बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं- मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालयका सचिव र कायममुकायम क्षेत्रीय प्रशासकमा हेरफेर गरेको छ ।

प्रधानमन्त्री कार्यालयको कार्यालय सिंहदरबारमा बुधबार साँझ बसेको सो बैठकले वन मन्त्रालयका सचिव नवीन घिमिरेलाई गृहमन्त्रालयमा सरुवा गरेको छ ।
त्यसैगरी सूचना तथा सञ्चार मन्त्रालयमा सूर्य सिल्वाल, लोक सेवा आयोगमा नाथु चौधरी, निर्वाचन आयोगमा ज्ञानदर्शन उदास, प्रधानमन्त्रीको कार्यालयमा धरणीधर खतिवडा तथा माधव रेग्मी र रक्षा मन्त्रालयमा तिलकराम शर्मालाई सरुवा गरेको छ ।
कृषिमा डा. गणेशराज जोशी, वनमा डा. कृष्णचन्द्र पौडल, सामान्य प्रशासनमा दुर्गानिधी शर्मा, सार्वजनिक खरिद कार्यालयमा धनबहादुर तामाङ र पर्यटनमा यज्ञप्रसाद गौतमलाई पदस्थापन गरिएको छ ।
बैठकले वरिष्ठ सहसचिवहरूमध्येबाट सुदूर पश्चिमाञ्चलमा डा हरि दाहाल, मध्यपश्चिमाञ्चलमा फुल्गेन प्रधान, पश्चिमाञ्चलमा नारायण गोपाल मलेगो, मध्यमाञ्चलमा रमेश विष्ट, पूर्वाञ्चलमा रणबहादुर श्रेष्ठलाई कायममुकायम क्षेत्रीय प्रशासकमा सरुवा गर्ने निर्णय गरेको छ ।
नेपाल प्रहरी अस्पतालमा रिक्त प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सोही अस्पतालका प्राविधिक प्रहरी नायब महानिरीक्षक डा रामनाथ सिंहलाई बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी मडागास्करमा अलपत्र परेका नेपाली नागरिकहरूलाई परराष्ट्र मन्त्रालयमार्फत स्वदेश फर्काउने र त्यसका लागि आवश्यक खर्चको व्यवस्था गर्ने निर्णय सरकारले गरेको छ ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवका अनुसार सरकारले तीस वर्षभन्दा कम उमेरका महिला कामदारलाई खाडी मुलुकमा श्रमिकका रूपमा जान नपाउने निर्णय गरेको छ ।
त्यसैगरी लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा कर्मास्याङ्बो शेर्पालाई पाँच वर्षका लागि मनोनयन गर्ने निर्णय भएको छ भने नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष डा. भेषराज कँडेलको राजीनामा स्वीकृत गरिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच रासनमा रहँदै आएको केही असमानतालाई वैज्ञानिक ढङ्गले समायोजन गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री यादवले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया