शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

 

बहु जाति, बहु भाषी, बहु संस्कृति र परम्पराको धनी देश नेपालले सदियौंदेखि यी आफ्ना परम्परा र सँस्कृतिहरुलाई आफ्नो वक्षस्थलमा हुर्काउने, बढाउने, फलाउने र फूलाउने गर्दै आइरहेको छ । मन्दिरै मन्दिरको देश भनेर चिनिने नेपालमा आफ्नै सँस्कृति र परम्पराअनुसार समय-समयमा आउने चाडपर्वहरुको पनि आफ्नै महत्व छन् ।

नेपालमा धुमधामका साथ मनाइने चाडपर्वहरुमध्ये कुनै पर्व नारीले मात्र मनाउने, कुनै पुरुषले मात्र मनाउने र कुनै नारी र पुरुष दुवैले समानरुपमा मनाउने चाडपर्वहरुमध्ये नारीहरुको महान पर्वको रुपमा चिनिने पर्व हो, तीज अर्थात हरितालिका ।

नेपाली जनमानसमा कतिपय पर्वहरु सदियौंदेखि लोकको मौखिक परम्परामा पनि बाँचिरहेको पाइन्छ भने कैयौं रीतिरिवाज, परम्परा र सँस्कृति एक पिंढीबाट अर्को पिंढीमा क्रमशः हस्तान्तरण हुँदै जाने गर्दछ । धार्मिक आस्थाकारुपमा मनाइने तीज अर्थात हरितालिका पर्व नृत्य र गायन कलाको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।

हरितालिका पर्व नारीहरुको ठूलो चाडको रुपमा मानिन्छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म तीज मनाइन्छ । तीजको अघिल्लो दिन अर्थात द्वितीयाको दिन ‘दर खाने’ दिनको रुपमा प्रख्यात छ । विभिन्न परिकार लगायत मीठा-मीठा मिष्ठान्न, फलफुल तथा दूधदही खाने क्रम रातको अबेरसम्म रहन्छ । हरेक माइतीले आफ्नो चेलीबेटीलाई दर खुवाउने चलन धेरै अगाडिदेखि चल्दै आएको छ । समयको परिवर्तन सँगै दर खाँदा खाइने परिकारहरुको पनि परिवर्तन भएको छ । स्वादिलो र पोषिलो परिकारहरु खाएर भोलिपल्ट व्रत वस्दा भोक नलागोस भनेर राती अवेरसम्म दर खाइन्छ । आधुनिक खानाका परिकारहरु पनि अहिले दरका रुपमा प्रयोग हुन थालेका छन् ।

दर खाने दिन द्वितीया, तीज तृतीया, चौथीलाई गणैश चोथी र पञ्चमीलाई ऋषि पञ्चमीको रुपमा मनाइन्छ । ऋषि पञ्चमीको दिनमा नारीहरु बिधीअनुसार पँधेरो तथा नदीमा गई तीन सय पैंसठ्ठी वटा दतिवनले दाँत माझेर स्नान गरी ऋषिहरुको पूजा गर्छन । राती सबै दिदीबहिनीहरु एकै ठाउँमा भेला भएर गीत गाएर रात बिताउँछन् । भोलिपल्ट उज्यालो भएपछि बल्ल सवैजना आ-आफ्नो घर जान्छन् ।

हरितालिकाको दिन भने बिहान सवेरै गंगामा स्नान गरी मन्दिरमा गई पूजाआजा गरिन्छ । हरेक विवाहिता नारीहरु यो दिन आफ्नो पतिको नाउँमा व्रत वस्दछन् । आफ्नो पतिको सुस्वाथ्य, दीर्घायु र प्रगतिको कामनासहित व्रत वसेका नारीहरु दिनभर नाचगान गरी रमाइलो मनाउँछन् । ब्रत बस्ने समयमा नारीहरु पानी समेत नखाई कठोर उपवास बस्नु हिन्दू नारीहरुको आफ्नो छुट्टै पहिचान पनि हो । त्यसो त अविवाहिता महिलाहरु पनि व्रत नवस्ने भने होइनन् । भावी श्रीमान राम्रो र योग्य पाऊँ भनी थुप्रै अविवाहिता नारीहरु पनि यो व्रतमा सामेल हुन्छन् । हिमालय पर्वतकी छोरी पार्वतीले श्री महादेव स्वामी पाउँ भनी हरितालिकाको व्रत वसेको र सोही अनुरुप महादेव स्वामी प्राप्त गरेको धार्मिक कथन छ । तर्सथ अहिले पनि विवाहपूर्व किशोरीहरु पार्वतीले शिव वर पाए जस्तै आफूहरुले पनि मनले चिताएको महादेवजस्तो योग्य वरको कामनाकासाथ यो व्रत वस्ने गर्दछन् ।

