बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

१० महिनामा ५ आत्महत्या, ४ कालगति, १ हत्या, २ बेपत्ता

जापानमा नेपालीहरुको संख्या यतिखेर बढ्दै गईरहेको स्थिति हो । यो संख्या अहिले करिव २० हजारको हाराहारीमा रहेको बिभिन्न तथ्यहरुबाट थाहा हुन्छ । बैदेशिक रोजगार ताकेका नेपालमा रहेका बेरोजगार युवाहरुको ठूलो जमातको जापान पहिलो रोजाईमा पर्ने मुलुक हो । लाखौ नेपालीहरुको लामबन्दीबाट दैनिक २ हजार युवाहरु त्रिभुवन विमानस्थल हुँदै बाहिरिने गरेको तथ्य हाम्रोसामु छ । ती मध्य थोरै मात्र नेपालीहरु रंगिन सपना मनभरि सजाउँदै जापान आईपुग्छन् । तर जापानमा भने परिस्थिति अलि भिन्न छ । जापानको वास्तविक स्थितिका बारेमा नेपालमा रहेका नेपालीहरुलाई जानकारीको अत्यन्तै अभाव छ । त्यहि अज्ञानताको फाईदा उठाउँदै मध्यस्थकर्ताहरुको नाममा हुने चलखेल एवं चंगुलमा सर्बसाधारणहरु पर्ने गरेबाट पनि यहाँ समस्याहरु थपिएका छन् । नेपालमा रहेका नेपालीहरुका लागि जापानको यथास्थितिका बारेमा जानकारी दिने सन्दर्भमा जापानमा रहेका नेपालीहरुले पनि खासै चासो र चिन्ता जाहेर गरेको पाईदैन । मिडियामार्फत बिभिन्न लेख रचनाहरुबाट यहाँको वास्तविकताबारे सत्यतथ्य जानकारी गराउने, तत्सम्बन्धि बिभिन्न कार्यक्रमहरुको आयोजना गर्ने जस्ता पहलकदमीको अहिले टड्कारो आवश्यकता देखिन्छ ।

अधिकाँश नेपालीहरु जापान आउनका लागि ठूलो धनराशी खर्च गरेर बिभिन्न उपायहरु अवलम्बन गरी ठुलै जोखिम मोलेर आएका हुन्छन् । जापान आएर आकर्षक कमाई गरेर सुन्दर भबिष्यको निर्माण गर्ने धेरैको सपना वास्तविकतासंग ठ्याक्कै मेल खाँदैन । अनि त्यसपछि बिभिन्न समस्याहरु उत्पन्न हुन थाल्छन् । जुन सोंच बोकेर मानिस यहाँ आएको हुन्छ, त्यो भन्दा स्थिति जटिल भईदिन्छ । त्यसपछि बिभिन्नखाले समस्याहरुले मानिसलाई चिथोर्न थाल्छ । ती समस्याहरुको समयमै उचित ब्यवस्थापन हुन नसक्दा उत्पन्न हुने सामाजिक समस्या, आर्थिक समस्या, पारिवारिक समस्याका कारण आपसमा बेमेल, मनमुताव र वैमष्यताले घर बनाउँदै जान थालेपछि मानिसमा बेतृष्णा बढ्दै जानु स्वभाविकै हो । त्यसको पनि कुनै न कुनैरुपमा समयमै सम्बोधन हुन सकेन भने मानिस एकोहोरिने, जीवनदेखि हरेस खाने, आत्मबल कमजोर बनाउदैं जाने, आफ्ना समस्याहरु अरुसंग नबाँड्ने, आफैका लागि आफ्नो जीवन बोझ भएको अनुभूति गर्ने जस्ता समस्याहरुले मानसिकरुपमा भित्रभित्रै थिलोथिलो पर्ने र अन्तमा मानिसले जानअनजान, भावनामा वा आवेशमा अप्रिय निर्णय गर्न पुग्दछ । यहि शृँखला अहिले जापानमा भईरहेको छ भन्दा अतिशयोक्ति नहोला, यद्यपि कारण र कारक तत्व भने फरक होलान्, त्यो अलग कुरा हो ।

