शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

रियाद – हिजो २५ सेप्टेम्बर २०१२  मंगलवार साँझ नेपाली दूताबास, रियादको आयोजनामा दूताबास कै कार्यालय परिसरमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना भयो । उक्त आयोजनामा बैदेशिक रोजगार सम्बन्धी अध्ययन गर्न नेपालदेखि आउनुभएका बैदेशिक रोजगार बिभागका महानिर्देशक श्री पुर्णचन्द्र भट्टराई लगायत श्रम तथा परराष्ट्र मन्त्रालयका केही उच्च पदस्थ ब्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो ।

साउदी अरेबियाको बैदेशिक रोजगारमा देखिएको केही अब्यबस्थित प्रक्रियाहरूलाई बुझ्न र साउदी सरकारसँग यो बिषयमा गम्भीररुपले छलफल गर्न आएको उक्त डेलिगेशन टोलीसँग भएको अन्तर्क्रिया कार्यक्रममा रियाद शहरको बिभिन्न कम्पनीहरूमा कार्यरत केही उच्च पदस्थ ब्यक्तित्वहरू, संघ संस्थाका अगुवाहरू लगायत केही पीडितहरूको पनि सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी ६०-७० जना मध्य १९ जना सहभागीहरूले साउदी अरेबियामा बैदेशिक रोजगारलाई ब्यबस्थित बनाउन सुझाएका थिए भने नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेबियाका अध्यक्ष श्री हुम सुनारी मगरले ४ पेज लामो सुझाव पत्र पेश गरेका थिए । जसमा साउदी अरेबिया आउने कुनै पनि नेपाली कामदारले नेपालको श्रम बिभागमा लाग्ने दस्तुर र बिमा गरिएको शुल्क बाहेक एक पैसा पनि लगानी गर्न नपर्ने गरि साउदी अरेबियामा नेपाली कामदार आउन पाउने ब्यबस्था गर्नुपर्ने उल्लेख छ । कामदार माग गर्दा लाग्ने सम्पुर्ण खर्च रोजगारदाता कम्पनीले परियोजना (Project) बाट अग्रिम असुली सकेपछि गरीब नेपाली कामदारले श्रम गर्न आउँदा बैदेशिक रोजगार ब्यबसायीलाई किन पैसा तिर्ने ? कामदार साउदी अरेबिया पठाउनु भन्दा अगावै रोजगार ब्यबसायीले कामदार पठाउदा लाग्ने सम्पुर्ण खर्च रोजगार दाता कम्पनीबाट लिनु पर्ने ब्यबस्था निकट भबिष्यमै हुन गैरहेको दुई देश बीचको श्रम सम्झौतामा स्पष्ट उल्लेखित भै अबिलम्ब कार्यन्वयन गरिनुपर्ने पनि आदिवासी जनजाति महासंघ, साउदी अरेबियाका अध्यक्ष श्री हुम सुनारी मगरले संस्थागत रुपमै सुझाव पेश गरेका थिए ।

त्यसै गरी महासंघ, साउदी अरेबियाका प्रमुख सल्लाहकार क्याप्टेन कमल गुरुङले ४९ पेज लामो साउदी श्रम ऐन (Saudi Labour Law) को बारेमा सहभागीहरूलाई जानकारी गराउनु भएको थियो । वहाँ आफै अढाइ बर्ष अगाडि साउदी आउने प्रक्रियामा नेपालको श्रम बिभागले खेलेको भूमिकाको तितो अनुभव पनि खुलस्त पार्नुभएको थियो । बैदेशिक रोजगारको लागि वहाँ साउदी अरेबिया आउनुभन्दा अगाडि श्रम बिभागबाट श्रम स्विकृती लिने प्रक्रियामा वहाँलाई कम्पनीले माग गरिएको हेल्थ अथवा सुरक्षा प्रबन्धक पद अहिले सम्म नेपालबाट माग नगरिएको र यो पदको लागि श्रम स्विकृती दिन नसक्ने जानकारी दिए पछि Plumber पदको श्रम स्विकृती लिएर साउदी अरेबिया आउनुपरेको गुनासो ब्यक्त गर्नुभएको थियो । त्यसै गरि महासंघ, साउदी अरेबिया कै सल्लाहकार श्री दिलचन बुढा मगरले बैदेशिक रोजगारीमा केही मध्यस्थ कर्ताहरुका कारणले पनि यस्को ब्यबस्थापनमा समस्या परेको खुसस्त पार्नु भयो । उक्त अन्तर्क्रिया कार्यक्रममा सुझाव दिनेहरुमा श्री राम बेल्बासे, श्री चोला पाठक, श्री रुकेश शाह अध्यक्ष मिथिला एकता समाज, श्री राजु पौडेल एनआरएनए ICC सदस्य, श्री भिम थापा एनआरएनए साउदीका उपाध्यक्ष, श्री हिरामणी भुसाल, श्री डोर बहादुर कार्की उपाध्यक्ष जनप्रगतिशिल मन्च, श्री जेबी राई, श्री राजेन्द्र क्षेत्री र श्री बिमल गौतम आदि हुनुहुन्थ्यो ।

सहभागी सम्पुर्ण बक्ताहरूको सुझावलाई नेपाल फर्केपछि कार्यान्वयनका लागि अबिलम्ब पहल गरिने साथै यसै बिषयमा साउदी अरेबियाका श्रममन्त्री सँग गम्भीर रुपमा छलफल भएको र नेपाली कामदारहरूको हितमा निकट भबिश्यमा हुने दुई देश बीचको श्रम सम्झौता द्वारा सम्बोधन गरि कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो । कार्यक्रमको अन्त्यमा राजदूत श्री उदयराज पाण्डेले साउदी अरेबियामा नेपाली कामदारहरूको समस्या ९५% समाधान गर्न सफल भएको र यस प्रक्रियामा नेपाली समुदायबाट राम्रो सहयोग प्राप्त भएको धारणा राख्नुभएको थियो । कार्यक्रम संचालन दूताबास कै श्रम सहचारी श्री चन्डेश्वर आचार्यले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया