बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

हालसम्मको अनुभवलाई हेर्दा जापानका नेपालीहरुले अरु बिषयमा भन्दा नेपालबाट आमन्त्रित कलाकारहरुको साँगीतिक कार्यक्रममा अलि बढि चासो राखेको पाईन्छ । त्यसैले यहाँका प्रायःजसो संघसंस्थाको पहिलो उद्देश्य नेपालबाट नाम चलेका कलाकार जापान ल्याउने र हलभरि खचाखच दर्शक जम्मा गरेर कार्यक्रम गर्ने रहर पालेको देखिन्छ । प्रवासमा अनेकन तनाव, थकान र ब्यस्तता अनि कामको बोझबाट थोरै भएपनि छुट्कारा पाउन साँगीतिक माहौल नै पहिलो रोजाई बन्ने गरेको जापानका नेपालीहरुको अर्को चासो भनेको राजनीति र तिनका नेताहरुमा पनि छ ।

नेपालका ठुला भनिएका सबै पार्टीका जापानमा भात्तृसँस्था क्रियाशील छन् । तिनै सँस्थाहरुका माउपार्टीका ठूलाठूला नेतागणको बेलाबेलामा जापानको भ्रमण हुने गर्दछ । तर अचम्मको कुरा त के छ भने आफ्नो भात्तृसँस्था भएको मुलुकमा शिर्ष नेताहरुको भ्रमण हुँदा कहिलेकाँही जानकारीसमेत गर्राईदैन । यसो हुनु भनेको पार्टी केन्द्रले प्रवासमा रहेको भात्तृसँस्थाको अस्तित्वमाथिको खेलबाड हो, बेवास्ता हो । यस्तो अवस्थामा यहाँका बिचरा कार्यकर्ताहरुले यहाँ रहेको दूतावासको सूचना वा मिडियामा आएको समाचारको भरमा जानाकारी प्राप्त गर्नुको विकल्प रहँदैन । ठूला र जिम्मेवार भनिएका दल सबैका बिभिन्न बिभागहरुका साथै बिदेश बिभाग पनि क्रियाशील छन् । ती बिदेश बिभागले बिदेशमा रहेका आफ्ना शाखा कमिटी तथा कार्यकर्ताहरुलाई सूचना, निर्देशन, जानाकारी, प्रशिक्षण जस्ता आधारभुत बिषयहरुमा खासै ध्यान दिएको देखिदैंन । आफ्नै नेताहरुको बिदेश भ्रमण बारे पार्टर्ीीकट सँस्थालाई सूचनासम्म नहुनु र सो बारे अन्यत्रबाट समाचार पाएको भरमा थाहा पाउनुपर्ने उदेकलाग्दो स्थिति जापानमा बस्नेहरुले ब्यहोर्दै आएका छन् । आजको सूचना र प्रविधिको युगमा केन्द्र र शाखाबिचको आपसी सम्बादमा देखिएको यसप्रकारको टड्कारो अभावले आफ्ना नागरिकप्रति जिम्मेवार दलहरु कति संबेदनशील छन् भन्ने कुराको प्रष्ट संकेत गर्दछ । यो त एउटा सामान्य उदाहरण मात्र हुन सक्ला ।

बिदेशमै भए पनि नेपालीहरुको नारी पर्व तीजले एक महिनासम्म कुनै न कुनैरुपमा अलमल बनाएर बिदा लिन नपाउँदै ठूला पर्वहरु दशैं र तिहार हाम्रासामु ठिंग उभिएका छन् । बर्षभरिका चाडपर्वका आ-आफ्नै महत्व हुन्छन, आउँछन, जान्छन तर यसको सिधा असर अभावमा बाँचेका जिन्दगी र ब्यवस्थापन गर्न हम्मेहम्मे पर्नेहरुका लागि सँधै काल बनेर उभिदिन्छ । जुन कुरा स्वदेशमा होस् वा बिदेश लागु हुने नै भयो । दशैंतिहारको लागि सपिङ गर्न बैंकक, सिंगापुर पुग्ने जमात पनि हाम्रै समाजमा छ भने दशैंका दिन निधारमा टिकाको लागि चामलको अक्षता जोहो गर्न धौ धौ पर्ने वर्ग पनि हाम्रै समाजमा छ । त्यसो भएकोले कसैका लागि दशै र कसैका लागि दशा बनेर फेरि आएको छ, यो बर्षको दशैं ।

ठिक यतिनै बेला नेपालका ठूला दलका शिर्षतथा जिम्मेवार नेताहरु एकपछि अर्को गर्दै जापान आईरहेका छन् । जाटा फेयरमा भाग लिन भन्दै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटी जापान आएर फर्केको साता नबित्दै नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अहिले जापान भ्रमणमा छन् । उता पार्टीको देशभर शक्ति प्रदर्शन गर्ने महत्वपूर्ण कार्यक्रम छाडेर इवाते प्रिफेक्चरल बिश्वबिद्यालयको आमन्त्रणमा नेता नेपाल जापान आएको बुझिएको छ । लगत्तै अर्थमन्त्री बर्षमान पुन, अर्थसचिव कृष्णहरि बास्कोटा, नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडालगायतका उच्चस्तरिय प्रतिनिधि मण्डल यो साता जापान आईपुग्ने भएकाछन् । बिश्व बैंकद्वारा हरेक बर्ष हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको यो पटक टोकियोमा हुन गईरहेको बैठकमा नेपाल सरकारको तर्फबाट भाग लिन सो टोली जापान आउने बुझिएको छ ।

मुलुकमा शान्ति प्रक्रियाले बिट् मार्न नसकेको, संबिधान नबन्दै संबिधानसभा बिघटन भएको र लामो समयदेखि अन्त्य हुन नसकेको राजनैतिक गतिरोधका कारण अत्यन्त बिषम परिस्थितिमा मुलुक फस्न पुगेको बेला दलहरु सहमतिको राजनीति गर्नुको साटो सत्ताको झिनाझपटीमा समय गुजारीरहेको भन्दै राजनीतिक दल तथा तिनका नेतागणप्रति स्वदेशमा होस् या बिदेशमा नेपालीहरुको मोह भंग हुँदै गएको पाईन्छ । यस्तो अवस्थामा हुन गईरहेको नेतागणहरुको जापान भ्रमणका अवसरमा नेपाली कम्युनिटीमा उनीहरुले कस्तो सन्देश दिने हुन त्यो भने हेर्न बाँकी छ । ०००

 

तपाईको प्रतिक्रिया