शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
चितवन- राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वविशिष्ट व्यक्तिहरूलाई सरकारले घोषणा गरेको सेवा सुविधाको नागरिकस्तरमा विरोध हुनु स्वभाविक भएको बताउनुभएको छ ।
पार्टी कार्यालय उद्घाटन तथा युवा भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन चितवन आउनुभएका नेता थापाले आज भरतपुरमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै यस्तो बताउनुभएको हो ।
सीमित राजनीतिक दलले मुलुकमा राजनीतिक सिन्डिकेट खडा गरी ब्रम्हलुट गरिरहेको भन्दै अध्यक्ष थापाले त्यसको विरोधमा आम मानिसमा विरोध, असन्तुष्टि तथा वितृष्णा पैदा भएको र स्वयम् पूर्व प्रशासकहरूले समेत विरोध जनाएको बताउनुभयो ।
सेवा सुविधाको विरोध गर्ने पूर्वप्रशासक एवम् नागरिक समाजले जनताको भावनाको कदर गरेको भन्दै अध्यक्ष थापाले सबै क्षेत्रमा यसरी मानससँग सक्रिय हुन सके देशलाई ब्रम्हलुट गर्नेहरू पाखा लाग्ने बताउनुभयो ।
केवल विशिष्ट पदाधिकारीलाई दिने सेवा सुविधाका विषयमा मात्र केन्दि्रत नभई मुलुकको ढुकुटी रित्याउन लागिपर्नेका विरुद्धमा पनि उत्रन उहाँले सबैलाई अपिल गर्नुभयो ।
फरक प्रसङ्गमा अध्यक्ष थापाले संविधानसभा भङ्ग भइसकेको अवस्थामा नयाँ निर्वाचन गराउन क्रियाशील हुनुपर्ने समयमा केही सीमित दलहरूले आपसी सहमतिको नाममा एकाधिकार लाद्ने प्रपञ्च रचेको भन्दै कडा आक्रोश पोख्नुभयो ।

तपाईको प्रतिक्रिया