शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
काठमाडौं – यथाशक्य चाँडो सहमतीय सरकारसहित निकासको प्याकेजमा सहमति जुटाउन बहुपक्षीय छलफल सुरु गरेका प्रमुख राजनीतिक दल अन्ततः १४ दिने (३३६ घन्टे) यात्रा जहाँबाट सुरु गरेका थिए, त्यहीँ छन्। पटकपटकका आग्रह अवज्ञा भएपछि राष्ट्रपति रामवरण यादवले सात दिनभित्र सहमतीय सरकारमा सहमति जुटाउन अन्तरिम संविधानको धारा ३८ (१) अनुसार गत मंसिर ८ गते दलहरुलाई आह्वान गरेका थिए।
बहुपक्षीय छलफलसमेत नगरी सात दिन गुजारेपछि राष्ट्रपति यादवले मंसिर १४ गते उनीहरुकै आग्रहमा सात दिन थपेका थिए।
दोस्रो चरणको सात दिनमा विभिन्न चरणमा छलफल भए पनि सत्तारुढ माओवादी आग्रहमा कांग्रेसले सहमतीय प्रधानमन्त्रीमा सभापति सुशील कोइरालालाई अघि सार्नेबाहेक दलहरुले सहमतितर्फ एक कदम पनि चाल्न सकेनन्।
बिहीबार अन्तिम पहल गर्न विशेष समिति सचिवालय नयाँ बानेश्वरमा बसेको प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकमा एकीकृत माओवादी र कांग्रेस-एमालेले आफ्ना अडान नछाडेपछि राष्ट्रपतिसँग फेरि सात दिन म्याद माग्ने समझदारी गर्दै नेताहरु बाहिरिएका थिए। उनीहरुले शीतल निवाससँग बिहीबार साँझका लागि राष्ट्रपतिको समय मागे पनि राष्ट्रपति यादवले शुक्रबार बिहान ८:३० बजे डाकेका छन्।
‘प्रमुख दलका शीर्ष नेतालाई भोलि आज बिहान राष्ट्रपतिले छलफलका लागि बोलाउनुभएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले नागरिकसँग भने। राष्ट्रपतिले १४ दिनमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा दलहरुबीच सहमतिका लागि भएका प्रगतिबारे शीर्ष नेतासँग जिज्ञासा राख्ने शीतल निवास स्रोतको भनाइ छ।
‘सहमतिको सरकार गठनका लागि दलहरुबीच कुन-कुन विषयमा सहमति भयो, बाँकी विषयमा किन सहमति जुट्न सकेन भन्ने नेतासँग राष्ट्रपतिले जानकारी लिनुहुन्छ,’ स्रोतले भन्यो, ‘सहमतिका लागि कति समय आवश्यक पर्ने हो, उहाँहरुसँगको छलफलपछि मात्र समयका विषयमा निर्णय हुन्छ।’
राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दोस्रोपटक दिएको समय बिहीबार नै सकिएको छ। राष्ट्रपतिलाई यही अवधिमा सहमति गर्ने आश्वासन दिएका प्रमुख दलका शीर्ष नेताले अहिलेसम्म सहमतिको सरकार गठन हुने ठोस आधार तय गर्न
सकेका छैनन्।
नेताहरुसँगको भेटमा राष्ट्रपतिले अब पनि थपिएको समयभित्र दलीय सहमति निर्माण हुन नसक्ने अवस्थामा निकासका लागि आगामी बाटो के हुन्छ भन्नेमा नेतासँग राय लिनेछन्।
एकीकृत माओवादीले बुधबारको बैठकमा संविधानका अन्तर्वस्तुमा सहमति नगरी सरकार नछाड्ने स्पष्ट अडान राखेका थिए। कांग्रेसले भने संविधानको टुंगो नयाँ संविधानसभालाई छाड्न आग्रह गर्दै आफ्ना सभापतिको नेतृत्वमा सहमतीय सरकार बनाउनुपर्ने बैठकमा अडान लिएको थियो। दुवै पक्ष लचिलो नभएपछि बिहीबारको बैठकमा पनि सहमति जुट्न सकेन। नेताहरुका अनुसार तत्काल सहमति जुट्ने छेकछन्द पनि छैन।
