भएको परिचय दिन यसले योगदान दिन्छ, सिर्जनाका माध्यमबाट स्रष्टाहरुले राष्ट्रको विकासमा योगदान पुर्‍याउने कुरा निर्विवाद छ,” प्रधानमन्त्री भट्टराईले बताए।
प्रधानमन्त्री भट्टराईले महाकवि देवकोटाको जीवनको अन्ततिर प्रगतिशील साहित्य नै मुक्तिकामी जनताको आवाज हो र यसैबाट राष्ट्रको उन्नतिमा आवश्यक सहकार्य, सहअस्तित्व र समानतालाई टेवा दिन्छ भन्ने धारणा सिर्जनाका माध्यमबाट अभियानका रुपमा राख्ने महाकविको विचार तत्कालीन शासक र सामन्तीहरुलाई अत्यन्त बाधाका रुपमा विशाल चट्टानझैँ खडा भएको बताए।
प्रधानमन्त्री भट्टराईले महाकवि देवकोटा पुरस्कार नेपाली भाषामात्र नभई नेपालमा बोलिने र लेखिने भाषा साहित्यका क्षेत्रमा योगदान दिने स्रष्टाहरुलाई पनि प्रदान गर्न आवश्यक पहल गर्ने आश्वासन दिए।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले समाजको विकास र विस्तारमा भाषा, साहित्यको महत्वपूर्ण योगदान रहने बताउँदै महाकवि देवकोटाको लेखनले पनि नेपाली साहित्यलाई समृद्व बनाउन उच्च योगदान दिएको धारणा राखे।
मन्त्रालयका निमित्त सचिव रञ्जनकृष्ण अर्यालले पुरस्कारको स्थापना र वितरणको औचित्यबारे प्रकाश पारेका थिए। पुरस्कृत स्रष्टा निनु चापागार्इंले लेखकले समाज, जीवन र जगतलाई जानकारी गराउने अभिप्रायले लेख्ने बताउँदै समाजका विकृति, विसङ्गतिलाई हटाएर समाजको नयाँ रूपान्तरणमा पनि योगदान पुर्‍याउने गरी लेख्ने धारणा राखे।
पुरस्कार छनोटका लागि नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य प्रा डा महादेव अवस्थी संयोजक र प्रा डा देवीप्रसाद गौतम, मातृका पोखरेल, विश्वभक्त दुलाल र रमेशप्रसाद भट्टराई रहनुभएको पुरस्कार सिफारिश समिति गठन गरिएको थियो।
गत वर्षदेखि आरम्भ गरिएको सो पुरस्कारबाट २०६८ सालमा कालीप्रसाद रिजाल, प्रा डा केशवप्रसाद उपाध्याय, मदनमणि दीक्षित, धर्मराज थापा र रमा शर्मा पुरस्कृत भएका थिए।

तपाईको प्रतिक्रिया