शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

Ok 1क्वालालाम्पुर – मलेसियामा कार्यरत आप्रवासी श्रमिकहरुको साझा संगठन प्रगतिशील प्रवासी श्रमिक मञ्च मलेसियाको पाँचौं राष्ट्रिय सम्मेलन डिसेम्बर १६ का दिन राजधानी क्वालालाम्पुरमा भब्य रुपमा सम्पन्न भयो । सम्मेलनको उदघाटन गर्दै प्रमुख अतिथि एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओबादीका महाधिवेशन आयोजक समितिका सदस्य तथा जनबर्गीय संगठन इञ्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ ले सम्मेलनलाई सम्बोधन गर्नुभयो । मलेसियामा रहेका लाखौं मजदूरहरुको समस्याहरुको वारेमा आफूले प्रत्यक्ष रुपमा पहिलो पटक बुझन पाएको बताउँदै नेता प्रभाकरले भन्नुभयो ‘यति धेरैको सँख्यामा मजदूरहरु उपस्थिति हुन्छन् भन्ने अनुमान गरेको थिईन, यो सम्मेलनबाट मैले मलेसियामा रहेका मजदूरहरुको धेरै समस्याबारे पनि जानकारी पाएँ ।’ प्रभाकरले थप्नुभयो ‘श्रमिकहरुको एकताले नै श्रमिकहरुका अधिकार प्राप्त हुन्छन् । अबैधानिक हुन पुगेका मजदूरहरुलाई बैधानिक बनाउन के के पहल गर्नुपर्छ, त्यसको प्रक्रियामा आफूले खेल्नुपर्ने भूमिका खेल्नेछु ।’ आप्रवासी मजदुरहरुको बारेमा पार्टीको धारणा ब्यक्त गर्दै नेता प्रभाकरले भन्नुभयो, ‘लाखौं नेपाली किसानका छोरा छोरी आज आप्रवासी मजदुरको रुपमा रुपान्तरण भएका छन् । यो बिषयमा आगामी माघमा हुने हाम्रो सम्मेलनमा बहसको बिषय बन्नेछ । नेपाली कम्युनिष्ट आन्दोलनमा र अन्तर्राष्ट्रिय मजदुर आन्दोलनमा यी श्रमिकहरुको बारेमा बैचारिक संश्लेषण गर्नु जरुरी छ ।’

प्रगतिशील प्रवासी श्रमिक मञ्चका सम्मेलन मूल तयारी समिति संयोजक रमेश तुफानको अध्यक्षता र कोपिला गौतमको सञ्चालनमा सम्पन्न सम्मेलनमा प्रमुख अतिथि शर्माले जोड दिंदै भन्नुभयो ‘संगठनले उठाएको १३ बुँदे मागलाई सरकारले अविलम्ब पुरा गर्नुपर्छ । त्यसका लागि हाम्रो पार्टीले पहल गर्नेछ । तपाईहरुले उठाएको जोखिम र परिश्रम केवल तपाईको लागि मात्र होईन, देशकै लागि हो । तपाईहरुको सुरक्षा र रोजगारीको सुनिश्चित हाम्रो राज्यले गर्नुपर्दछ । यसका लागि तपाईहरुले मात्र चुनौतीको सामना गरिरहने होईन ।’

Ok 2एकीकृत नेकपा माओवादीको महाधिवेशन आयोजक समितिका सदस्य तथा विदेश विभाग एसिया प्रशान्त क्षेत्रीय इन्चार्ज युवराज चौलागाईले मलाय स्वतन्त्र बनाउन हाम्रा पूर्खाहरुले रगत बगाएको र अहिले मलेसिया बनाउनको लागि पनि नेपाली श्रमिकहरुले पसिना बगाइरहेका छन् भन्नुभयो । उहाँले अवका दिनमा श्रमिकहरुलाई नेपालमै रोजगार सिर्जना गर्नको लागि राजनीतिकदल कटिवद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्नो पार्टीले यस क्षेत्रमा बिशेष चासो दिएर अगाडि बढ्ने पनि जानकारी दिनुभयो । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय मजदुर संयोजक बावुराम गौतमले मलेसिया लगायत विश्वभर ५० लाख भन्दा बढी नेपाली श्रमिकहरुले काम गर्ने बताउदै उनीहरुका समस्या जर्जर भएको विचार व्यक्त गर्नुभयो । उनीहरुमाथी विदेश र स्वदेश दुवै देशका दलालहरुबाट नयाँ-नयाँ प्रकारका ठगी, शोषण र असुरक्षा बढ्दै गएको उहाँले बताउनुभयो । श्रमिक नेता गौतमले विदेशी भूमिमा दोश्रो दर्जाको नागरिकको रुपमा अपमानित भएर श्रम गरिरहेका दर्जनौं घट्नाले आफूलाई असैहृय पीडा हुने गरेको विचार व्यक्त गर्नुभयो । उहाँले अखिल नेपाल ट्रेड युनियन महासंघले श्रमिकहरुको समस्या पहिचान गर्दै उनीहरुका समस्याहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दा बनाएर समाधान गर्न आवश्यक परे जस्तोसुकै आन्दोलन गर्न पनि पछि नहट्ने उदघोष गर्नुभयो ।