‘संविधानका अन्तर्वस्तुमा सहमति नभएसम्म हामीले सरकार छाड्दैनौं भनेर माओवादी र मोर्चाले स्पष्ट कुरा राखे,’ बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले संवाददातासँग भने, ‘यसले माओवादी सहमति गर्नेतर्फभन्दा पनि कुनै न कुनै बहानामा सत्ता लम्ब्याउनमात्रै चाहन्छ भन्ने स्पष्ट भएको छ, यसले सहमतिको सम्भावना देखिएको छैन।’
बैठकमा माओवादी र मोर्चाले अघिल्लो संविधानसभामा विवादित राज्यको शासकीय स्वरुप, संघहरुको संख्या, स्वरुपलगायत विषयमा सहमति नभई सरकार हस्तान्त्रण गर्न नसकिने धारणा राखेको थियो।
कांग्रेस-एमालेका नेताले भने संघीय लोकतान्त्रिक गणतन्त्रमा आफूहरु प्रतिबद्ध भएको जनाउँदै संविधानका अन्तर्वस्तुमा अहिले सहमति गर्ने हो भने संविधानसभा चुनावको कुनै अर्थ नहुने भन्दै माओवादी प्रस्तावलाई अस्वीकार गरेका थिए। ‘माओवादीको यथास्थितिवादी सोचबाट अहिलेको गठबन्धन सरकारलाई निरन्तरता दिइरहने मनशाय रहेको देखियो,’ बैठकमा सहभागी कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भने, ‘केही दिनअघि लचिलो देखिएको माओवादी बुधबार र बिहीबारको बैठकमा कडा रुपमा प्रस्तुत भयो, वैशाखमा हुने निर्वाचन भाँड्ने र सहमति नगराउने रणनीति ऊ देखियो।’
माओवादीले भने सरकारमात्र खोजेर प्याकेजमा सहमति गर्न कांग्रेस-एमाले तयार नभएपछि टुंगोमा पुग्न नसकेको जनाएको छ। ‘कांग्रेस-एमाले सरकारमा मात्रै केन्द्रित भए,’ माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘हामी प्याकेजमा सहमति भएर सबै समस्या समाधान भएपछिमात्रै सरकार हस्तान्तरण गर्छौं भन्ने पक्षमा छौं।’
बैठकमा कांग्रेस एमालेले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी निर्वाचन प्रणालीमा आफूहरु प्रतिबद्ध भएको जनाउँदै संविधानका अन्तर्वस्तुमा संविधानसभाको क्षेत्राधिकार मिचेर पहिले नै सहमति गर्न नमिल्ने धारणा राखेका थिए। ‘संविधानसभा निर्वाचन हुँदैछ, त्यो संविधानसभाले गर्नुपर्ने काम आज हामीले यही गर्ने हो भने संविधानसभा निर्वाचन किन आवश्यक पर्यो ?’ गौतमले प्रश्न गरे, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा हामी प्रतिबद्ध छौं, अरु के कुरामा शंका छ, त्यो त अनेक हिसाबले सत्ता लम्ब्याउने, कुर्चीमा बसिरहने चालबाजीमात्रै हो भन्यौं।’
तेस्रोपटक सात दिन दिँदा पनि प्रतिपक्षी दलले भने सहमति हुनेमा आशंका व्यक्त गरेका छन्। ‘मिल्ने छाँटकाट मैले देखेको छैन,’ गौतमले भने, ‘अब प्रतिपक्षले आन्दोलन गर्ने, सत्तापक्षले दमन गर्ने र आन्दोलन गर्ने, बीचमा कसले जित्छ, त्यसैले टुंगो लगाउँछ।’

तपाईको प्रतिक्रिया