शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

लिस्बन- बिश्व भूकम्प इन्जिनियरिङ संगठन (IAEE) को आयोजना र पोर्चुगल भूकम्प इन्जिनियरिङ समाजको संयोजनमा पोर्चुगलको राजधानी लिस्बनमा यहि सेप्टेम्बर २४ देखि ५ दिने भूकम्प इन्जिनियरिङ सम्बन्धि १५ औं बिश्व सम्मेलन प्रारम्भ भएको छ।

भूकम्प सम्बन्धि अनुसन्धाता, इन्जिनियर, प्राबिधिक, बिशेषज्ञ तथा सरोकारवालाहरुको बृहत् भेला गराई अनुभबको आदानप्रदान गराउन, भूकम्प सम्बन्धि नयाँ अनुसन्धानका नतिजाहरु प्रस्तुत गर्न तथा भूकम्पीय क्षति न्युनीकरण र समस्या समाधानका बिषयहरुमा गहन छलफल गर्न प्रत्येक ४ बर्षमा IAEE ले आयोजना गर्ने यो सम्मेलनको यस पटक सन् १७५५ मा आफैंले महाभूकम्पको बिनासकारी त्रासदि भोगेको पोर्चुगलले पहिलो पटक आतिथ्यता गरेको हो। सन् १९५६ मा अमेरिकाको क्यालिफोर्नियामा आयोजना भएको पहिलो सम्मेलन पश्चात बिभिन्न देशहरुमा हुंदै यस अघि सन् २००८ मा चिनमा १४ औं बिश्व सम्मेलन सम्पन्न भएको थियो।

२४ सेप्टेम्बरका दिन लिस्बन कँग्रेस सेन्टर, बेलेममा बिश्व भरबाट आएका करिब ३००० सहभागिहरुको उपस्थितिमा भएको बिश्व सम्मेलको उदघाटन समारोहमा IAEE का अध्यक्ष टर्किस प्राध्यापक पोलट गुल्कान, सम्मेलन आयोजक समितिका स्थानिय संयोजक पोर्चुगल भूकम्प इन्जिनियरिङ समाजका अध्यक्ष प्रो. कार्लोस ओलिभेरा, लिस्बन महानगरपालिकाका निर्देशक म्यानुयल ब्रीटो तथा प्रधानमन्त्री कार्यालयका सह-सचिब कार्लोस मोइदासले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए।

उक्त सम्मेलनमा नेपालको तर्फबाट भूकम्पको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था तथा दातृ निकायका प्रतिनिधिहरु ११ जना र शिक्षा बिभागका निर्देशक कमलप्रसाद पोखरेलको नेतृत्वमा बिध्यालय निर्माणमा काम गर्ने बरिष्ठ इन्जिनियरहरु सहित ४ जनाको सरकारी प्रतिनिधिमण्डल गरि जम्मा १५ जनाको सहभागिता रहेको छ। कार्यक्रमका नियमित सत्रहरुको अतिरिक्त सहभागिहरुलाई बिभिन्न म्युजियमहरु, सन् १७५५ को महाभूकम्पका संरक्षित अबशेषहरु, लिस्बन र सिन्त्रा क्षेत्रका पुरातात्विक महत्वका स्थानहरुको भ्रमण गराउनुका अतिरिक्त बिश्वसम्पदाकोरुपमा रहेको पोर्चुगलको परम्परागत संगित ‘फादो’को समेत अवलोकन गराउने कार्यक्रम रहेको जानकारी कार्यक्रमको स्थानिय संयोजक निकायबाट प्राप्त भएको छ।

भूकम्पीय दृष्टीले उच्च खतरायुक्त हिमालयन माउन्टेन बेल्टमा पर्ने नेपालले समेत पटकपटक भूकम्पको बिनाशलिला भोग्दै आएको छ। राष्ट्रिय भूकम्प-मापन केन्द्रको तथ्यांकअनुसार सन् २०१२ मा मात्र ४ देखि ५.६ रेक्टर स्केलसम्मका ३२ वटा भूकम्पीय धक्काको महशुस गरेको नेपालको राजधानि काठमाण्डौं सहर भूकम्पको उच्च खतरामा रहेको छ। एक अनुमान अनुसार ७ रेक्टर स्केलको भूकम्प जाने हो भने काठमाडौंमा २ लाख मानिसको मृत्यु हुने, १५ लाख मानिस घरबारबिहिन हुने र ६० प्रतिशत घरहरु पूर्णरुपमा नष्ट हुने छन्।

यस सन्दर्भमा यो सम्मेलनमा भएको सरकारी र गैरसरकारी क्षेत्रको यत्रो ठूलो सहभागिता अनुत्पादक बिदेश भ्रमणमा मात्र सीमित रहने हो वा नेपालको भूकम्प ब्यबस्थापनको प्रभावकारितामा सकारात्मक प्रभाब पार्न सफल हुने हो त्यो भने हेर्न बाकि नै रहेको छ।***

तपाईको प्रतिक्रिया