शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
बाग्लुङ राजपुत–२ हो मेरो घर । २७ वर्षको भएँ । मेरी दिदी प्रतिभा कुँवर र दाजु टेकबहादुर कुँवर ०५६ देखि नै तत्कालीन माओवादी जनयुद्धमा लागे । मेरो बुबा प्रेमबहादुर कुँवर पनि जनयुद्धकै कारण विभिन्न मितिमा गरी चार वर्ष जेल पर्नुभयो । म बाग्लुङकै देवीस्थान–३ स्थिति देवीस्थान माविमा पढ्थेँ । हाम्रो परिवारै जनयुद्धमा लागेकाले सानैदेखि राज्यबाट मैले विभिन्न यातना भोग्नुपर्‍यो । ज्यान बचाउनै मुस्किल परेपछि १० कक्षा पढ्दापढ्दै भारतको पन्जाब पुगेँ । एक वर्षसम्म मैले त्यहीँ एक कारखानामा क्लिनर्सको काम गरेँ ।
शान्तिसम्झौता भएलगत्तै म गाउँ फर्किएँ । त्यस बेलासम्म स्थिति बदलिएको थियो । मैले अध्ययनलाई निरन्तरता दिन सकिनँ । युद्धकै कारण मेरा दाइ र दिदी अपांग भएका थिए । सहयोगका लागि विभिन्न स्थानमा पुगियो । वर्षमान पुन शान्तिमन्त्री हुँदा मन्त्रालय पनि धाइयो । तर, पार्टीबाट कुनै राहत त के सहानुभूतिसमेत मिलेन । विक्षिप्त बनेको हाम्रो परिवारमा तनाव बढ्दै गयो । चिन्ताकै कारण आमाले मानसिक सन्तुलन गुमाउनुभयो । केही सिप नलागेपछि म यसपालि विदेश जाने सुरले काठमाडौं बस्ने दिदीभिनाजुकहाँ आएको थिएँ ।
घटनाको अघिल्लो दिन भाइटीका थियो । बेलुका भिनाजुका आफन्तलाई मुटुको बिरामी भएकाले गंगालाल अस्पतालमा ल्याइयो । सबै अस्पतालमा थिए । मेरो जिम्मा खाना पकाउने थियो । खर्च नभएकाले हामी तनावमा थियौँ । भोलिपल्ट पनि कोठामा मैले नै खाना बनाएँ । जाडो बढ्दै गएकाले ज्याकेट किन्नुपर्ने थियो । खुलामञ्चको बजारमा सस्तोमा ज्याकेट पाइन्छ भन्ने सुनेको थिएँ । पैसा पनि थिएन । सस्तोमा ज्याकेट किन्ने मनसायले म साढे १ बजे कोठाबाट निस्किएँ । २ बजेतिर रत्नपार्क पुगेँ । त्यहाँ केही मानिस ‘आज भृकुटीमण्डपमा माओवादीको चियापान कार्यक्रम छ’ भन्दै थिए । सुनेपछि म पनि एक कप चिया भए पनि खान पाइन्छ भनेर भृकुटीमण्डपतिरै लागेँ । झन्डा र मानिसले भरिएको रहेछ, भृकुटी मण्डपभित्रको बगैँचा ।
छिर्न र बाहिरिन छुट्टाछुट्टै गेट रहेछ । अरूसँगै म पनि भित्र छिरेँ । तीन चारवटा लाइन रहेछन् । म पनि लाइनमा बसेँ । करिब ४५ मिनेट लाइन बसेपछि म मञ्चनजिकै पुगेँ । मञ्चमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनाल सँगैसँगै थिए । लाइनबाट उनी नजिक पुग्न मलाई १५ मिनेट जति लाग्थ्यो होला । उनीहरूले पालैपालो सहमतिका कुरा गर्न लागेको सुनेँ । अन्तिममा दाहाल बोले । म सुन्दै गएँ ।
सहमतिका कुरा गर्ना साथै मेरो कन्सिरी तात्न थालिसकेको थियो । मलाई लागेको थियो, ‘हाम्रा काँधमा बन्दुक बोकाएर प्राप्त गणतन्त्रलाई सहमतिका नाममा यिनीहरूले बन्धक बनाइराखेका छन् ।’ म अझ नजिकै गएँ । दहालको भाषण मेरा कानमा विष जसरी पस्दै गयो । म आक्रोशको ज्वालामा दन्किएँ । उनको भाषणसँगै मेरा आँखामा अपांग दाजु, दिदी, बुबा, बिरामी आमा सल्बलाइरहेका थिए ।
जसै अध्यक्ष प्रचण्ड नजिक पुगेँ, मैले आफूलाई सम्हाल्न सकिनँ । एकाएक मेरो हात उठ्यो र उनको गालामा बजारियो । ‘ऐया †’ भन्दै उनी पछि हटे । उनको आँखाबाट चस्मा झरेको देखेँ । त्यसलगत्तै कसैले मलाई खुट्टामा ताने । अर्काले टाउकाबाट ठेले । म घोप्टो परी भुइँमा बजारिएँ अनि बर्सिन थाले– लात र मुक्का ।
‘यसलाई सिध्याइदे, यसले मुख छोपेको छ, यसको मुख फुटाइदे, यसलाई मारिदे’ यस्तै यस्तै डरलाग्दा अवाज मेरा कानमा परे । ममाथि लात र मुक्का बर्सिरहेकै थिए । भिडमा कसैले पछाडिबाट मेरो अण्डकोष समात्यो । असह्य पीडा भएपछि मैले दुवै हातले अण्डकोष छोपेँ । अब लात मुखमा बर्सिन थाल्यो । नाकबाट रगतका फोहरा छुट्न थाल्यो । त्यही बेला ज्याकेट घाँटीमा पुगेर कसिएछ । त्यसले त मेरो सास नै रोकियो । अब मार्ने रहेछन् जस्तो लाग्यो । त्यही बेला एक प्रहरीले ‘मार्न लागे, ए मोरा चिच्या न चिच्या’ भनेको सुनेँ । बाँचिने आसले म चिच्याएँ ।
अब पिटाइ अलिक कम भयो । मलाई प्रहरीले उठाए । उनीहरूबाट फुत्काउँदै बाहिर निकाल्न लागे । कुटाइ त्यति गर्दा पनि रोकिएन । प्रहरीले लाडी चार्ज गरेपछि मात्रै कुटाइ रोकियो । मलाई प्रहरीले महेन्द्र पुलिस क्लब लग्यो । र, पछि उपचारका लागि प्रहरी अस्पताल लग्यो । तीन दिनको उपचारपछि मलाई हनुमानढोका लगियो । त्यसपछिका मेरा दिन महाराजगन्जस्थित २ नम्बर गणमा बिते ।
घटनाप्रति मलाई खासै पछुतो लागेन । तर, सुत्नेबेला भने मलाई त्यो घटनाले बढी दु:ख दिन्थ्यो । मलाई लाग्छ, मैले उठाएको कदम गलत हो । तर, मैले भोगेको पीडा साँचो थियो, जसको सिकार म भएँ । सायद यही भएर मलाई देशविदेशबाट सहानुभूति मिल्यो । मैले पाएको सहानुभूतिलाई गम्भीर रूपमा विश्लेषण गर्नु जरुरी छ । किनकि मेरा लागि संकलन भएका सहानुभूति नेताका लागि प्रहार हो । यसैबाट बुझ्न सकिन्छ नेताप्रति जनता कति आक्रोशित रहेछन् भन्ने ।

तपाईको प्रतिक्रिया