मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

म नेपालीको छोरी भएर पनि जापान मै जन्मिए, हुर्किंए । पढाइ पनि जापानमै सकियो र काम पनि उतै गर्दैछु । म नेपालीकी छोरी हुं, तर मेरो रहनसहन जापानी नै छ । मेरो नेपाली भाषा त्यति राम्रो छैन । मलाइ नेपाल धेरै मन पर्छ । समय मिलाएर म नेपाल आइरहन्छु । नेपाल आउँदा यहाँका रमाईला ठाउँहरु घुम्न जान र नेपाली साथीभाइलाइ भेट्न मनपर्छ।

आज भन्दा पाँच छ वर्ष अघि नेपाली भाषा सिक्नको लागि नेपालमा मेरो बसाइ लगातार डेढ वर्षजति भएको थियो । नेपालको राम्रो क्याम्पस मध्य विश्वभाषा क्याम्पसमा नेपाली भाषा पढेको थिएँ । त्यहाँ पढ्दा राम्रो विचार भएको नेपाली साथीहरु पाएँ । डेढ वर्षको मेरो नेपाल बसाईमा एउटा रमाइलो अनुभव के रह्यो भने नेपाली सँस्कृति चालचलन सिक्न र बुझ्नको लागि नै मैले सोह्रखुट्टेमा एउटा कोठा लिएर बसेको थिएँ । त्यहीबाट आफ्नो कलेज (विश्वभाषा) जाने आउने गर्थेँ । त्यही क्रममा मेरो कोठा नजिकै एउटा दिदीले तरकारी बेच्नुहुन्थ्यो । म उहाँकै तरकारी पसलबाट सँधै तरकारी किन्ने गर्थें । हाम्रो चिनजान नजिकिदै जाँदा ती दिदीले मलाई प्रायः सँधैजसो मैले किन्ने गरेको तरकारीमाथि अलिकति बढि सित्तैमा राखिदिनुहुन्थ्यो । मलाई अचम्म लाग्थ्यो । जापानमा त यस्तो मन भएको मानिस पाउन पनि सकिदैन। यहाँको नेपालीको मन साह्रै राम्रो । एक आपसमा सहयोगको भावना हुने । ‘तिमीलाइ अप्ठ्यारो परेको छ ? ‘ भनेर सँधै सोध्ने पवित्र मनले मलाइ नेपालीप्रति सँधै शिर झुकाउँछ । नेपालप्रतिको मेरो दायित्वकारुपमा केही सहयोग हुनुपर्छ भन्ने भावनाले गर्दा मेरो बुवा (देवमान हिराचन) को संस्था एसोडेकमा सहयोग गरिरहेको छु । गाउँ गाउँका गरिव बालबालिकाको लागि शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको एसोडेकले विभिन्न जिल्लामा गरी सत्रवटा स्कुल बनाइदिएको छ । जसमा मैले पनि मेरो कमाइबाट केही रकम एसोडेक मार्फत गाउँका गरिव बच्चाहरुलाई छुट्याएर सहयोग गर्दै आएको छु । त्यस्तै प्रवासी नेपालीहरुले स्थापना गर्नुभएको ग्लोवल क्यापिटल इन्भेष्टमेन्ट कम्पनीमा पचास लाखको सेयर राखेको छु, जसले गर्दा नेपालको आर्थिक क्षेत्रमा केही सहयोग पुग्न सकोस् । अझ मेरो पहल के रहनेछ भने जापानमा रहेका मेरा जापानी साथीहरुलाई नेपालमा लगानी लगाउन प्रेरित गर्ने रहेको छ । हिमाल, पहाड, तराइ र विभिन्न चराचुरुङ्गी, रङ्गीविरङ्गी फूल, विभिन्न जातजाति भएको हाम्रो देश नेपाल सांच्चै नै गौरव गर्न लायक छ । खाने कुराका अनेक परिकारदेखि जातैपिच्छेका भेषभूषाले पनि जो कोहीलाई आकर्षित गर्नु स्वभाविकै हो । जापान बाहेक म विभिन्न अन्य केही मुलुकमा पुगेको छु जहाँ आफ्नोपन, हाँसो, ठट्टा, रमाइलो कहिल्यै देख्न पाइदैन । झन जापानमा त त्यस्तो पटक्कै छैन । कोही साँचो जीवन जिउन चाहान्छौ भने नेपालमा जाऊ भनेर पनि मैले जापानी साथीहरुलाइ बेलाबेलामा भन्ने गरेकी छु ।

म अनलाइनमा समाचार पढ्दाखेरि होस् या मेरो बुवा (देवमान हिसाचन) ले भनेअनुसार र मेरो नेपाल आउजाउको क्रममा मैले के पाएँ भने जापानीहरु आफ्नो देशको लागि काम गर्छन् तर नेपालमा नेपालीहरु आ-आफ़्नो लागि मात्र काम गर्छन् देशको लागि होइन । हाम्रो देशको विकास नहुनुमा यो पनि मुख्य कारण हो जस्तो मलाइ लाग्छ । जापानीहरु पहिला देशको विकास अनि मात्र आफ्नो भन्ने सोचाइ राख्छन् तर मैले नेपालमा त्यस्तो पाइँन । मलाइ नेपालको बिग्रदो राजनीति अवस्था देखेर चिन्ता लाग्छ । मेरो बुवाले नेपालको सबै कुराको बारेमा जानकारी गराइरहनुहुन्छ । सुदुरपूर्वदेखि सुदुरपश्चिमका बालबालिकाहरुले पढ्न पाएका छैनन्, राम्रो औषधि उपचार पाएका छैनन् । त्यसैले पनि बेलाबेलामा झाडापखालाको महामारीले गर्दा कैयौंले ज्यान गुमाउनुपरेको घटना सबैलाई थाहा भएकै कुरा हो । नेपाल सरकारले त्यस्तो गम्भीर समस्यालाई महत्वका साथ हेरेको जस्तो मलाई लाग्दैन । उदाहरणको लागि लिन सकिन्छ, भरखरै नेपाल सरकारले पास गरेको बजेट मैले इन्टरनेटमा सर्च गरेर हेरेको थिएँ, त्यस बजेटमा पिछडिएका जिल्ला र वर्गलाई विषेश छुट्याउनुपर्नेमा त्यो मैले पाउन सकिन ।

त्यसैले मैले के भन्न खोजेको हो भने म जापानमा बसेर यहाँ नेपालमा विभिन्न क्षेत्रमा गरेको लगानीबाट आएको पैसाले नेपालका गरिव केटाकेटीहरुलाई शिक्षा, अपाङ्ग, अनाथ, वृद्धाहरुलाई सहयोग गर्न चाहान्छु । त्यो मेरो ठूलो सपना हो । हामी धर्मको नाउँमा भगवान खोज्न मन्दिर पुग्छौ, तर ती अनाथ अपाङ्ग नै हाम्रा लागि भगवान हुन् । हामीले चिन्न नसकेको मात्र हो । हामीले भोकालाई खान दियौं भने मात्र त्यो खानेकुराको वास्तविक स्वादको महत्व हुन्छ । अघाएको मान्छेको लागि खानाको स्वाद पनि हुदैन र महत्व पनि हुँदैन । म नेपालप्रति सँधै सहयोग गर्न र मेरा सीपहरु नेपालका विभिन्न ग्रामिण भेगमा गएर सिकाउन चाहान्छु । म सँधै नेपाल र नेपालीको साथमा रहन चाहान्छु । ***

 

तपाईको प्रतिक्रिया