करिव १ हजार भन्दा बढीको संख्यामा मलेसियाभरबाट प्रतिनिधिको रुपमा सहभागी श्रमिक अगुवाहरुको जुझारु एकतालाई सलाम गर्दै तानागानिताकी निर्देशक डा.आइरिन फर्नान्डेजले भन्नुभयो – ‘तपाई श्रमिकहरु एक्लै हुनुहुन्न, हामी छौं, कसैले पनि शिर झुकाएर काम गर्नुहुन्न । स्थानियहरु भनेको सबै तपाईहरुलाई दुःख दिने र शोषण गर्ने दलाल र ब्यबस्थापक जस्ता मात्र हुँदैनन् । स्थानियहरु तपाईहरुको अधिकार अरुले खोस्न हुन्न भन्ने र तपाईहरुको अधिकार प्राप्तिका लागि सँगै साथ दिने पनि हुन्छन् । तानागानिता तपाईहरुसँग नेपाल श्रमिक संगठन (एनएलओ) मार्फत सहकार्य गर्दै आएको छ । एनएलओको सही आन्दोलनका कारण नै आज यो बृहत एकता प्रदर्शन भएको छ । अब प्रगतिशील प्रवासी श्रमिक मञ्चमा रुपान्तरण भएको एनएलओले श्रमिक अधिकारको सुनिश्चित गर्नेछ ।’ साझा एकताप्रति जोड दिँदै फर्नान्डेजले भन्नुभयो- ‘मलाई बिश्वास छ, तपाईहरुको यस्तै एकता अगाडि बढिरहृयो भने मालिक र दलाल मात्र होईन, शोषण र दमन मच्चाईरहेको कुनै पनि राष्ट्रको सरकार र सत्ता पुरै झुक्न बाद्य हुन्छ । यो ताकत श्रमिकहरुसंग छ ।’

विहान १०.३० बजेबाट शुरु भएको सो सम्मेलनमा एकीकृत नेकपा माओवादी प्रचार राज्यसमितिका सदस्य तथा समावेशी मासिकका सम्पादक खिलबहादुर भण्डारीले मलेसियाका गगनचुम्बी घरहरु बनाउन नेपाली मजदूरुहरुको पसिना बगेको विचार व्यक्त गर्नुभयो । सुन्दर र बिकसित यो आधुनिक मलेसिया निर्माणका अभियानमा लागेका नेपाली श्रमिकहरुको आर्थिक सामाजिक अवस्था दयनीय स्थिति देखेर भने आफुलाई अत्यन्त भावविहृल बनाएको बताउनुभयो । अर्का स्थानीय अतिथि मलेसिया वार काउन्सिलका आप्रवासी कामदारहरुको वकालत गर्ने दातो रामाचेल्भमले कानुनी अधिकार बुझ्न यतिधेरै श्रमिकहरु एकै ठाउँमा भेला भएको देखेर अचम्मित भएको बताए । उनले श्रमिकहरुको कानुनी अधिकारका लागि वार काउन्सिल मलेसिया संधै तयार रहेको धारणा व्यक्त गरे । यसै गरी क्यारम एसियाका संयोजक मोहम्मत हरुणले आप्रवासी श्रमिकहरुको आन्दोलन साझा भएकोले नेपाल जस्ता श्रमिक पठाउने मुलुकहरुका मलेसियामा रहेका आफ्ना राजदूतावासले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो । दूतावासको निस्क्रियताले श्रमिकहरुले एक्लो महसुस गर्नुपरेको घटनाहरु आफूले पाएको बताउँदै हरुणले नेपाली दूतावासले श्रमिकहरुको समस्या सुनुवाई नगरेकोमा चर्को आलोचना गर्नुभयो । त्यसै गरी कार्यक्रममा सहभागी नेपाली राजदूतावासका कार्यवाहक राजदूत लेखनाथ भट्टराई, गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष शंकरबहादुर पौड्याल, मलेसिया नेपाली ब्यापारी समाजका अध्यक्ष राजेश श्रेष्ठ, नेपाल वायु सेवा निगम मलेसिया ब्यबस्थापक श्रीमती रस्सु कार्की, लेखा अधिकृत धर्मसुन्दर शाक्य, स्थानीय समाजसेवी पदम बाबा, लगायतले सम्मेलन सफलताका लागि शुभकामना मन्तब्य राख्नुभयो ।

सम्मेलन आयोजक समितिका तर्फबाट मञ्चका सेक्रेटरी मानसिंह गोयलाले स्वागत मन्तब्य, सम्मेलन आयोजक समितिका संयोजक ईश्वरी ढकालले सम्मेलनको जानकारी तथा सहयोगी, सहभागीहरुलाई धन्यबाद मन्तब्य तथा सहसेक्रेटरी प्रेम पाण्डेले सम्मेलनको तयारीको जानकारी दिएका थिए ।

सम्मेलनमा श्रमिक साँस्कृतिक परिवारको दोहोरीगीत तथा कृष्ण परियारको एकल लोक गीत एवम अग्नी लिम्बुको बाँसुरी धुनले स्वागत गरिएको थियो । सम्मेलनबाट मानसिंह गोयलाको अध्यक्षतामा ३५ सदस्य प्रगतिशील प्रवासी श्रमिक मञ्च मलेसिया गठन गरेको छ ।

 

तपाईको प्रतिक्रिया