अर्कोतिर पारिवारिक समस्या पनि जापानमा पहिलेको भन्दा निकै बढ्दै गईरहेको स्थिति हो । श्रीमान श्रीमती अर्थात सपरिवारनै जापानमा बस्ने चलन अहिले ह्वाट्टै बढेको छ । जापानमा लामो घण्टाको कामका कारण कहालिलाग्दो ब्यस्तता, परिवारका लागि यथेष्ट समयको अभाव, यहाँको खुल्ला एवं स्वतन्त्र समाज र रंगीचंगी दुनिया, नेपाली समाजमा हुर्कदों पश्चिमी सभ्यताको देखासिकी, आ-आफ्नै कमाईका कारण चाहिनेभन्दा बढि ब्यक्तिगत स्वतन्त्रता, सामाजिक सञ्जाल लगायतका सूचना र प्रविधि सम्बन्धि सुबिधाको दुरुपयोग जस्ता कारणबाट पनि नेपालीहरुबिचको सुमधुर मानवीय सम्बन्धमा धेरथोर डिष्टर्ब गरेको देखिन्छ । जसले गर्दा बिशेषगरी कतिपय श्रीमान श्रीमती वा लाईफ पार्टनरबिचको सम्बन्धमा पनि नकारात्मक असर परेको पाईन्छ । यिनै कारणहरुबाट पनि कालान्तरमा समस्या विकराल बन्न पुगेका उदाहरणहरुसमेत हाम्रो समाजमा बिद्यमान छन् ।

त्यसैले डिप्रेशन, फ़्रष्टेशन, कसैको टर्चर, असैह्य पींडा जस्ता कारण जेसुकै भनिए पनि अमूल्य जीवनलाई अनाहकका खेर फाल्नु भनेको कायरता हो । भनिन्छ, साहसीहरु उकालो चढ्छन, अगाडि बढ्छन, एकदिन सफलताको शिखर चुम्छन अनि दंग पर्छन, तर कायरहरु सँधै आफुलाई कमजोर ठान्दछन, अघि हैन, पछि पछि सर्छन अनि एकदिन हरेस खाँदै अप्रिय निर्णय गर्छन । त्यसैले स्थिति जस्तोसुकै जटिल मोडमा भए पनि उच्च मनोबलका साथ यो धर्तीमा जन्म लिएर पृथ्वीको एक जिम्मेवार सदस्य हुन पाएकोमा आफुलाई धन्य ठान्दै हिम्मत र साहसका साथ आफुले गरेको कर्ममा सफलताको शिखर चुम्ने अभिलाषा हरेक मानिसमा हुनु आवश्यक छ ।
यसै सन्दर्भमा गत २०११ को सेप्टेम्बर महिनादेखि जुलाईको यो पहिलो सातासम्म आईपुग्दा करिव १० महिनाको अन्तरालमा १० जना नेपालीले जापानभूमिमा आफ्नो इहलिला त्याग गरेका छन् । दुखका साथ भन्नुपर्छ, यो नेपाली समुदायका लागि अत्यन्तै नयाँ रेकर्ड हो । मृत्युवरणको कारण आत्महत्या गर्नेहरुको सँख्या उच्च रहेको छ भने कालगति दोश्रोमा रहेको छ । त्यसपछि यो बर्ष हत्यामा परेर पनि १ नेपालीले ज्यान गुमाएका छन् । यो अर्को दुखद बिषय हो । यसैगरी केहि बर्षदेखि बेपत्ता रहेका १ जना महर्जन थरकी नेपाली चेलीको अहिलेसम्म पत्ता लाग्न सकेको छैन भने अर्का म्याग्दीका देवबहादुर घर्ति पनि गत बर्षको मार्च महिनादेखि सम्पर्कबिहिन छन् उनी सकुशल छन वा यो धर्तीमै छैनन् अझै पत्ता लाग्न सकेको छैन ।  पछिल्लो १० महिनामा जापानमा ज्यान गुमाउनेहरुको घटनाक्रमको विवरण यहाँ उल्लेख गरिएको छ :-

 १. दीपक गौतम, लुखुदेउराली (कालगती)
कुक भिसामा जापान आएका पर्वत लुखुदेउरालीका सामान्य जीवनभन्दा धेरै दयनिय अर्थात करिव होमलेस अवस्थामा पुगेका दीपक गौतमलाई गत बर्षको शुरुमै जापानको नेपाली कम्युनिटीले आर्थिक सहयोग संकलन गरी नेपाल फिर्ता पठाएको थियो । उनी ५, ७ महिनापछि फेरि जापान आएका थिए । उनी मानसिकरुपमा करिव क्षतबिक्षत भईसकेका थिए । त्यसैले त उनी कामधन्दा गरी जिविकोपार्जन गर्ने अवस्थामा थिएनन् । अन्तमा, उनको बेवारिसे अवस्थामा सार्बजनिक स्थल पार्कतिर दुखद निधन भयो । उनको दाहसँस्कार पनि जापानकै स्थानिय निकायले गरेको थियो ।

