शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

सरकारले नेपाल प्रहरी संगठनको २३ औं नेतृत्वकर्ताकारुपमा कुवेरसिंह रानालाई नियुक्त गरेपछि उनलाई शुक्रबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहबीच गृहसचिव नविन घिमिरेले दर्ज्यानी चिन्ह लगाइदिएका छन् । ततपश्चात् नवनियुक्त महानिरीक्षक रानाले आजै आफ्नो पदभार ग्रहण गरेका छन् । दिउँसो करिव २ बजे नवनियुक्त आईजीपी रानालाई प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीदेखि जवानसम्मका सदस्यले लामबद्ध भई हेडक्वाटरमा स्वागत गरेका थिए । हेडक्वाटरमा बधाई दिन चाहने अधिकारी मध्य आज डिएसपीसम्मको समय तोकिएको र उनलाई बधाई दिन जाँदा औपचारिक पोशाकसमेत तोकिएको छ ।

प्रधानमन्त्री र विभागिय मन्त्रीबीच लामो रस्साकसीबीच प्रहरी नेतृत्वमा चयन भएका कुवेरसिंह राना संगठनभित्र विवादरहित, कुशल एवम भद्र स्वभाव र व्यवसायिक व्यक्तित्वकारुपमा चिनिन्छन् । ५२ वर्षिय नवनियुक्त महानिरीक्षक रानाको पूर्ख्यौली थलो बौघा-५ पाल्पा हो । स्नातकसम्मको अध्यन गरेका उनको प्रहरी इन्स्पेक्टरकारुपमा प्रवेश गरेदेखि महानिरीक्षकसम्मको राष्ट्रसेवक यात्राको यो ३५ औं पोष्टिङ हो । उनान्तीस वर्ष जागिरे जीवनमा उनले कुनै पनि प्रतिस्पर्धामा दोस्रो हुनु परेन ।

प्रहरीको आधारभूत, कमाण्ड, व्यवस्थापन, विकास प्रशिक्षण, विशिष्ट व्यक्तिको सुरक्षादेखि अन्य थुप्रै व्यवसायिक तालिमको ज्ञान हासिल गरेका आईजीपी राना लागू औषध र त्यस सम्वन्धि कानूनका पनि जानकार मानिन्छन् । एक दर्जन जती तक्मा र विभुषणबाट सम्मानित उनले विभिन्न अन्तरराष्ट्रिय स्तरका तालिम, गोष्ठी र सेमीनारमा पनि भाग लिएका छन् । डेढ दर्जन बढी मुलुकको भ्रमण गरेर त्यहाँको सुरक्षा व्यवस्थापन र अपराधिक क्रियाकलाप बारे उनले जानकारी हासिल गरेका छन् ।

२०१७ साउन ६ गते स्वर्गवासी मेजर लीलाविर राना र जोगमाया रानाको कोखबाट जन्मनुभएका महानिरीक्षक रानाका चार दिदीबहिनी, सात दाजुभाई मध्ये पाँचौ हुन् । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।

शब्दवाणले कसैलाई नपिरोल्ने र पिठ्यू पछाडि कसैमाथि कैची नचलाउने स्वभावका राना प्रष्ट, स्पष्ट त छँदैछन्, खरो एवम् पारदर्शी व्यवहार तथा इमानदार छविले गर्दा उनी प्रहरी संगठनभित्र धेरैको रोजाइँमा पनि पर्न सफल भएका छन् । रुकुम, बागलुङ, भोजपुर, सर्लाही, पर्सा, काठमाडौं, धनुषाजस्ता जिल्ला हाँकेको अनुभव उनीसँग छ भने गण, गुल्म, तालिम केन्द्र रहेर पनि उनले थुप्रै प्रहरी अधिकृत तथा जवानलाई प्रशिक्षित गराइसकेका छन् । लागू औषध नियन्त्रण तथा कानुन कार्यान्वयन इकाइमा रहँदा उनले स्वदेशी/विदेशी लागू औषधका तस्करको जालो तोड्न पनि सफल भएका थिए । पश्चिम क्षेत्र प्रहरी कार्यालय, पोखरा र महानगरीय प्रहरी आयुक्तको कार्यालयमा प्रमुखकारुपमा रहँदा उनले प्रहरीलाई भ्रष्टाचारबाट अछुतो रहन दिएको कडा निर्देशन प्रशंसनियमात्रै रहेन, प्रहरीले सांगठनिकरुपमै गर्दै आएको आर्थिक अनियमितता तथा घुसखोरीमा निकै कमी आएको छ ।

