शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
काठमाडौं- चर्चित भारतीय हाँस्य कलाकार भारती सिंह नेपालमा भदौ २ गते शनिवार हुने एउटा प्रदर्शनमा भाग लिन नेपाल आउने भएकी छन् ।
मारवाडी सेवा समिति अन्तर्गतको मारवाडी युवा मंच तदर्थ समितिको आयोजनामा काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुन लागेको युवा महोत्सवमा भाग लिन उनी नेपाल आउन लागेकी हुन् । विहान ११ बजेदेखि साँझ ६ बजे सम्म हुने सो मेलामा जादू, सांगीतिक कार्यक्रम, विभिन्न प्रकारका खेल लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिनुका साथै स्वादिष्ट खानाका स्टलहरु पनि राखिने जनाइएको छ ।
कार्यक्रममा मुख्य आकर्षकको रुपमा नेपाली मूलकी भारतीय हाँस्य कलाकार भारती सिंहको बेजोड हाँस्य प्रस्तुति रहनेछ । यसका साथै भारतको जयपुरबाट कठपुतली शो प्रदर्शन गर्ने कार्यक्रम पनि तय गरिएको छ । कार्यक्रममा फेशन-शो को पनि आयोजना गरिने भएको छ । सो कार्यक्रमबाट बालबालिका, युवा युवती सबै उमेर समूहका मानिसले पारिवारिक वातावरणमा भरपुर मनोरञ्जन प्राप्त गर्ने आयोजक मारवाडी युवा मंच तदर्थ समितिले अपेक्षा गरेको छ ।
कार्यक्रमबाट संकलित रकम नेपालका विभिन्न अनाथालयमा रहेका बालबालिकाहरुको लागि खाद्यान्न र शैक्षिक सामग्री जुटाउन खर्च गरिने मंचका अध्यक्ष संजय अग्रवालले जानकारी गराउनु भएको छ ।

तपाईको प्रतिक्रिया