बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

सडक दुर्घटना, लाग्छ आजकल यो फेसन नै चलेको छ । नेपालका भिन्नाभिन्नै ठाउँहरुमा दिजहुँजसो सडक दुर्घटना हुनु र अकालमा ज्यान गुमाउनु हामी नेपालीहरुका लागि नौलो कुरा होइन । गएको बर्षझै यस बर्ष पनि हामी नेपालीहरुका लागि कालबर्षको रुपमा नै रह्यो । लगभग दिनहुँजसो सडक दुर्घटनाबाट धेरै नै नेपालीहरुले अकालमा मृत्युवरण गर्नुपर्‍यो । दुर्घटनाका पछिल्लो समयमा कालिकोटमा बस दुर्घटनामा परी २८ जनाको मृत्यु भयो, गुल्मीबाट काठमाडौं जाँदै गरेको बस गुल्मीमै दुर्घटना हुँदा १३ जनाले घटनास्थलमै ज्यान गुमाए । त्यस भन्दा अगाडि पृथ्वी राजमार्गको विभिन्न ठाउँमा उस्तै गरी सर्बसाधारणले ज्यान गुमाए । यतिसम्म यस्ता दुर्घटनाहरु बढ्दै गएका छन् कि लाग्छ बस तथा गाडिहरु तँछाड मछाड गरेर भिरबाट हाम्फाल्दैछन् । दिनानुदिन कसैको काख रित्तिंदै छ, कसैको सिन्दुर पुछिन्छ त कसैको सहारा टुटिरहेको छ । कमै मात्र हामी नेपाली जनताहरु जानकार हुने यस्ता दुर्घटनामा साधारण जनताहरुको हृदयविदारक चिच्याहट सुन्ने कसले ? दोषी को ? सम्बन्धित निकाय के गर्दै छ त ?

आउनुहोस यसको बारेमा केहि चर्चा गरौं । दोषी को ? भन्ने सवालमा एउटा बलियो तर्क आउन सक्छ, जनचेतनाको कमी अनि त्यसपछि चालकको लापरवाही । के यतिमै मात्र सीमित छ त सडक दुर्घटना हुनुका कारणहरु, पक्कै पनि होइन । तर यसलाई आंशिक कारणका रुपमा भने लिन सकिन्छ र महत्वपूर्ण कुरा त उनीहरु यसको प्रतिनिधित्व गर्ने एउटा पात्र मात्र हुन् । एकातिर गाडिसाहुको आदेशलाई नै सर्वोपरी ठानेर हुंइकिनुपर्ने बाध्यता चालक वर्गलाई छ भने अर्कोतिर त्यसरी दौडिनुपर्ने बाध्यतालाई रोक्ने सम्बधित निकायको कहीं कतै उपस्थिति भएको देखिन्न । परिणामस्वरुप यात्रु अनि उस्तै परे चालक समेत मृत्युको भागीदार बन्न पुगिरहेका हुन्छन । लागूपदार्थको सेवन गरेर गाडि चलाउने चालकको हकमा भने माथिको कुरा पक्कै पनि लागू हुन सक्दैन तर पनि गाडिसाहुको गल्ती भने अवश्य पनि नकार्न मिल्दैन । त्यसो भए प्रमुख दोषी को त भन्ने प्रश्न यहाँ उब्जिन्छ । सबैभन्दा प्रमुख दोषी भनेको सरकार नै हो । जनता नै जागरुक हुनुपर्छ जनता आफैं जागरुक भएमात्र समस्या समाधान हुन्छ भन्ने सोच भएका बौद्धिक महाशयहरुलाई यो कुराले चोट पुर्‍याउन सक्छ तर यो नै तितो यथार्थ हो । अवश्य पनि जनता आफैं जागरुक भए त केहि हद सम्म समस्या समाधान हुन्छ नै, तर जनताको जागरुकता भनेको के हो त्यो बुझ्नु जरुरी छ । साधारण लेखपढसम्म गर्न नजान्ने अनपढ जनताहरुको बाहुल्यता भएको समाजमा जनता आफैं जागरुक हुनु भनेको भ्यागुता जहिले पनि कान्ला मुनि नै भन्ने कथन सरह नै हो ।

