बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो – नेपालमा शान्ति र संबिधान स्थापनाको कामना गर्दै नेपाली युवाहरुको एक टोलीले गत मंगलबार बिहान जापानको सबैभन्दा अग्लो पर्वत फुजिको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् ।

गत सोमबारको रात छिप्पिदैं गर्दा आधा दुनिया मस्त निद्रामा पुगिसकेको थियो । १५ जनाको नेपाली टोली भने जापानको अग्लो फुजि पर्वत चढ्नका लागि टोकियोबाट त्यसतर्फ प्रस्थान गर्‍यो । फुजि पर्वतको आधार शिविरसम्म उनीहरु सवारी साधनमा पुगेपनि त्यहाँबाट उनीहरु झण्डै ६ घण्टा पैदल यात्रा पुरा गरेर बिहानपख फुजिको चुचुरोमा पुग्न सफल भएका थिए । धर्तीमा पहिलोचोटी सूर्यको किरण पर्ने देश जापानमा उनीहरुले फुजि पर्वतको चुचुरोबाट सूर्योदयको पहिलो मनोरम झुल्को दृश्यावलोकन गर्दै प्रकृतिसंग स्पर्श गरे, रमाए ।

टोलीमा संलग्न १५ जना रहे पनि ८ जना मात्र फुजिको शिखरमा पुग्न सफल भएका थिए । बाँकी अरु भने फुजिको उकालो चढ्न नसकी यात्रा स्थगन गरेका थिए ।

टोकियोबाट जोन छन्त्यालको अगुवाईमा फुजि पर्वतको शिखर पुगेको टोलीले नेपालको राष्ट्रिय झण्डा फहराउँदै नेपालको शान्ति र संबिधानको कामना गरेका थिए । शिखरमा पुगेको टोलीमा दीपकबाबु नेपाल, लक्ष्मी नेपाल, रोहित रेग्मी, रोमी छन्त्याल, ओसामु कोबायासी, साना छन्त्याल र रिओ छन्त्याल रहेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अर्को पटक करिव ५० जनाको नेपाली टोली फुजि चढ्ने भावी योजना रहेको उनीहरुले बताएका छन् ।

जापानको यामानासी प्रिफेक्चर र सिजुओका प्रिफेक्चरको बिचमा पर्ने ३,७७६ मीटर उचाई भएको फुजि पर्वत जापानको सबैभन्दा अग्लो चुचुरो मानिन्छ । सफा मौसमका बेला टोकियो र योकोहामा सहरबाट फुजिको दृश्यावलोकन गर्न सकिन्छ । यस पर्वतको भू-बनोट ज्वालामुखी बिस्फोटबाट बनेको हुनाले बोटबिरुवा तथा बुट्यानहरु देखिदैन । असाध्यै हावाहुरी लाग्ने फुजिको चुचुरोमा त्यहाँको असन्तुलित हावापानी र तापक्रम कतिपयको स्वास्थ्यमा प्रतिकुल असर गर्ने हुँदा त्यहाँ पुगेपछि बिरामी पर्ने, सुनिने, घाउखटिरा आउने गरेको टोलीका एक सदस्यले बताए । गर्मीको याममा फ़ुजि पर्वत चढ्न उपयुक्त मौसम मानिन्छ । ***

 

तपाईको प्रतिक्रिया