शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
काठमाडौं- निर्वाचन आयोगको फोटोसहित मतदाता नामावलीमा मन्त्री, प्रधानमन्त्रीदेखि शीर्ष नेताहरुले आफ्नै नाम छुटाएका छन्। यस्ता नेताले निर्वाचन प्रक्रियामा मतदातालाई कसरी सामेल गराउलान्र ?
मतदाता नामावलीमा नाम दर्ता नगराउने नेताले नयाँ संविधानसभाको चुनाव भयो भने उम्मेदवार बन्न त के, मतदान गर्न समेत पाउने छैनन्।
आयोगले फोटोसहित मतदाता नामावलीको राष्ट्रिय अभियानमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुदेखि प्रधानमन्त्री बाबुराम भट्टराई र उनका मन्त्रीहरुले समेत सामेल भएका रहेनछन्। त्यही कारण निर्वाचन आयोगले तयार पारेको फोटोसहितको मतदाता नामावली सूचीमा उनीहरुको नाम भेटिँदैन।
कांग्रेस सभापति सुशील कोइराला, महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले सचिव युवराज ज्ञवाली, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, एकीकृत माओवादीका नेता कृष्णबहादुर महरालगायत नेता निर्वाचन आयोगको मतदाता सूचीमा समेटिएका छैनन्।
संविधानसभा चुनावको बेला मतदाता नामावलीमा नाम भएकाले अर्को चुनावमा मतदान गर्न र उम्मेदवारी दर्ता गर्न पाउने कतिपय नेताको बुझाइ छ। त्यही कारण फोटोसहितको मतदाता नामावली संकलनमा सामेल नभएको एकीकृत माओवादीका नेता कृष्णबहादुर महरा बताए।
‘अघिल्लो चुनावमा रोल्पा जिल्लाबाट मतदाता नामावलीमा छ,’ उनले नागरिकसँग भने, ‘फेरि नाम लेखाउनु पर्छ ररु पर्छ भने सम्झाइदिनुभएकोमा धन्यवाद।’
आयोगले चुनावलाई स्वच्छ, निष्पक्ष र वैज्ञानिक बनाउने भन्दै गत वर्षबाट फोटोसहितको मतदाता नामावली संकलन अभियानलाई वडा तहसम्म पुर्‍याइसकेको छ। त्यसको प्रचार-प्रसारमा पनि मोटो धनराशि खर्चिएको छ। आयोगको प्रचार नेताहरुकहाँ समेत पुगेको रहेनछ।
नेताहरुले फोटो खिचाउने मौका अझै गुमाइसकेका छैनन्। संविधानसभाको विघटनसँगै सरकारले जेठ १४ गते मध्यराति नयाँ चुनावको मिति घोषणा गरेपछि आयोगले फोटोसहितको मतदाता नामावली संकलन अभियान जिल्लाहरुमा दोहोर्‍याइरहेको छ।
एमाले सचिव युवराज ज्ञवालीले यसअघि नै कलंकीमा फोटोसहितको मतदाता नामावली खिचाएको दाबी गरे। ‘मैले कलंकीमा फोटो खिचाएको हुँ,’ उनले भने, ‘आयोगले मेरो नाम छुटाइदिएछ कि क्या हो ?’
उसो त सरकारमै रहे पनि आयोगको अभियानमा असन्तुष्टि जनाउँदै उपप्रधानमन्त्री गच्छदार, आपूर्तिमन्त्री राजेन्द्र महतो, भौतिक योजना तथा निर्माणमन्त्री हृदेयश त्रिपाठीसहितका मधेसी नेताहरुले फोटोसहितको नामावलीमा सहभागिता जनाएका छैनन्।
‘नागरिकता वितरण र फोटोसहितको नामावली एकैसाथ तयार पार्नुपर्ने मधेसी दलहरुको आग्रह आयोगले स्वीकार गरेन,’ महतोले भने, ‘त्यसैले अभियानमा सामेल भएनौं।’
एमाले अध्यक्ष झलनाथ खनाल, नेता केपी ओली, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे,, नेकपा माओवादीका महासचिव रामबहादुर थापा, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीसहितका नेताहरुले भने फोटोसहितको नामावलीमा नाम दर्ता गराएका छन्।
आयोग प्रवक्ता शारदाप्रसाद त्रितालले मतदानका लागि उमेर पुगेका सबै नागरिक समान भएकाले नेताहरुलाई विशेष व्यवस्था नगरिएको बताए। ‘सम्माननीय राष्ट्रपतिज्यूले पनि केही समय अघि मात्र फोटो खिचाउनुभयो,’ उनले भने, ‘शीर्ष केही नेताहरुले नाम दर्ता नगराएको हुनसक्छ। नत्र उहाँहरुको नाम आयोगको वेभसाइटमा हुन्थ्यो।’ आयोगको इलेक्सन डट जिओभी डट एनपीमा फोटोसहितको मतदाता नामावली हेर्न सकिन्छ।

तपाईको प्रतिक्रिया