प्रहरी नियमावलीअनुसार सेवाअवधि तीस वर्ष नै कायम रहीरहेमा (अवकाश सम्वन्धि मुद्दा सर्बोच्च अदालतमा विचराधिन छ) उनले प्रहरी संगठनमा तेह्र महिना मात्रै नेतृत्व गर्ने गर्ने छन् । संगठनभित्र देखिएका कमी कमजोरीलाई सुधार गर्न अर्थात् परिवर्तनको छनक देखाउन यो तेह्र महिने अवधि छोटो भए पनि अप्रयाप्त मान्न मिल्दैन । किन की, उनले महानगरीय प्रहरी आयुक्तको कार्यालयको तेह्र महिना नेतृत्व गर्दा ठूलै परिवर्तन ल्याइदिएका छन् । यद्यपि, आफू स्वयम् महानिरीक्षकको प्रतिस्पर्धामा रहेकाले कतिपय विषयमा मौन रहनुपरेको बाध्यात्मक अवस्था पनि रानालाई परेको थियो होला । तर, अब त्यस्तो अवस्था छैन । र, उनले सरकारले आफूमाथि गरेको भरोसा, विश्वासलाई प्रतिवद्धताका साथ निर्वाह गर्दै प्रहरी संगठनलाई समयानुकुल व्यवसायिकतातर्फ ढाल्नुपर्ने चुनौतीको सामना गर्नुका साथै संगठनका सदस्यको गिर्दो मनोबल उकास्न पनि उल्लेखनिय भूमिका खेल्नुपर्नेछ । प्रहरी संगठनलाई गतिशिल नेतृत्व दिएर परिवर्तनकारी सुधारात्मक संकेत देखाएको खण्डमा प्रहरीका थुप्रै पूर्व महानिरीक्षकहरुले अवकाशपूर्ण जीवन व्यतित गरेजस्तो उनले आगामी तेह्र महिना पछि पनि राष्ट्र सेवकको भूमिकाबाट अलग हुनुपर्ने छैन । किनकी, मुलुकलाई देश र जनताको सेवा गर्ने सेवकको ठूलो खाँचो छ । कुर्सी ओगटेर स्वार्थलाभ लिनेहरु भनेका खहरेखोला जस्तै कहिले उर्लिन्छन्, कहिले सुक्छन् भन्ने महानिरीक्षक रानाले आत्मसात गर्नुपर्छ ।

यसैबीच महानिरीक्षक रानासंग पत्रकार मधु लम्सालसँगले गर्नुभएको छोटो कुराकानी :

० सरकारले तपाईंलाई महानिरीक्षक बनाइ छाड्यो नि !

योग्य थिएँ, त्यसैले भएँ ।

० प्रधानमन्त्री र गृहमन्त्रीबीच टक्कर चल्यो नि त ?

त्यो त प्रतिस्पर्धीहरु भएपछि छनोट प्रक्रियामा दावी हुनु स्वभाविकै हो । त्यसलाई मैले अनौठोरुपमा लिन्न ।

० तपाईंलाई प्रधानमन्त्रीले च्यापे, गृहमन्त्रीसँग त सम्वन्ध केही चिसो हुन्छ कि ?

होइन, त्यस्तो केही पनि हुन्न । म एक कर्तब्यनिष्ट राष्ट्रसेवक हुँ । मैले व्यक्तिको होइन, सरकारको आदेश पालन गर्ने हो । यसै पनि म गैराराजनीतिक पहिचान भएको व्यक्ति हुँ । म प्रहरी सेवामा रहेसम्म राजनीतिबाट अलग्गै रहन्छु । त्यो व्यवहारमा गरेरै पनि देखाउँछु । रहृयो, गृहमन्त्री ज्यूसँग मेरो सम्वन्धको कुरा । उहाँले नै मेरो बढुवाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजानु भएको हो भनेपछि आफ़्नो विभागिय मन्त्रीज्यूसँग कस्तो सम्वन्ध मैले बनाउनु पर्छ भन्ने यसै स्पष्ट छैन र ? मैले जहिल्यै नीति र कानुनको पालना गरेँ, गर्दै आएको छु र भविष्यमा पनि त्यसलाई पछ्याइरहने छु । मलाई सरकारले देश र जनताको सेवा गर्ने जिम्मेवारी दिएको छ, आम जनताले ममाथि ठूलो भरोसा पनि गरेका होलान्, त्यो म प्रतिवद्धताका साथ इमानदारीतापूर्वक निर्वाह गर्न कुनै कसर बाँकी राख्दिन । मेरो कसैसँग आग्रह र पूर्वाग्रह रहने छैन ।

० जो पनि महानिरीक्षकमा नियुक्त हुँदा आश्वासनका लड्डु बाँड्छन् तर, संगठनको सुधारमा होइन, भूँडीसुधार्नेतिर लागेको देखियो । तपाईंका पनि भावी कार्ययोजना त होलान नि ?