एकताका खुबै चर्चामा आएको एउटा घटना याद छ, एकजना अन्धाले पनि लाइसेन्स हात पारेको कुरा, भनेपछि, सरकार कति निरिह र लापरबाही छ भन्ने कुरा यसै घटनाबाट पुष्टी हुन्छ, बाँकी लाइसेन्स लिंदा दिंदाको घुसखोरी, कर्मचारी तथा दलालहरुको बिगबिगी त्यतातिर नजाउँ । सडक दुर्घटनामा सबैभन्दा बढी लामो रुटमा चल्ने बस तथा गाडीहरु नै बढी मारमा परिरहेको तथ्याङ्क छ । आखिर किन लामो रुटमा चल्ने बस तथा गाडीहरुनै बढी दुर्घटना पर्छ त ? एउटा प्रमुख कारण भनेको चालकको थकान । विश्वका धेरैजसो देशहरुमा एउटा यात्रुबाहक गाडी चालकले एक दिनमा बढीमा कति घण्टासम्म सवारी साधन चलाउन पाईने स्पष्ट नियम बनाइएको हुन्छ, साथै प्रत्येक घण्टा या दुई घण्टामा एकचोटी यति समय आराम लिनैपर्ने नियम हुन्छन । पक्कै पनि लामो रुटका चालकहरु मानसिक र शारीरिक दुवैरुपले थाकेका हुन्छन । एक त लामो रुट त्यसमा पनि असंख्य खाल्डाखुल्डीका सडक, साँघुरो बाटो, डरलाग्दा घुम्तीहरु, हिलाम्य र सडकका न्युनतम मापदण्ड पनि पुरा नभएको सडक, सोच्नोस् कति थाक्छ एउटा व्यक्ति । परिणामस्वरुप चालक निदाउने र सडक दुर्घटना हुने गर्दछ । हाम्रो देशको सवालमा यो नियम हुबहु लागू हुन नसक्ला तर यस्तै नियम कानुनको जरुरत टड्कारो भैसकेको छ । अन्य कारणहरुमा ट्राफिक नियम कानुन पालना गरेको नगरेको नियमित अनुगमन नगर्ने, लामो रुटमा चल्ने रात्रीबसहरुको गति अनुगमन नगर्ने र सडकको नाजुक अवस्थाहरु हुन् । तर हाम्रो जस्तो ट्राफिक सिग्नल लाइटहरु नै बर्षौंदेखि खिया लागेर बस्ने देशमा गति अनुगमन त धेरै परको कुरा हो जस्तो भान हुन्छ ।

राज्यले निश्चित सडककर उठाइरहेको हुन्छ, सडक मर्मत सम्भार तथा नयाँ सडक निर्माणको निम्ति, ट्राफिक प्रहरीहरु एकदिनमा लाख सम्म असुल्छन सडकबाट तर नेपालमा भएका कुनै पनि सडकहरुको गुणस्तरीय मर्मत सम्भार गरिएका पाइदैनन, त्यो किन हो हामी नेपाली जनताहरुलाई निकै नै प्रस्ट भएको कुरा हो । सडकका कार्यहरुमा हुने ब्यापक भ्रष्टाचार, नाताबाद, कृपाबाद र ठेक्कामा गुण्डागर्दी नै नेपालका सडकहरुको हरिबिजोग हुनु प्रमुख कारण हो । नेपालका हरिबिजोग भएका सडकहरु मध्यबाट एउटा उदाहरण लिउँ, पृथ्वीराजमार्ग, यो राजमार्ग चीन सरकारको सहयोगमा सन् १९६७ मा निर्माण थालनी भै सन् १९७४ मा सञ्चालनमा आएको काठमाडौं र पोखरा जोड्ने या भनौं काठमाडौं र पश्चिम नेपाल जोड्ने एकमात्र महत्वपूर्ण र नेपालको सबैभन्दा बढी दुर्घटना हुने सडकमध्ये एक हो । गौरवमय ३८ बर्षको बुढो यो सडकमा भएका सानाठुला पुलहरु तथा यो सडक आफ्नैको पनि व्यथा निकै नै कारुणिक छ । यो सडकको एकातिर नदीको किनारै किनार बढी छ भने अर्कोतिर ठुला पहाड । कहिले नदीले सडक काट्छ त कहिले ठुलो पहिरो । यो सडकको चर्चित कृष्णभीर खण्ड र यसको आसपासमा सयौं नेपालीले आफ्नो प्राण आहुति दिइसकेका छन् तर यो सडक कहिले पनि सुध्रेको छैन । नेपालको सबैभन्दा व्यस्त यो सडकमा एकातिर धान्नै नसक्ने सडक चाप छ भने अर्कोतिर एकदम बुढो भएर कामै नलाग्ने स्थितिमा पुगिसकेको छ । सरकारले मर्मत सम्भारको लागि सबैभन्दा बढी खर्च गर्ने यो सडक कतिपयको लागि गरिखाने भाँडो भएको छ भने कतिपयको लागि जिन्दगीबाट अनयासै रुपमा सँधैका लागि बिश्राम लिनुपर्ने एउटा बिश्राम स्थल । यतिसम्मको व्यस्तताको अवस्थामा आइपुग्दा सरकारले कम्तिमा पनि त्यो सडकका केहि अतिनै खतरा भएका खण्डहरुलाई परिबर्तन गरेर अथवा अर्को एउटा लेन निश्चित दुरीका लागि थपेरै भएपनि बढ्दो सवारी चापको समस्या समाधानको पाइला चाल्नुपर्ने हो तर अहँ सरकार बोल्दैन । त्यहि पुरानै चौडाइको सडकमा कालोपत्रेको लागि पैसा लगानी मात्र गर्नेगर्छ सडकको जग भनौं बेसमेन्टले नै धान्न नसक्ने गाडीको चाप बढेपछि सडकले कसरी धान्छ, त्यसको परिणाम २ महिनामै खाल्डाखुल्डीले सडक सिंगारिदै जान्छ र कालोपत्रे सडक एउटा ग्राभेल रोडमा परिणत हुन्छ । थाहा छैन अझै कति नेपालीहरुका जिन्दगीको बिश्रामस्थल बन्ने हो यो सडक खण्ड ।

