शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
-टेकराज थामी
काठमाडौं-सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदी बागबजारस्थित एक गेस्टहाउसमा युवतीसँग यौन क्रियाकलाप गर्दागर्दै पक्राउ परेका छन् । पक्राउ पर्ने डाँका मुद्दामा डेढ वर्षदेखि कैद भुक्तान गरिरहेका सुनील तामाङ हुन् ।
महानगरीय प्रहरी आयुक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई बागबजारस्थित लोटस गेस्टहाउसमा पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार तामाङलाई प्रहरी टोलीले बिहीबार दिउँसो १२:३० बजे पक्राउ गर्दा उनी युवतीसँग ओछ्यानमा थिए । प्रहरी स्रोतका अनुसार उनलाई केन्द्रीय कारागारबाट बिहीबार बिहान ११ बजे छातीको उपचार गर्ने भन्दै वीर अस्पताल लगिएको थियो । उनीसँगै कारागारबाट प्रहरी हवल्दार रामअवतार यादवको कमान्डमा प्रहरी जवान रमेश थापा र भुवन श्रेष्ठ खटिएका थिए ।
तामाङलाई वीर अस्पतालबाट बागबजारस्थित गेस्टहाउससम्म पुर्‍याउने काम उनकै ड्युटीमा खटिएका प्रहरीले गरेको स्रोतको दाबी छ । प्रहरी स्रोतका अनुसार उनलाई वीर अस्पतालबाट रानीपोखरी, त्रिचन्द क्याम्पस, घन्टाघर हुँदै गेस्टहाउससम्म पुर्‍याइएको थियो । ‘तामाङले कारागारको हाकिमदेखि सुरक्षामा खटिएका प्रहरीलाई समेत घुस दिएपछि उनको इच्छा पूरा गरिएको हो,’ स्रोतले भन्यो ।
विशेष सूचनाका आधारमा कैदी गेस्टहाउसमा युवतीसित रहेको पुष्टि भएपछि आयुक्त कार्यालयले छापा मार्न प्रहरी टोली खटाएको थियो । गेस्टहाउसको बन्दकोठाभित्र रंगेहात पक्राउ परेपछि तामाङले आफूसँगै रहेकी युवती श्रीमती रहेको बयान प्रहरीलाई दिएका थिए । तर, अनुसन्धान गर्दा उनीसँग पक्राउ परेकी युवती श्रीमती नभएर पेसेवर यौनकर्मी महिला भएको खुलेको आयुक्त कार्यालयले जनाएको छ । गेस्टहाउसमा प्रहरी टोली पुग्दा तामाङ एउटा कोठामा यौनक्रीडामा मस्त थिए भने उनको सुरक्षामा रहेका तीन प्रहरी अर्को कोठामा बसेर ‘पहरा’ दिइरहेका थिए । दोषी देखिएका प्रहरीलाई अनुसन्धानका लागि आयुक्त कार्यालयमा राखिएको छ भने कैदीलाई केन्द्रीय कारागार फर्काइएको छ ।
घटना सम्बन्धमा केन्द्रीय कारागारका सुरक्षा प्रमुख डिएसपी रमेश खड्काले पक्राउ परेकी युवती तामाङकै श्रीमती रहेको बयानमा उल्लेख भएको बताए । तामाङको बयान उद्धृ्रत गर्दै डिएसपी खड्काले भने, ‘यो यताबाट उपचार गर्न गएको थियो, फर्किने क्रममा उसको श्रीमती बागबजारतर्फ आएको खबर भएछ, त्यही क्रममा उनीहरूबीच गेस्टहाउसमा भेट भएछ ।’ तामाङसँग पक्राउ परेकी युवती पेसेवर यौनकर्मी महिला भएको विषयमा भने आफूलाई जानकारी नभएको उनले बताए ।
आयुक्त कार्यालय स्रोतका अनुसार तामाङको सुरक्षामा खटिएका हवल्दार यादव, प्रहरी जवान थापा र श्रेष्ठलाई निलम्बन गरी थप अनुसन्धान अघि बढाइएको छ । कैदीलाई युवतीसँग यौनसम्पर्कका लागि सेटिङ गर्ने कार्यमा निलम्बनमा परेका प्रहरीको मात्रै संलग्नता हुन नसक्ने स्रोतको दाबी छ । स्रोतले भन्यो, ‘यसको सेटिङ भित्रैबाट भएको छ, निलम्बनमा पर्ने सिपाही र हवल्दारको प्रयासले मात्रै यी सबै कार्य हुनै सक्दैन, यसमा डिएसपी र जेलरको समेत संलग्नता हुनसक्छ ।’ आयुक्त कार्यालय स्रोतका अनुसार घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली खटिसकेको छ ।

तपाईको प्रतिक्रिया