शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
-ज्यो.कृष्ण भण्डारी, ज्यो. तुलसी भारद्वाज
देशको असफलतासँग अहिलेका हर्ताकर्ता नेताहरूको जन्मकुण्डलीको कुनै सम्बन्ध होला कि नहोला ? के नेताहरूको ग्रहदशा बिग्रिएकै कारण मुलुकले अहिलेको अवस्था भोगिरहेको हो ? कि मुलुककै ग्रहदशा बिग्रिएको हो ? देशका मुख्य नेताहरूको जन्मकुण्डली हामीले दुई युवा ज्योतिषीलाई व्याख्या गर्न दियौँ । उनीहरूले नेतागणका कुण्डलीमा के देखे त ? (कांग्रेस सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइरालाको कुण्डली भने फेला परेन ।
नेताका कुण्डली
पुष्मकमल दाहाल (प्रचण्ड) :
एकीकृत माओवादीका अध्यक्ष र समकालीन नेपाली राजनीतिमा प्रभावशाली मानिने पुष्पकमल दाहाललाई ज्योतिष विज्ञानले चानचुने मानेन । प्रचण्डको सिंह लग्नको स्वभाव र त्यसको विश्लेषणले नेपाली राजनीतिमा उनलाई ‘आँटी’ नेता भन्दा फरक पर्दैन । उनको कुण्डली केलाउँदा ज्योतिषले लग्नको स्वामी मित्रघर र केन्द्रमा रहनुका साथै बुधादित्य योग देख्यो । यसले गर्दा उनलाई साहसी, पराक्रमी र ‘टेक्निक’ मा सबल देखायो ।
प्रचण्डको कुण्डलीमा राजयोग प्रस्ट देखिन्छ । र, उनमा राष्ट्र प्रमुखसम्म बन्न सक्ने सम्भावना छ । राजनीतिमा धेरै सबल पक्ष हुँदाहुँदै पनि उनलाई झ्वाट्ट रिसाउने बानीले ‘टेन्सन’ सिर्जना गर्दछ ।
कूटनीतिक सहयोग उनलाई राम्रै देखिन्छ । बाह्रौँ स्थानमा रहेको उच्च स्थानको बृहस्पतिले यो कुरालाई पुष्टि गर्दछ । छिमेकी मुलुकको तुलनामा समुद्रपारिको मुलुकसँगको वैदेशिक सम्बन्ध उनको अनुकुलमा देखिन्छ । आफ्ना नजिकका इष्टमित्र, परिवार, साथी र सल्लाहकारको सहयोगविना उनी अधुरो देखिन्छन् । शत्रु उनको अगाडि निरीह साबित देखिन्छ ।
उनलाई वाक् कलाले सहयोग गरेकै छ । उनको वाक् क्षमताको कुण्डलीसँग भारतका चर्चित व्यक्तित्व महात्मा गान्धी र इन्दीरा गान्धीको कुण्डली पनि मेल खान्छ । आर्थिक सबलताका लागि उनलाई कुण्डलीले सपोर्ट गरेको छ ।
कुण्डली पूर्ण मांगलिक भएको कारण उनलाई पत्नी तथा सन्तानबाट सुख मिल्न सक्दैन । कुण्डलीको पञ्चमस्थानमा राहु बस्नु र शनिको पूर्ण दृष्टि हुनुले त्यसलाई पुष्टि गर्दछ । यिनी धार्मिक स्वभावका व्यक्ति हुन सक्दैनन् । भाग्यस्थानको अधिपति मंगल र शनिको दृष्टि निचघरमा रहेकोले त्यसलाई पुष्टि गर्दछ ।
षड्यन्त्रकारी राहुलाई शनिको दृष्टि भएको कारण प्रचण्डको नेतृत्वमा ‘जनयुद्ध’ भएको ज्योतिषीय विश्लेषण छ । ५२ साल फागुन १ गते ‘जनयुद्ध’ सुरु गर्ने समयमा उनलाई उच्च बृहस्पतीको दशा चलिरहेको कारण विदेशी र साथीभाइको सहयोग प्राप्त हुन सकेको ज्योतिषीय बुझाइ छ ।
प्रचण्डलाई यो समय शुभ नरहेको ज्योतिषीय मत छ । उनलाई आगामी ७० साल बैशाख १३ गतेसम्म विंशोत्तरी दशाअन्र्तगत केतुको अन्तरमा चन्द्रमाको दशा छ । यस्तै ७५ साल मंसिर १५ सम्म सिद्धाको दशा छ । केतु निच भएको कारण उनको बुद्धि भ्रष्ट हुने, टेक्निकहरू फेल हुने तथा साथीभाइसँग सम्बन्ध बिग्रने देखिन्छ । ज्योतिषीय हिसाबले हेर्दा उनले सहमतिका लागि नेतृत्व नगरेकै बेस देखिन्छ ।
झलनाथ खनाल
पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनाल तेस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष हुन् उनको कुण्डली विश्लेषण गर्दा उनी सानैदेखि सौखिन स्वभावका देखिन्छन् । उनले बोलेका कुरा त्यति पुग्दैनन् । उनको कर्म भन्दा भाग्य बलियो छ । उनी एकान्तप्रेमी र आत्मबल दह्रो भएका मानिस हुन् ।
उनमा राजनीतिक क्षमता सबल नै देखिन्छ । यद्यपि नजिकको साथीबाट नै खुट्टा तान्ने प्रवृत्तिले उनलाई हैरान बनाउँछ । सहमति गर्नका लागि उनले बाहिरी मानिसबाट सहयोग जुटाउन पर्ने अवस्था देखाउँछ कुण्डलीले । उनले बोलेका कुरा र भाषण आमजनताले सरल ढंगले बुझ्न सक्दैनन् । ग्रहहरूको स्थिति हेर्दा उनका बोली र विचारहरू दार्शनिक शैलीका हुन्छन् । एक हिसाबले उनी दार्शनिक सम्भावना बोकेका मानिस हुन् ।
उनीमा विदेश सम्बन्ध राम्रो बनाउने क्षमता छैन । ग्रहको स्थितिले त्यही कुरा बताउँछ । शत्रुको अधिपति शुक्र भाग्यस्थानमा रहेकोले शत्रुले उनलाई केही गर्न नसक्ने देखाउँछ । उनलाई बरु पत्नीबाट लिएको सहयोग फाप्छ, नजिकको मित्रसँगको सम्बन्ध त्यति फाप्दैन । पत्नीको अधिपति मंगल र त्यो ग्रहको स्थितिका कारण उनको धर्मसँग सकारात्मकता रहन्छ ।
उनको विंशोत्तरीअन्र्तगत अहिले चलिरहेको दशामा चन्द्रमाको अन्तरमा शनिदशा ७० साल भदौको २८ गतेसम्म छ । र, योगिनीअन्तर्गत मंगलको दशा ६९ चैत्र ६ गतेसम्म छ । वर्तमान दशाका कारण मनमा अस्थिरता र दिमागमा तनाब झेल्नपर्ने देखिन्छ । उनको नेतृत्व पनि सहमति र देशका लागि लाभदायक देखिन्न ।
डा. बाबुराम भट्टराई
बहालवाला प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफू जति राम्रो छविका कारण चर्चित भए त्यति नै आफ्नो मन्त्रिमण्डलका सदस्यहरूका हर्कतका कारण बदनाम पनि भए । ज्योतिष विज्ञानले उनको कुण्डलीलाई नै त्यसको दोष दिन्छ । कुण्डलीमा बाह्राँै स्थानमा रहेको एक्लो बृहस्पति ‘झूटो’ भैँm देखिएको छ । नजिकका सहयोगी, सहकर्मी वा सहपाठीहरूको अपजस उनले लिनुपर्ने देखिन्छ । उनका नजिक रहेकाहरू नकारात्मक प्रवृत्तिका हुन्छन् ।
अन्य समकालीन नेताका कुण्डलीमध्ये उनको कुण्डलीलाई ‘बौद्धिक’ र सबल मान्न सकिन्छ । स्वभावका हिसाबले उनी कोमल हृदयका हुन् । उनमा आँटिलो स्वभाव र केही गर्न पर्छ भन्ने भावना छ । यद्यपि, उनको बोलीमा कपटीपना पनि हुन्छ । उनमा एकोहोरो शैलीको स्वभाव पनि छ । सप्तम स्थानमा रहेको राहुका कारण उनी पत्नीनिर्देशित पनि देखिन्छन् । पत्नीका कारणले उनमा नकारात्मक ऊर्जाहरू पनि सलबलाउने कुण्डलीले बताउँछ । उनलाई सन्तानको कारणले सुखप्राप्ति देखिँदैन ।
उनको राजनीति कुटनीतिक सहयोगबाट टिक्ने देखिन्छ । उनको कुण्डलीको सबल पक्ष विदेशको प्रचूर सहयोग पनि हो । उनलाई विदेशी मुद्रा आयको पनि राम्रो योग छ । उनले शत्रु खोज्न टाढा जान पर्दैन । वरपर नै प्रशस्त शत्रु छन् । उनी कर्कट लग्नमा जन्मिएका हुन् । कर्कट लग्नलाई ज्योतिषीय हिसाबले सबैभन्दा राम्रो लग्न मानिन्छ । त्यस्तै उनको कुण्डलीमा राजयोग प्रष्ट छ, त्यसका कारण नै उनी प्रधानमन्त्री पदमा पुग्न सकेका हुन् । ६९ साल कात्तिक २१ देखि यता उनलाई राम्रा ग्रहले साथ छोडिसकेका छन् । विंशोत्तरीअन्र्तगत ७० साल असोज २७ गतेसम्म वृहस्पतिको अन्तरमा केतुको दशालाई अब उनले सामना गर्नुपर्ने देखिन्छ । यो दशाका कारण उनले प्रधानमन्त्री पद त्याग्दा बुद्धिमानी देखिन्छ ।
