शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

बिशेष सम्पादकीय

नेपाली नारीहरुको सामाजिक र साँस्कृतिक महत्वको चाड तीज पर्वले यतिखेर स्वदेशमा मात्र नभएर बिदेशमा पनि रौनकता छाएको छ र नजानिदो तवरले उच्च महत्व पाउर्दै गएको छ । उसो त तीज पर्वले दैलो टेक्न नपाउँदै नेपाली नारीहरुमा ल्याएको उत्साह, उमंग र हौसलाले नेपाली समुदायमा नयाँ तरंग उत्पन्न गरेको छ । आफ्ना चाड पर्व र रितिरिवाजलाई गच्छेअनुसार सम्झनु, मनाउनु र यसैको माध्यमबाट सामाजिक सद्भाव बलियो बनाउनु हाम्रा चाडपर्वका असल बिशेषता हुन् ।

बाल्यकाल, जन्मघर, माईती, साथीसंगीनी अनि पर्राईघर गएपछिको जीवन भोगाईलाई चित्रण गर्दै नेपाली नारीहरु तीजको बेलामा गाउने, नाच्ने र रमाईलो गर्ने गर्दछन् । यस्ता पर्वहरुले अरु सबै कुरालाई बिर्सेर एउटै बिषयमा ध्यान केन्द्रित बनाउने हुँदा समाजलाई एक सूत्रमा आबद्ध गर्न पनि ठूलो मदत गरिरहेका हुन्छन् ।

समाज परिवर्तनको दिशामा उन्मुख छ, हिजोका परम्परा धान्न र रितिरिवाजलाई जोगाई राख्न मात्र अब तीज पर्व खुम्च्याईनु हुदैन । आज एक्काइसौं शताब्दीका सचेत नारीहरुले राम्रो लगाउने, मीठो खाने अनि माइत जाने एवं मनोरञ्जनको अवसरकोरुपमा मात्र तीजलाई उपयोग गरिनु हुँदैन । यसले त देशदेशान्तरका नारी उत्पिडनका भाषा बोल्न सक्नुपर्दछ र हाम्रो समाजलाई गलत दिशातिर जानबाट रोक्न सक्नुपर्दछ । त्यसका लागि नारी जागरणका अभियानहरु यस्तै पर्वहरुको अवसरलाई उपयोग गर्दै अगाडि बढाउनुपर्दछ । तर यो दिशामा स्वदेशमा होस् या बिदेशमा महिला अगुवाहरुको ध्यान जान सकेको देखिदैंन ।

तीज पर्वको नाममा हाम्रो समाजमा बिस्तारै डरलाग्दो बिकृति हुर्कदों छ । यो गम्भीर चिन्ताको बिषय हो । यस्ता बिकृतिले समाजका हुँदाखाने र हुनेखानेबिचको खाडललाई अझ गहिरो बनाउँदै लैजाने हुँदा समाजका सबै वर्ग बेलैमा सजग हुन जरुरी छ । लोकलाजको खोल ओढेर आधुनिकताको नाममा नयाँ भड्काव, अरुका देखासिकी र आडम्बरी सँस्कारले हाम्रो समाजलाई गाँज्दै लगेको छ । जसका कारण हाम्रो समाजले आफ्नो औकात र हैसियतभन्दा माथि उभिएर खर्चिलो चाडपर्व मनाउन प्रोत्साहित गरिरहेको छ । हुँदा हुँदा बिदेशमा पनि महिनौदेखि तीज मनाउने चलन भित्रिईसकेको छ । एकातिर देखासिकी सँस्कारमा हुर्केको हाम्रो समाज, अर्कोतिर राम्रो कमाई हुने बिदेशमा चाडपर्वका बेला, यस्ता जबरजस्ती भित्र्याईका ब्यापारिक प्रचलनले समाजमा प्रत्यक्ष असर पुर्‍याएको पाईन्छ ।

त्यसैले हामीले गम्भीर भएर सोंच्ने बेला आएको छ कि, हाम्रा खर्चिला चाडपर्वहरुमा उर्लने जनशक्ति एवं जनसागरबाट समाजको अग्रगामी परिवर्तनमा सानो भएपनिर् इटा थप्न सकेमा मुलुकले कति चाँडो काँचुली फेर्दो हो । अब त हाम्रा पर्वहरु केवल पर्वकारुपमा खानपान, नाचगान, रमाईलोका लागि मात्र नभएर समाजमा बिद्यमान बिकृति, बिसंगति तथा बेथितिहरुको खबरदारी गर्दै समाज परिवर्तनको दिशामा उपयोग गरिनुपर्दछ । यो नै समयको माग हो । बेलैमा सबैले सोच्ने कि ?

 

तपाईको प्रतिक्रिया