बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

बिशेष सम्पादकीय

जापानमा रहेका बिसौं हजार नेपालीहरुको यदि एउटा साझा कार्यक्रम बन्न सक्छ भने, त्यो हो नेपाल फेष्टिबल । तर यस बिषयमा नेपालीहरु अझै एक ठाउँमा उभिन नसकेको अवस्था छ । हामी नेपालीहरुमा त्यहाँसम्मको उच्च सोंच र बिशाल हृदय निर्माण हुन अझै २, ४ बर्ष कुर्नुपर्ने हो कि कुन्नि ? अझ साँच्चि नै भन्नुपर्दा हामीमा भएको शक्ति पनि बिखण्डित भएर खेर गईरहेको अवस्थामा घिस्रदों छ, आज जापानको नेपाली कम्युनिटी ।

हरेक बर्ष जापानीहरुलाई नेपाल चिनाउने, नेपाल घुम्न प्रेरित गर्ने र नेपालको बारेमा सक्दो जानकारी गराउने उद्देश्यले आयोजना गरिदैं आएको नेपाल फेष्टिबलको आफ्नै महत्व र गरिमा रहे पनि यसबारेमा जिम्मेवार ब्यक्तिहरुबाट बुझेर वा नबुझेर आ-आफ्नै ढंगले ब्याख्या र बिश्लेषण गरेको पाईन्छ । सोहीअनुसारको अभिब्यक्ति सार्बजनिक गरिदा मानिसहरुमा भ्रम उत्पन्न हुने र बिबाद सिर्जना हुने गरेका छन् । तथापि यस्तो समस्या यो बर्ष अलि बढि अर्थात सतहमै छताछुल्ल हुने गरी पोखिएको देखियो । यो दुखद पक्ष हो । आयोजकहरुले यसलाई सच्याउन कञ्जुष्यांइ गर्नुहुदैन । यद्यपि नमिलेका प्रक्रिया र पद्धतीका सम्बन्धमा भने बिरोधका लागि बिरोध र बिबाद मात्र सिर्जना गर्नुभन्दा सकारात्मक सल्लाह, सुझाव र सहयोगी भावनाले संबादको थालनी गर्नुपर्नेमा देशदेशान्तर अर्थात दुनियाँलाई रमिता देखाउने गरी कार्यक्रमलाई नै सार्बजनिकरुपमा बिबादमा तान्ने किसिमले दोहोरीमा उत्रनुले जापानबासी नेपालीहरुको हैसियत र एकताको कसी बिश्वभरका नेपालीले जाँच्ने मौका पाएका छन्, यसपाली । घरभित्रको मत-मतान्तर घरभित्रै समाधान गर्ने सँस्कारको बिकास गर्न यहाँका बुद्धिजीवीहरु राम्रैसंग चुकेका छन् । एउटा देशभित्र रहेका नेपालीहरुबिचको सामान्य आन्तरिक मतभिन्नतालाई सूचना र प्रविधि हातमा छ, उपलब्ध छ भन्दैमा सार्बजनिकरण नै गर्नुपर्छ भन्ने छैन । एकाध बर्षदेखि यो सँस्कारले अनावश्यक स्पेश पाएको हो कि भन्ने धेरैले लख काटेकै कुरा हो ।

उसो त नेपाल फेष्टिबलका सम्बन्धमा धेरै पहिलेदेखि मतैक्यता कायम हुन नसकिरहेको भने पक्कै हो । यहाँ रहेका दर्जनौ संघसंस्थाहरु सबै मिलेर संयुक्तरुपमा आयोजना गर्ने प्रयास पनि बिगतमा नभएको होईन । तर हाम्रो उता मुलुकमा जुन समस्या छ, सबैलाई सम्झाएर, बुझाएर, मिलाएर लैजान सक्ने एउटा बिशेष उचाई र वजन (हाईट र वेट) भएको राष्ट्रकै अगुवाको अभावमा कसैले कसैलाई नटेर्ने, कसैले कसैलाई नगन्ने र नपुछ्ने जुन समस्या छ, ठ्याक्कै त्यहि समस्या जापानमा पनि छ भन्दा अतिशयोक्ति नहोला । यहाँका जिम्मेवार अगुवाहरु पनि न आफुले अरुलाई कन्भिन्स गर्न सक्छन् न अरुबाट कन्भिन्स हुन सक्छन् फलस्वरुप यहाँ कसैले कसैको नेतृत्व वा अगुवाई स्वीकार्न तयार छैनन् । हरेक सामुहिक कार्यक्रम गर्दा होस् वा संयुक्त कार्यक्रमको खाका कोर्दा यसका गतिला उदाहरण धेरैपटक छरपष्टिएकै हुन् ।

जे भएपनि नेपाली कम्युनिटीको भलो चाहने हरेकको चाहना हुन्छ, मेलमिलाप, एकता र सद्भाव् । यसैको जगमा टेकेर नेपालीहरु अब एकताको सन्देश दिन सक्नुपर्छ यसैपालीको नेपाल फेष्टिबलबाट । आ-आफ्ना स्वार्थसिद्ध र सस्तो लोकप्रियताको खेतीपातीबाट भने माथि उठ्नैपर्छ यस्ता साझा अभियानका अभियान्ताहरु । थोरै भएपनि त्याग देखाउनैपर्छ समाज परिबर्तनका संबाहकहरु, अनि चार कदम अगाडि बढ्न एक कदम पछाडि सर्न पनि जान्नुपर्दछ र कहिलेकाँही जितेर पनि हार्न जान्नुपर्दछ भने कहिलेकाँही हार्दाहार्दै पनि जित्न जान्नुपर्दछ भन्ने कुरालाई ध्यानमा राख्दै अबका नेपाल फेष्टिबलहरु अझ परिष्कृत र एकताबद्ध बनाउनका लागि यो बर्षको फेष्टिबल आधारस्तम्भकारुपमा स्थापित हुन सक्नुपर्दछ । यहाँका अगुवाहरुबिचको सुझबुझपूर्ण एकता र सहकार्यबाट नै जापानको नेपाली समाजको रुपान्तरण संभव छ । यहाँ मौलाएका बिसंगति र बिकृतिलाई बेलैमा रोक्न एकता भन्दा अचुक औषधी अर्को केहि छैन, एकताको बलबाट नै मेलमिलाप र सद्भावको मलजल गर्दै हाम्रो समाज बदल्न सक्नुपर्दछ ।

नेपाल र नेपालीको स्वाभिमान र सिंगो राष्ट्रको प्रतिष्ठा जोडिएको नेपाल फेष्टिबललाई जापानमा नेपालीहरुले शिर ठाडो पारेर एउटा गौरव गर्न लायकको गरिमामय महामेलाकोरुपमा बिकास गर्न जरुरी छ, यस्तो शुभकार्यको थालनी यसपालीबाटै किन नगर्ने  ? ***

 

तपाईको प्रतिक्रिया