बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
काठमाडौं–जघन्य अपराधमा जेलमा परेका दुई कुख्यात अपराधीले भित्रबाटै धम्की र फिरौतीको धन्दा चलाइरहेका छन् । बैक डकैती तथा लागुऔषध मुद्दामा जेलका रहेका टासी लामा र हातहतियार तथा विस्फोटक मुद्दामा जेलमा रहेका रामप्रसाद मैनालीले जेलबाटै धम्की दिँदै सहयोगीमार्फत फिरौती उठाएका हुन् ।
डिल्लीबजार जेलमा रहेका कैदी टासीले कान्तिपुर सहकारीका अध्यक्ष सिबी लामालगायतका सञ्चालकलाई धम्क्याएका हुन् । जेलभित्रैबाट दुई दर्जन युवा परिचालन गरी उनले सहकारीका प्रबन्धक प्रेम लामालाई अपहरण प्रयाससमेत गरेको स्रोत बताउँछ । ‘दुई करोड माग्दै टासीले जेलभित्रबाटै फोनमा धम्की दिए,’ सहकारीनिकट स्रोतले भन्यो ।
लामाले सहकारीबाट ऋण लिने विषयमा कुरा गरेको र ऋण नमिलेपछि धम्क्याएको स्रोत बताउँछ । कमसल जग्गा राखेर दुई करोड निकाल्न लागेका तर नमिलेपछि धम्क्याएर पैसा मागेको स्रोतको भनाइ छ । त्यसरी निकाल्न लागिएको
टासी जेलभित्रैबाट पटकपटक आपराधिक गतिविधिमा संलग्न भएका व्यक्ति हुन् । बैंक डकैती मुद्दामा केन्द्रीय कारागारमा रहेका वेला उनी दरबारमार्गको कफी सपमा लागुऔषधसहित पक्राउ परेका थिए । जेलभित्र पनि अन्य कैदीबन्दीलाई सताएपछि उनलाई एक वर्षअघि भीमफेदी कारागारमा सरुवा गरिएको थियो । भीमफेदी कारागारमा पनि अन्य कैदीलाई कुटपिट गरेपछि उनलाई रौतहट कारागारमा सरुवा गरिएको थियो । त्यहाँ पनि उनले अदालतको नक्कली चिठी बनाएर छुट्ने प्रयास गरेका थिए ।
रौतहटबाट सोर्सफोर्स लगाएर उनी दुई महिनाअघि डिल्लीबजारमा सरुवा भएका हुन् । सरुवा भएलगत्तै उनले धम्क्याउने धन्दा सुरु गरेका हुन् । उनीमाथि महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त बानेश्वरले अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानमा जेल प्रशासनकै सहयोगमा उनले भित्रैबाट अवैध गतिविधि सञ्चालन गर्दै आएको खुलेको छ ।
त्यस्तै केन्द्रीय कारागारमा रहेका डिफेन्स आर्मीका अध्यक्ष मैनालीले पनि जेलबाटै आफ्ना सहयोगी परिचालन गरी विस्फोटन र फिरौतीको आतंक मच्चाएको खुलेको छ । मैनालीका सात सहयोगीलाई प्रहरीले हतियारसहित पक्राउ परेपछि सो तथ्य खुलेको हो । विराटनगरमा विस्फोटको तयारी गरिरहेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी० र महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी अधिकारीले पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेहरूमा डिफेन्स आर्मीका मोरङ अध्यक्ष पुलिस विश्वास, केन्द्रीय उपाध्यक्ष राम भण्डारी, प्रमोद महतो, केन्द्रीय कोषाध्यक्ष दिनेश भण्डारी, तथा अन्य सक्रिय सदस्यहरू काठमाडौंका कविराज अर्याल, रुपन्देहीका रविन श्रेष्ठ र मोरङका जीवन राई छन् । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्नहरूमाथि अनुसन्धान गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । बम हत्याको अनुसन्धान गर्न गठन भएको एआइजी कुबेरसिंह राना संयोजकत्वको छानबिन समितिले उनीहरूलाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा केन्द्रीय कारागारको गोलघरमा रहेका मैनालीकै निर्देशनमा उनीहरूले चन्दा उठाउनका लागि विराटनगरको बसपार्क र सार्वजनिक स्थानहरूमा बम विस्फोटको तयारी गरिरहेका थिए । महानगरीय प्रहरी आयुक्त कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा दुईवटा पेस्तोल, चारवटा राइफलको गोली, ६ वटा पेस्तोलको गोली, करिब दुई केजी विस्फोटक पदार्थ र डिफेन्स आर्मीका पर्चाहरू भेटिएको प्रहरीले जनाएको छ । घटनामा जेलमा रहेका सो गिरोहका अध्यक्ष मैनालीबारे भने थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी देवेन्द्र सुवेदीले बताए ।
जेलभित्र हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विगत एक महिनाबाट राजधानीका तीनैवटा जेलमा सिसिटिभी जडान गरेको थियो । तर पनि जेलभित्रैबाट अपराध गर्ने प्रवृत्ति भने नघटेको पछिल्लो दुई घटनाले देखाएको छ ।

तपाईको प्रतिक्रिया