शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

दोहा- कतार पस्नुअघि सम्म नेपालका महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र हेटौंडा नौबिसे सडकखण्डको बाईरोडको बाटोमा थुप्रै गाडीका टायर फटाउँदै हातभरि म्यानुअल स्टेरिङले ठेला परेका हातले सोचेअनुरुपको आम्दानी गर्न नसकेपछि आज भन्दा ६ बर्षअघि कतार हानिएका थिए कुलदीप थपलिया । २००७ मा उनी कतार आउँदा उनकी कान्छी छोरी जम्मा ४ बर्षीय थिइन् रे । त्यो उमेरदेखि कतार पलायन भएका उनकी छोरी सानकान्छीको बालमस्तिष्कमा बुवा कुलदीपको अनुहार हेक्का छ कि छैन कुन्नि ? तर हरेक पटक घरमा फोन गर्दै गर्दा उनकी छोरी सानकान्छीले कहिले आउनुहुन्छ बुवा भनेर फोनै पिच्छे सोध्न भने छोड्दिनन् रे । उनकी सानकान्छीले कुलदीपलाई नियास्रोपन पोख्दै सोध्नु कुनै नौलो कुरा पनि थिएन । किनकी कुलदीप नेपाल फर्किन नपाएको नै ६ बर्ष भैसकेको थियो ।

चितवन पिप्ले ५ का कुलदीप थपलिया एसिया बिल्डीङ कन्सन्ट्रक्सनमा ड्राईभिंग काममा आएका थिए र आफ्नो कामबाट प्राप्त आम्दानी जसतसो बचाएर नेपालस्थित उनका आश्रति परिवारलाई पठाएर नुन तेलको गर्जो टारेकै थिए । कतारकै आम्दानीबाट उनको आर्थिक अवस्था पनि सुदृढ हुँदै आएको थियो । सदाको झैं आफ्नो काम सकेर कोठा तिर फर्किर्दै गर्दा २०११ मार्च ३१ को दिन करिब २.३० को समयमा २० जना कामदार बोकेर आएको उनी यात्रारत बस ड्राईभरको असावधानीले गर्दा घरको लागि खन्दै गरेको साढे १२ फिट गहिरो जगको खाल्डोमा बस खस्न पुगेको थियो । दुर्घटनाको समयमा उनी यात्रारत बसमा ९ जना नेपाली रहेका थिए भने अन्य भने अरु नै देशका नागरिक थिए । जसमध्ये घटनास्थलमा २ जना बंगलादेशी नागरिकको मृत्यु हुन पुगेको थियो भने ६ जना सख्त घाईते भए र अन्य सामान्य अवस्थामा थिए ।

दुर्घटना पछि १३ दिन सम्म कोमामा राखिएका थपलियाको छाती र टाउकोमा गम्भीर चोट लागेको कारण उपचारपछि पनि उनी लामो समय आफ्नो कोठामा थन्किएर बस्नुपरेको थियो । कतारको श्रम कानून अनुसार कार्यस्थलमा जाँदै गर्दाको अवस्था देखि आफ्नो वासस्थान सम्म आउँदा सम्मको समयमा कुनै दुर्घटनामा परी अंगभंग भएमा वा मृत्यु भएमा वीमा दावी गर्नु पाउने र कानून मुताविक सम्बन्धित पक्षले गर्नुपर्ने सिलसिलामा उनी कार्यरत कम्पनीले कुनै पनि पहल नगरिदिएपछि उनले वीमा दावीको लागि एकल रुपमा निरन्तर लागेका कारण ५० हजार कतारी रियाल प्राप्त गर्न पनि सफल भएका थिए ।

कम्पनीलाई जानकारी नदिई न्यायको ढोका ढकढकाउन गएकै कारण कुलदीपले उनको स्पोन्सरबाट ठूलो सास्ती खेप्नुपरयो । कालो सूचीमा दर्ज भएको उनको कम्पनीले थपलियालाई कुनै पनि हालतमा नेपाल जान नदिने भनी दुख दिएपछि उनी दूतावासको ढोका ढकढकाउन पुगे । तत्कालिन राजदूत डा. सूर्यनाथ मिश्रले थपलियालाई सान्त्वना दिँदै भनेका थिए । तपाईं कोर्ट कचहरीको लागि अगाडि बढ्दै जानुहोस्, जब तपाईंलाई कुनै अप्ठ्यारो अवस्था सिर्जना हुन्छ तब राजदूतावासमा आउनुहोस् । मिश्रको रायअनुसार थपलिया कोर्ट कचहरी धाउन थाले र जब काममा अवरोध आउँथ्यो, दूतावासको तर्फबाट पूर्व राजदूत मिश्रले पहल गरी थपलियालाई सहयोग पुरयाउँदै आएका पनि थिए । त्यहि समयमा नै फ़र्छ्यौट हुन लागि सकेको मुध्दा मिश्रको कार्यकाल पुरा भई नेपाल फर्किनुपरेको कारणबाट पुनः अदालतमा उनको काममा ढिलासुस्ती हुन थाल्यो ।

हाल बहालवाला राजदूत महामहिम डा. मायाकुमारी शर्मा कहाँ जारी मुद्धाको बारेमा जानकारी गराएपनि खासै पहल नगरिदिएपछि थपलिया पुनः अप्ठ्यारोमा पर्न पुगे । विभिन्न सामाजिक संघसंस्था तथा एनआरएनको पहलमा दूतावासमा सहयोगको याचना माग्न जाँदा पनि खासै चासो नदिएपछि उनी एम्नेष्टी लगायत थुप्रै कानूनको ढोकाहरु ढकढक्याउन पुगे । एम्नेष्टीले त झन् नेताको अन्तर्वार्ता लिए जसरी सोधपुछ गरी गएपछि कहिल्यै फर्केर थपलियाको मुद्धामा गम्भीर भएन । अन्तत: थपलिया कतारस्थित मानव अधिकार आयोगमा पुगे र घर जान पाउँ भनि हारगुहार गरे ।

प्रवासी नेपाली समन्वय समिति र सागर नेपालको व्यक्तिगत पहलमा हाल उनी नेपाल जान सफल भएका छन् । दुर्घटनाबाट घाईते भएपछि विना जागीर कतारमा १ बर्ष भन्दा लामो समय बस्न बाध्य भएका थपलिया जाने बेलामा आफुलाई बस्न खान र ढाडस दिएर सहज बनाईदिने चितवन युवा समूह लगायत चितवनकै रामबाबु थापा, कमल आचार्य, सागर नेपाल लगायत विभिन्न संघ संस्थालाई आँखाभरि आँसु बनाउँदै धन्यवाद दिएर उनी अहिले कतार छोडेर नेपाल पुगिसकेका छन् । विशेषत: यस्तो अवस्थामा आफुलाई धेरै सहयोग पुरयाउने प्रवासी नेपाली समन्वय समिति र सागर नेपाललाई मानवअधिकार आयोगसम्म पुगेर नेपाल जाने बाटो खोलिदिएकोमा आफु ऋणी भएको उनले बताए । हाल थपलिया नेपाल चितवन पिप्लेमा आफ्नो परिवारजन भएको ठाउँमा पुगिसकेका छन् । ***

 

 

तपाईको प्रतिक्रिया