नाचगानको दृष्टिले पनि महत्वपूर्ण यो पर्वमा नारीहरु आफ्नो घरायसी कथा र व्यथालाई गीतकै माध्यमवाट दिदीवहिनी तथा साथीहरुबीच पोख्ने गर्दछन् । कतिपय नारीहरुलाई अझै पनि घरमा सासुको सँधैभरीको कचकच सहेर सकी-नसकी मेलापात गर्नुपर्ने बाध्यता छ । यो स्थिति ग्रामीण भेगका महिलाहरुमा मनग्गे भेट्न सकिन्छ । तीजका बेला यस्ता कथाहरुलाई उनेर गीत साँध्ने चलन पनि छ ।

‘सुख शान्ति भएन कहिले नि, नसक्दा नि जानैपर्ने मेलापात जहिले नि ।” कतिपय नारीहरु आफ्नो दाजुभाई नहुंदा, आफ्नो माइती लिन नआउँदा नरमाइलो महसुस गर्दछन् र सोही व्यथालाई पनि गीतमा यसरी गाउँने गर्दछन् ।

‘सम्झी सम्झी एकोहोरो मनलाग्छ रुनलाई, छैनन् मेरो कोही पनि दाजुभाई ।’ ‘कसले बुझ्नसक्छ मेरो पीडा र मर्मँ नि, रुँदै वित्छ मेरो चाड र पर्व नि ।’

नारीहरु तीजको समयमा टाढा टाढावाट आफ्नो माइतीमा जान्छन् । वर्षौदेखि देख भेट नभएका दिदीवहिनीहरुसंग भेट हुन्छन्, सुख दुःखका कुरा गर्छन, मीठा मीठा खानेकुरा खान्छन्, दिन वितेको पत्तै हुँदैन, एक्कासी फेरि आफ्नै कर्मघरमा फ़र्कने दिन आउँछ । फेरि कचकचे सासुको तीखो हृदयभेदक वचन सम्झिन्छन् । कर्मघर नजाउँ नि भएन, जाउँ त भने मनमा चैन रहेन ।’ त्यसैले मनभरीको व्यथालाई यसरी गीतको माध्यमबाट पोख्छन् ।

‘कर्मघर नजाऊँ भने गाउँमा हल्ला चल्दछ, कर्मघर सम्झे मात्रै मुटु जल्दछ’ ‘रुँदारुँदै मझेरीमा ताल पर्छ आँसुले, कोखा छेडी वचन लाउँछिन सासुले’ ‘जति काम गरे पनि भन्छिन् काम गरिन, वचनको झटारोले झण्डै मरिन ।’

बुहारीहरु मात्रै होइनन्, यस पर्वमा गीत बाटै सासुहरु पनि आफ्ना बुहारीहरुको कुरा काट्न, बुहारीहरुप्रतिको असन्तुष्टि पोख्न पछि पर्दैनन् । ‘विहानको आठ बजे बल्ल दैलो उघारी, साह्रै रै’छे अलच्छिनी मेरी बुहारीँ

तीजको दिन नारीहरु भोकै उपवास बस्ने भएकोले सम्पूर्ण दुःखहरु विर्सन उनीहरु गीत गाउँछन् । टाढा टाढाका दिदीवहिनीहरु तथा साथीसंगीनीहरु जम्मा भई गाइने गीत भएकोले कतिपय ठाउँमा यो गीतलाई संगीनी गीत पनि भनिन्छ ।

त्यसो त आजकल दुःख र पीडाका मात्र नभएर समय सापेक्ष समाजमा रहेको विद्यमान विकृति र विसंगति विरुद्धमा पनि गीत साँध्ने चलन छ । राजनैतिक, सामाजिक, आर्थिक विषयसँग सम्बन्धित गीतहरु पनि गाइन्छ । आधुनिक फेसनको दुनियाँलाई पनि गीतको माध्यमबाट व्यङ्ग्य गर्न उनीहरु पछि पर्दैनन् ।

