बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
साहित्यकार घनश्याम राजकर्णिकारको नवीनतम नियात्रा ‘यात्रा अमेरिकाकोः माया नेपालको’ माथि शनिबार अन्तक्र्रिया कार्यक्रम गरियो ।
डिकुरा प्रकाशनद्वारा प्रकाशित सो पुस्तकमा राजकर्णिकारले विसं २०६३ असार–साउनमा गर्नुभएको अमेरिका भ्रमणका बेलामा देखेभोगेका अनुभूति र मातृभूमिलाई गर्नुभएको सम्झना र माया समेटिएको छ ।
कार्यक्रममा वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठीले सरल, सहज तर कलात्मक शैलीमा राजकर्णिकारले नियात्रा लेखेको चर्चा गर्नुभयो ।
अर्का समालोचक प्रा डा माधवप्रसाद पोखरेलले अमेरिकामा विचार (आइडिया) लाई पनि बिक्रीको विषय बनाउने प्रचलनप्रति लेखकले व्यङ्ग्य गरेको र त्यस्तो संस्कार नेपालमा नरहेको बताउनुभयो । समीक्षक डा तारालाल श्रेष्ठले कृतिलाई एक हजुरबाको नातिनी भेट्ने चाहानाबाट प्रस्फुटित भएको विचार राख्नुभयो ।
लेखक राजकर्णिकारले आफूले विदेश भ्रमणमा रहँदा हरदम नेपाललाई शिरमा राख्ने गरेको र यही नै आफ्नो राष्ट्रप्रतिको आराधना हो भन्नुभयो ।
प्रकाशक संस्थाका अध्यक्ष पुण्यप्रसाद प्रसार्इँले छोटो समयमा नै सो कृतिको दोस्रो संस्करण मुद्रणको क्रममा रहेको जानकारी दिनुभयो ।
लेखकको यसअघि विदेशको यात्रा स्वदेशको सम्झना, देश प्रदेशको भ्रमण केही संस्मरण, सम्झनाको लहरमा लहरिँदै जाँदा, पवित्र सम्झना आमाको, बौद्ध तीर्थयात्राः नालन्दादेखि लुम्बिनीसम्म आदि कृति प्रकाशित छन् । नेपालको पहिलो पाउरोटी उद्योग कृष्ण पाउरोटी प्रालि(२००४)का अध्यक्ष ७१वर्षीय राजकर्णिकारले बौद्धदर्शनसम्बन्धी कृति पनि सम्पादन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया