बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – मुलुकमा राजनैतिक गतिरोध अन्त्यका लागि गोलमेच सम्मेलनको कुरा उठिरहेकै बेला राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जापानस्थित भात्तृसँस्था प्रवासी नेपाली संगठन (ओनो) जापानले आउँदो सेप्टेम्बर २ तारिख टोकियोमा समसामयिक राजनैतिक बिषयमा गम्भीर बहस गर्न गोलमेच बहस कार्यक्रम राखेको छ ।

‘राजनैतिक गतिरोध अन्त्यका लागि प्रवासी नेपालीको दायित्व’ बिषयमा घनिभूत बहस गर्न ओनो जापानले चियापान र दिवाभोजसहितको गोलमेच बहस गर्न लागेको सो संस्थाका अध्यक्ष रघुदीप खड्काले बताउनुभयो ।

मुलुकमा प्रमुख दलहरुबीच आपसी सहमति जुट्न नसक्दा राजनैतिक गतिरोध अन्त्य हुन नसकिरहेको बर्तमान परिप्रेक्ष्यमा बिद्यमान संक्रमणबाट मुलुकलाई निकास दिन ढिलै भएपनि प्रवासमा बस्ने नेपालीको के कस्तो भूमिका हुन सक्छ तत्सम्बन्धमा चिन्तन मनन र छलफल गरिनुपर्ने आवश्यकता महशुस गरी सो गोलमेच बहस कार्यक्रमको आयोजना गरिएको ओनो जापानले जनाएको छ ।

जापानका नेपालीबिच आपसी सद्भाव अभिबृद्धि गर्न भन्दै नेपाली काँग्रेसको जापानस्थित भात्तृसँस्था नेपाली जनसम्पर्क समिति जापानले गत आइतबार सद्भाव पिकनिकको आयोजना गरेको एक हप्ता नबित्दै राप्रपा नेपाल निकट ओनो जापानले गोलमेचको अवधारणा अगाडि ल्याएको हो ।

जापानमा संगठितरुपमा क्रियाशील बिभिन्न राजनैतिक पार्टीका भात्तृसँस्था तथा अन्य जिम्मेवार सामाजिक सँघसँस्थाका अगुवा प्रतिनिधिहरु, मिडियाकर्मीलगायत जिम्मेवार नेपालीहरु देशको बिद्यमान संबेदनशील परिस्थितिका सन्दर्भमा हुन गईरहेको गोलमेच बहसमा सरिक भई एउटा सचेत नागरिकले देखाउनुपर्ने मुलुकप्रतिको चिन्तन ब्यक्त गर्न उक्त गोलमेच बहसमा सहभागिताका लागि ओनो जापानले हार्दिक अपिल गरेको छ ।

गोलमेच बहस टोकियो ओमोरीस्थित सेईयु भवनको पाँचौं तल्लामा अपरान्ह १२ बजेदेखि ३ बजेसम्म हुने बताईएको छ । ***

 

तपाईको प्रतिक्रिया