‘केटी पनि टाइट टिसर्ट, टाइटै पाइन्ट लाउँछन्, केटा साथी लिएर फिलिम हल धाउँछन्’ ’कालो कपाल, मेन्दी लगाई, रातो खैरो पारी, नक्कल पार्दै हिड्छन अघि कपाल झारी’ ’उखेलेर नाङ्गै पार्छन तिनले आँखी भौं पनि, देख्नै गाह्रो हुन्छ त्यहाँ एउटा रौं पनि ।”

त्यति मात्रै होइन ग्रामीण भेकमा देखिएका आधुनिकतालाई पनि गीतको झटारो हान्न पछि पर्दैनन् उनीहरु ।

’अलच्छिनी बुहारी छे, घरै धान्न गाह्रो भो, आँसी नाम्लो, डोको भन्दा मोवाइल प्यारो भो।’ ’विदेशबाट फोन गर्छ छोरो उसैलाई, छुनखान दिन्ने त्यस्को टिलो कसैलाई’

यसरी हरितालिका पर्व विविध पक्षबाट महत्वपूर्ण छ । धार्मिक, सामाजिक, साँगीतिक हिसावले अति महत्वको यो पर्व एउटा महासागर नै हो, जुन सजिलै तरेर पार गर्न सकिंदैन । तीजदेखि ऋषि पञ्चमीसम्म नै गीत गाउने क्रम रहिरहन्छ ।

यसरी आफैंले गीत गाएर, कोही नाचेर, कोही ताली पिटेर मात्रै भए पनि यो साँगीतिक माहोलमा थुप्रै महिलाहरु सामेल हुन्छन् । नारीको पर्वको रुपमा चिनिने यो पर्वको आफ्नै महत्व छ । यस्ता परम्परालाई सदैव निरन्तरता दिनु हामी सबैको समान दायित्व रहन्छ । अहिले समाजका विभिन्न संघसंगठनहरुले पनि तीजको अवसरमा तीजे गीत प्रतियोगिताको आयोजना गरेर यो पर्वको संरक्षणमा ठूलो भूमिका निर्वाह गरिरहेका छन् । देशभित्र मात्र होइन विदेशमा भएका विभिन्न संघसंस्थाहरुले पनि तीजे गीत प्रतियोगिताको आयोजना गर्दै आइरहेको पाइन्छ । जापानमा पनि प्रत्येक वर्ष नेपाली समुदायकाबीच भव्य कार्यक्रमको आयोजना गरी तिज मनाईने गरेको छ । विदेशी व्यस्त परिवेशमा पनि हरेक दुःख कष्टलाई भुलेर आफ्नो मातृभूम्रि्रतिको माया र स्नेह, अनि विर्सनै नसकिने शरिरको हरेक नशानशामा तरंगित भइरहने मौलिक संस्कृति र चाड पर्वको स्वादिलो स्वाद लिन पाउँदा को पो नै खुशी नहोला र ? सात समुद्रपारि विदेशी भूमिमा रहेर पनि आफ्नो सँस्कृति र परम्परालाई जगेर्ना गर्न हातमा हात मिलाउने यी व्यक्ति वा संघ संस्थाहरुलाई जो कोही स्वच्छ हृदय भएको नेपालीले सलाम गर्नैपर्छ । तर मौलिक चार्डपर्वको संरक्षणको रुपमा मात्र नभई प्रतियोगीहरु त्यस्ता प्रतियोगिताहरुमा पुरस्कार जित्नको लागि मात्र भाग लिने गरेको पनि पाईन्छ । एक ठाउँको प्रतियोगितामा भाग लिएर तुरुन्तै अर्को प्रतियोगितामा भाग लिन दौडधूप गर्ने प्रवृत्तिले यसको आफ्नो मौलिकता खस्केको हो कि झैं भान हुन्छ । तर जे होस, यो चाड हाम्रो राष्ट्रिय सम्पत्ति हो अनि नारीको आफ्नै छुट्टै पहिचान हो । भविष्यमा पनि यस्ता कार्यक्रमहरुले निरन्ततरता पाइरहोस् हामी यही कामना गरौं ।

 

(पत्रकार समेत रहेका लेखक दुरा जापानमा उच्चशिक्षा अध्ययनरत छन्)

 

तपाईको प्रतिक्रिया