बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

अबुधावी । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजलाई युएइका महिलाहरुले गत ७ सेप्टेम्बर शुक्रबारका दिन अबुधावीको इण्डियन सोसियल सेन्टरमा आफ्नो परम्परा र रितीरिवाजअनुसार धुमधामका साथ मनाएका छन् । नेपाली जनसम्पर्क समिति युएइको आबुधावी क्षेत्रीय समितिले आयोजना गरेको तीज कार्यक्रममा नेपालका लोक दोहोरी क्षेत्रकी चर्चित गायिका सम्झना लामिछाने मगरको प्रस्तुतिका साथ स्थानीय ख्यात्रि्राप्त कलाकारहरुले आफ़्नो कला प्रस्तुत गरेका थिए ।

वैदेशिक रोजगारीमा रहेका प्रवासी नेपालीहरुले प्रवासको भूमिमा पनि आफ्नो चाड पर्वलाई पुर्खाबाट चलिआएको रितीरिवाजलाई कायम राख्दै रमाइलोसंग मनाउने प्रचलनमा ल्याएको पाईन्छ । गत शुक्रबारका दिन युएइका महिलाहरुले अबुधावीको सहरमा हरितालिका तीजलाई आफ्नो परम्परागत पहिरन रातो साडी र छडके तिलहरीमा सजिएर कम्मर मर्काई-मर्काई नाचेको देख्दा विदेशमा नभईकन स्वदेशमै भएको अनुभूति हुन्थ्यो । शुक्रबारे सार्वजनिक विदाका दिन भएकाले महिलाहरुको ठूलो जमघट हुनुका साथ हरेक महिलाहरुको चेहरामा उत्साह र रौनक देख्न सकिन्थ्यो । माइत गई दर खान नपाए पनि उनीहरुले स्टेजमा ढल्की-ढल्की नाचेर माइतीका तिर्सना मेटाएका थिए ।

नेपाली जनसम्पर्क समिति युईएको निमन्त्रणामा तीज मनाउन युईए आएकी सम्झना लामिछाने मगर कलेजी कलरको रातो साडी र हरियो छडके तिलहरीमा सजिएर हातमा माइक थाम्दै स्टेजमा आउदा उनको स्वागतमा दर्शकहरुले सिटी र ताली बजाए । उनले गाएको आफ़्नै एल्बमको “हाम्रै जरा खन्नेहरुलाई” र “जर्मन यूरोप” लोक दोहोरी गीत सोल्टीहरुलाई मन पर्‍यो भने “सिउदो चाही खाली ओठमा लाली” तीज गीतले महिलाहरुलाई स्टेजमा नचाए । खचाखच दर्शकहरुले भरिएको हलमा त्यो पनि अत्यधिक महिलाहरुको सहभागिता देख्दा सम्झना लामिछानेलाई पनि जोश र उत्साहमा देख्न सकिन्थ्यो । स्थानीय कलाकार रिजन थापाको नृत्यबाट थालनी भएको सांगीतिक कार्यक्रममा दीपक कुँवरको प्रस्तुति पनि निकै सान्दर्भिक लाग्थ्यो । “सिम्पल सिम्पल कान्छीको” गीतमा अनुराग थपलिया र देवी लामाको युगल जोडीको नृत्यले हलको माहौललाई नै रंगाएको थियो । निश्चलले गाएको “जहां तिमी त्यहां म” र “तुलसी आगनमा” गीतमा पुरुषहरुको नाच्ने भिडमा महिलाहरुले पनि साथ दिए । लोक दोहोरी साँझका कार्यक्रम प्रस्तोता तथा गायक प्रकाश सपूतको गीतले पसिनामा लोटपोट गरि नचाएको मात्र होइन आफ्नो मनमोहक अदाले दर्शकहरुलाई आकर्षित समेत गरेको थियो । दुर्गा तामाङ लगायत अन्य कलाकारहरुको प्रस्तुतिहरु पनि आकर्ष रहेको थियो ।

उक्त तीज कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदूत धनञ्जय झा रहेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाली जनसम्पर्क समिति युईएको अबुधावी क्षेत्रीय समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण गौतमले गरेका थिए । अन्य अतिथिहरुमा नेपाली दूतावासकी श्रमसहचारी हिरा पौडेल, नेपालबाट आएकी पद्यमकन्या क्याम्पसकी अध्यक्ष तथा नेपाली काँग्रेस महासमितिकी सदस्य स्वस्तिका पोखरेल, युईएका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवी, व्यवसायी, बुद्धिजीवि र पत्रकारहरु रहेका थिए ।तीज कार्यक्रमको साँस्कृतिक संयोजकमा चन्द्रबिक्रम सारु रहेको र केन्द्रीय अध्यक्ष चित्र केसीको शुभकामना मन्तव्यबाट थालनी भएको कार्यक्रमलाई प्रकाश सपुत र सविता बस्नेतले बीच-बीचमा जोक्स र गजल सुनाउदै सञ्चालन गरेकोमा सुनमा सुगन्ध थपिएको थियो ।****

 

तपाईको प्रतिक्रिया