अरुका सन्दर्भमा मैले बोल्नुभन्दा पनि मेरै लक्ष्यको बारेमा प्रष्ट पार्छु । मैले बोलीले होइन, व्यवहारले नै गरेर देखाउँछु । त्यो तपाईंहरुले देख्दै जानुहुनेछ । तपाईंले भन्न खोजेको आशयजस्तो प्रहरीमाथि लाग्दै आएको आर्थिक बद्मासीको अन्त्यका लागि म खुलेरै उभिन्छु । प्रहरी भनेको जनताको सेवा गर्ने पवित्र संगठन हो, यो कुनै व्यापारिक या व्यवसाय गर्ने नाफामुखी संस्था होइन । त्यसैले जनताका गुनासा सुन्ने, उनीहरुका इच्छित सेवा प्रति प्रहरी संगठनले सकेसम्म पूरा गर्ने गराउनेतर्फ संगठन प्रमुखको हैसियतले मैले लक्ष्य नै बनाएको छु । मेरा पनि केही कार्य योजना पक्कै पनि छन्, ति छिट्टै सार्वजनिक गर्ने मात्र होइन, तपाईंहरुले स्पष्टसँग देख्ने गरी कार्यगत व्यवहारमै लागू गराउने छु । यो मेरो प्रतिवद्धता हो ।

० अहिले प्रतिस्पर्धा गर्नेहरुसँग भविष्यमा कस्तो सम्वन्ध रहन्छ ?

संगठनको नेतृत्वकर्ता एक जना मात्र हुने र त्यसमा अहिले हामी तीन जनाको दाबी रहेकोले बाहिरबाट बुझ्नेहरुका लागि विवादजस्तो देखिएको हो । हामीबीच विगतमै जस्तो न्यानो एवम् भावनात्मक मित्रता कामय छ, र त्यो भविष्यसम्मै रहिरहने छ भन्ने मेरो बुझाई छ । मैले आफ्ना सहकर्मीसँग सहकार्य गरेरै एक ढिक्का भएर प्रहरी संगठनलाई व्यवसायिकीकरण तर्फ अगाडि बढाउन पहल गर्नेछु । यदि उहाँहरुमा त्यस्तो तिक्तता छ भने त्यो मेटाउन मैले नै पहल गर्छु र, संगठनलाई राजनीतिबाट पनि टाढा राखेर जनविश्वास आर्जन गर्नेतर्फ मेरो विशेष ध्यान केन्द्रीत हुनेछ । नागरिक बिना बर्दीका प्रहरी र प्रहरी बर्दीधारी नागरिक हुन् भन्ने मान्यताको अनुशरण गराउन मेरो विशेष जोड रहने छ । संगठनभित्र जिम्मेवारी बाँडफाँडमा पनि व्यवसायिकता र कार्यक्षमतालाई प्रमुख आधार बनाएर प्रहरीको मनोबल बढ्ने तथा आचारणमा शुद्धता ल्याउने नीतिलाई पारदर्शीताका साथ अघि बढाउने छु ।

० नयाँ महानिरीक्षकका हैसियतले जनतालाई के भन्नुहुन्छ ?

जनताको शान्ति सुरक्षा नै प्रहरीको मुल कर्तब्य भएकाले शान्ति सुरक्षाको पहरेदार ‘नेपाल प्रहरी’को प्रमुखका हैसियतले म जनतासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास दिलाउँछु । प्रहरी सेवालाई सहज, पारदर्शी र दबाबरहित तुल्याउँदै आमजनताको पहुँचमा पुर्‍याउन अग्रसर रहने प्रतिवद्धता जनाउँदछु । साथसाथै, चाकडी प्रथाको अन्त्य गराउन अभियान नै थाल्छु ।

० संगठनका सदस्यको मनोवल उकास्ने तर्फ के सोच्नु भएको छ ?

हरेक नियमित तथा आन्तरिक कार्यलाई पारदर्शी एवम् बैज्ञानिक ढंगबाट गराउने मेरो नीति नै रहने छ । सकेसम्म कसैले गुनासो पोख्ने अवस्था नआओस् भन्नेतर्फ चनाखो रहनेछु । संगठनका सदस्यको मनोबल उकास्न उनीहरुको कार्य क्षमताको जाँच गरेर उनीहरुलाई जिम्मेवारी बाँडफाँड गर्नेतर्फ लाग्छु । संगठन भित्रको भ्रष्टाचार रोक्न र प्रहरीका सदस्यको आर्थिक अनुशासन कायम गराउने नीति कडाईका साथ लागू गराउने छु । यसो गर्दा इमान्दार तथा चाकडी चाप्लुसीमा नलाग्ने सदस्यको मनोबल निश्चितरुपमा उकासिने छ ।

यस्तो छ, संगठन सुधारका लागि महानिरीक्षक रानाका नौ प्राथमिकता

१, जनउत्तरदायी प्रहरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने

२, पेसागत व्यवसायिकता प्रवर्द्धन गर्ने

३, अपराध अनुसन्धान विशिष्टीकरण गर्ने

४, प्रहरी कार्यमा जनसमुदायको सहभागितालाई जोड दिने

५, भ्रष्टाचार तथा दण्डहीनतामाथि शून्य सहनशीलता कायम गर्ने

६, जवाफदेही बनि मानवअधिकार संरक्षण गर्ने

७, संस्थागत सुदृढीकरण, भौतिक संरचना, पूर्रवाधार र व्यवस्थापनमा विशेष जोड दिने

८, प्रहरीको सरुवा बढुवा नियमसंगत र पारदर्शी बनाउने

९, सरकारबाट भएको निर्देशनको अक्षरशः पालना गर्ने

तपाईको प्रतिक्रिया