एउटा व्यस्त सडक सुधारका लागि अनेकन उपायहरु छन् । जसको जिम्मा लिएको छ सडक बिभागले । सडकको निर्माण, निश्चित समयको मर्मतसम्भार, आपतकालिन मर्मत सम्भार तथा दैनिक हेरचाह सम्पूर्ण कामको जिम्मा सडक विभागमा छ । एक किलोमिटरको दुरीमा एक्काइसवटा सम्म प्वालहरु भएको सडकलाई अवश्य पनि स्याहार त पुगेको छैन नै सडक बिभागको कर्तब्यको कुराहरु त परै जाओस । नियमानुसार भन्ने हो भने सडक विभागले हरेक सडकलाई सडक खण्डमा बाँडेर त्यस सडक खण्डको निश्चित दुरीसम्म उक्त सडकको हेरचाह र सडकको अवस्थाको जानकारी गराउन एउटा व्यक्तिलाइ खटाईएको हुन्छ जसलाई लेन्थ म्यान भनिन्छ । तर सडक बिभाग आफैंलाई थाहा छैन सडक बिभागमा कतिजना लेन्थ म्यान छन् र को लेन्थ म्यानको जिम्मा कहाँ, कुन सडक खण्ड र कति किलोमिटर सम्म छ भनेर । नेपालको सडक जस्तै बुढो भएको हाम्रो यो सडक विभागमा कतिपय लेन्थ म्यानका छोराहरुले पनि बाबुको परलोक पश्चात तलब खाइरहेको अवस्था थियो र अझै पनि छ होला । यो त एउटा साधारण उदाहरण मात्रै हो । वास्तवमा भन्ने हो भने नेपालको भ्रष्टाचारको मुलथलो नै सडक विभागलाई लिन सकिन्छ । नाजुक ब्यवस्थापन नै हाम्रो सडक विभागको एउटा परिचय हो । सरकारको लामो रुटमा चल्ने गाडीहरुको अनुगमन गर्ने सम्बन्धित निकाय नै छैन अथवा निकाय भएर पनि निष्क्रिय अवस्थामा छ भेउ पाउन सकिएको छैन ।यसो कल्पना गरौं त, हामी नेपालीका दशैं तिहार जस्ता चाडबाडमा बढी भन्दा बढी दुर्घटनाहरु हुने गरेका छन् । यो समयमा ट्राफिक प्रहरीहरुको पनि निकै नै बाक्लै उपस्थिति हुन्छ सडकमा । त्यति हुँदा हुँदै पनि यहि समयमा धेरै दुर्घटनाहरु हुने गरेका छन् । ति ट्राफिक प्रहरीहरु तपाईं हाम्रो र सडकको लागि खटिएका पक्कै पनि होइनन । सायद प्रत्येक नेपालीहरु यसबारे राम्रै जानकार छन । अर्को कुरा, महिनाको अधिकांश दिनहरु चक्काजामले गर्दा आम्दानीविहिन हुन पुगेका गाडीधनि र चालकहरुले मनपरी गतिमा गाडी हुइँक्याउने नै भए । त्यस्तो अवस्थामा सडकको अनुगमन ब्यापकरुपमा नगरिए, दिनानुदिन हामी नेपालीहरुको अकाल मृत्यु भै नै रहन्छ ।