केपी शर्मा ओली
केपी शर्मा ओलीलाई समकालीन राजनीतिमा प्रभावशाली नेताको रूपमा लिइन्छ । उनी बारम्बार आफ्नो बोल्ने शैलीका कारण चर्चामा आइरहन्छन् । वाणीको कारक बुधसँगै राहु बसेको कारण उनको वाक्कलामा ‘छुच्चोपन’ देखिएको हो । यद्यपि, उनमा जोसँग पनि मिल्ने र सहयोगी भावना विद्यमान छ । उनको कुण्डलीमा राजयोग विद्यमान छ, यसै कारण उनी मुलुकको उच्चस्थानमा पुग्ने सम्भावना देखिन्छ ।
उनलाई मित्रजनको भरपुर सहयोग मिल्ने देखिन्छ । विद्यामा भने उनी कमजोर छन् । स्वास्थ्यको मालिक मंगल पञ्चम स्थान अर्थात् शत्रुगृहमा हुनुले उनको स्वास्थ्यावस्था अस्थिर देखिन्छ । कुण्डलीअनुसार उनको विदेशसँगको सम्बन्ध राम्रो छ, नजिकका देशबाट विशेष लाभ प्राप्त हुन्छ । उनलाई छिमेकी देशबाट आर्थिक, भौतिक र प्राविधिक सहयोग यथेष्ट मिल्न सक्छ । हाल उनको चलिरहेको दशामा विंशोत्तरीअन्तर्गत शनिको अन्तरमा चन्द्रमा ०६९ साल माघ २० सम्म छ । त्यस्तै योगिनीअन्तर्गत ७२ साल फागुन ११ गतेसम्म सिद्धा दशा चलिरहेको छ । हाललाई चाहिँ उनको समय राम्रो चलिरहेको छ । यस हिसाबले उनालाई नेतृत्व सुम्पेमा मुलुकले लाभ लिन सक्ने देखिन्छ ।
शेरबहादुर देउवा
नेपाली कांग्रेसका प्रभावशाली नेता शेरबहादुर देउवा पटकपटक प्रधानमन्त्री भइसके । कुण्डलीलाई विश्लेषण गर्दा उनी आकर्षक व्यक्तित्वका धनी, कर्मवीर, ‘बालक–कुलदीपक’ हुन् । उनको कर्मस्थानमा मंगल छ । उनलाई आँटिलो व्यक्तिको रूपमा मान्न सकिन्छ ।
उनी बौद्धिक रूपमा कमजोर छन् । कुनै कुरा सहजै उनीबाट फुत्काउन कठिन पनि हुन्छ । छैटौँ स्थानमा चन्द्रमा रहेका कारण उनको मन कमजोर पनि छ । पत्नीस्थानको मालिक शनि बाह्रौँ अर्थात् आयस्थानमा भएका कारण उनले पत्नीकै कारण मनग्य आय आर्जन गर्न सक्छन् ।
उनको हाल चलिरहेको दशा अनुकूलमा छैन । विंशोत्तरीअन्र्तगत बुधको अन्तरमा राहुको दशा ०७१ साल जेठ २१ गतेसम्म चलिरहेको छ । त्यस्तै योगिनीमा संकटाको दशा ७१ वैशाख १६ गतेसम्म नै चलिरहेको छ । यी दशाले गर्दा उनले तत्काल कुनै लाभदायक पद प्राप्त नगर्ने र प्राप्त गर्दा पनि उचित नहुने ज्योतिषीय तर्क छ ।
सूर्यबहादुर थापा
पटकपटक प्रधानमन्त्री भइसकेका, कुनै बेलाका प्रभावशाली नेता सूर्यबहादुर थापाको चर्चा वर्तमान राजनीतिमा पनि यदाकदा हुने गर्दछ । ज्योतिष विज्ञानले उनको कुण्डलीलाई ‘भाग्यवादी’ भन्छ । उनलाई शालीन र प्रभावशाली व्यक्तिको कित्तामा पनि उभ्याउँछ । उनको विदेश सम्बन्ध सुदृढ देखाउँछ । उनी धार्मिक छविका व्यक्ति पनि हुन् । र, जीवनभर यथेष्ट मानसम्मान पाउने बताउँछ कुण्डलीले । हाल उनको विंशोत्तरीअन्तर्गत शुक्रको अन्तरमा केतुको दशा ०७० जेठ २५ गतेसम्म छ । त्यस्तै योगिनीअन्तर्गत ०७२ साल चैत २१ गतेसम्म उल्का दशा छ । यो उनका लागि अनुकूल दशा होइन । उनलाई विभिन्न आश्वासन आउँछन् र लोभ्याएर जान्छन् ।
प्रस्तुति : सरोज ढुंगाना

तपाईको प्रतिक्रिया