नेपालको कालोपत्रे नामको ग्राभेल सडक सम्बन्धि नियमकानुनहरु यतिसम्म नाजुक अवस्थामा छन् कि बिश्वमा अरु कुनै पनि देशमा छैनन् । यति सम्बेदनशील कुरामा सरकार लापरवाह हुनु भनेको वास्तवमा भन्ने हो भने ज्यादतीको एउटा पराकाष्ठा हो । अझै भन्ने हो भने सरकारले अप्रत्यक्षरुपमा गरिरहेको जनताहरुको एक प्रकारको सामुहिक हत्या हो । पक्कै पनि सडक सम्बन्धि नियम, कानून अक्षरशः पालना गर्ने र गराउने हो भने यतिबिघ्न गाडी चढ्नै डरलाग्दो अवस्था भने पक्कै पनि आउने थिएन । दिनानुदिन नयाँ सडकहरुको चर्चाकोरुपमा कहिले फास्ट ट्रयाक त कहिले सुरुङमार्ग भनेर हामी माझ आईरहन्छ । नेपाली हुनुको नाताले नेपालका हरेक बिकासका कार्यका कुराहरुमा चासो र सफलताको कामना त हामी सबैले गर्छौ नै तर त्यो भन्दा अगाडि भएका सडकहरुको सशक्त ब्यबस्थापन गर्न नसके जतिसुकै खर्च गरेर नयाँ सडक निर्माण गरे पनि त्यो बालुवामा पानी हाले सरह नै हुने छ । सडकको उचित ब्यबस्थापन नै नगरी र सम्बन्धित निकायलाई जिम्मेवारीबोध नगराई नै नयाँ सडक निर्माण गर्नु भनेको अहिलेको अवस्थामा नेपालीहरुको कालको घेरा फराकिलो पार्दै लैजानु हो ।

अन्त्यमा, सरकार परिवर्तनको लागि भनेर अथवा सरकार आफैं पनि शक्ति प्रदर्शनको नाममा लाखौंलाख कार्यकर्ता उतार्ने घमण्ड गर्छ तर आजसम्म कुनै पनि पार्टी जनताको सर्वोपरी हितका लागि भनेर सडक दुर्घटना बिरुद्ध आवाज उठाएका छैनन् । राजनैतिक कुरालाई लिएर हामी प्रायजसो नेपालीहरु पनि कान अति नै चनाखो बनाउँछौ, तर हामीमध्य कमैलाई मात्र सडक दुर्घटना भएको जानकारी हुन्छ या भनौं हामीलाई यस सम्बन्धि कुनै चासो नै छैन । निकै नै दर्दनाक कुरा हो यो । मिडियातिरको हालत पनि त्यस्तै छ अर्थात सडक दुर्घटनालाई त्यतिसारो प्राथमिकता दिएको पाइदैन जब की हिन्दि फिल्मका सिरियलहरु तथा बलिउडका कथाव्यथा भने अत्यन्त प्राथमिकतासाथ छापिएको हुन्छ । कुनै पनि व्यक्ति, कुनै पनि ठाउँमा, कुनै पनि बखत अकाल मृत्यको सिकार हुन सक्ने अवस्था छ, त्यसकारण, जागरुक हौं सडक दुर्घटना बिरुद्ध, चेतना जगाउने कोशिश गरौं सडक दुर्घटना कम गर्नलाई ।

krish_bhetwal@hotmail.com

 (लेखक तोयोहासी युनिभर्सिटी अफ टेक्नोलोजी नागोयामा सिभिल इञ्जिनियरिङमा विद्यावारिधी गर्दैछन्)

तपाईको प्रतिक्रिया