 २. चन्द्र घर्तिमगर बागलुङ, गल्कोट (कालगति)
कुक भिषामा जापान आएको दुइ महिनामै ३३ बर्षीय बाग्लुङ गल्कोट निवासी चन्द्र र्घर्ति मगरको गत अक्टुबरमा नागोयामा मृत्यु भयो । सुरुमा ज्वरो आएको र खकारमा रगत समेत देखिएपछि क्षयरोगको आशंका गरिएकोमा अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा डाक्टरले मुटुको भल्ब फ़ेर्न पर्ने बताएका थिए । उनको निधन हुनुभन्दा १८ दिनअघि मात्र आइचीकेन अस्पतालमा शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि अचेत अबस्थामा रहेका र्घर्ति मगरको आईसीयुमा उपचार भइरहेको र उपचारको लागि सहयोग जुटाउन नेपाली समुदाय सक्रिय रहिरहेको अवस्थामा उनको निधन भएको थियो । र्घर्ति मगरका तीन छोराछोरी र एक श्रीमती नेपालमा छन् ।

३. निरज श्रेष्ठ (आत्महत्या)
गत २४ नोवेम्बरमा जापानको इवाराकी केनमा एक नेपालीले आत्महत्या गरेका थिए । स्थानिय प्रहरीले टोकियोस्थित नेपाली दूतावासलाई गराएको जानकारीअनुसार जापानी नागरिकसंग बिबाहित निरज श्रेष्ठले आफ्नै निवासस्थानमा आत्महत्या गरेका हुन् ।

 ४. बिष्णु धमला, काठमाडौं (हत्या)
गत माघेसंक्रान्तिको बेला ओसाकामा एक नेपालीको हत्या भयो । काठमाडौं निवासी करिव ४० बर्षीय बिष्णु धमलाको हत्या भएको जानकारी घटनास्थलबाट तुल्सीराम खरेलले दिनुभएको थियो । जापानी श्रीमती भएका धमला एकदशक अगाडिदेखि जापानमै थिए । रेष्टुरेन्ट ब्यवसायमा संलग्न रहेका धमला माघेसंक्रान्ति मनाउनेक्रममा रेष्टुरेन्टमै खाईपिई गरी बिहानको ४ बजेतिर कोठामा फ़र्कदैं गर्दा उनीमाथि ४ जनाको समूहमा आएका जापानीहरुले आक्रमण गर्नुका साथै सांघातिक कुटपिट गरी उनको हत्या गरेका थिए । हत्यामा संलग्न २ जना जापानीहरुलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो भने बाँकी २ जना फरार भएपनि पछि गिरफ्तारीमा परेका थिए । हत्यामा संलग्न ४ जनाको समूहमा २ जना महिला रहेका थिए । रेष्टुरेन्टबाट कोठामा फ़र्कनेक्रममा धमलासंगै उनका २ जना स्टाफ पनि संगै थिए । प्रहरीले आक्रमणकारीहरुको कुटपिटबाट धमलाको मृत्यु भएको पुष्टि गरेको थियो । ओसाकाको तेन्नोजी सिटीको मात्सुजाकी चो मा पर्ने “नेपाली भान्साघर” नामको रेष्टुरेन्टका मालिक धमलालाई आक्रमणकारीहरुले पछाडिबाट आई अन्धाधुन्ध कुटपिट गरी हत्या गरेका थिए । तर स्थानिय जापानी मिडियाले भने आपसमा झगडा हुँदा गम्भीर चोट लाग्न गई निधन भएको भन्ने गलत समाचार छापेको भन्दै स्थानिय नेपालीहरुले बिरोध जनाउनुका साथै सच्याउन दबाब दिएपछि सच्याईएको थियो ।

५. योगेन्द्र गैरे, बागलुङ नरेठाँटी (आत्महत्या)
साईतामा केनको तोदा क्षेत्रमा रहेको एउटा नदिमा तैरिरहेको अवस्थामा एक जना नेपाली मृत अवस्थामा फेला परेका थिए । उनी बागलुङ जिल्ला नरेठाँटी – ३ का योगेन्द्र गैरे भएको प्रहरीबाट पछि पुष्टी भएको थियो । ३ बर्ष अगाडि कुक भिसामा जापान आएका गैरे केही समयदेखि बेरोजगार अवस्थामा रहेको बुझिएको थियो । उनी कामको खोजीमा फुकुओका, फुकुसीमा हुँदै साईतामा आईपुगेका थिए । प्रहरीले उनको पहिचान गरेपछि नेपाली दूतावासमा जानकारी गराएको थियो । बेरोजगारी अवस्थामा रहेका गैरै अधिक मादक पदार्थ सेवन गर्ने कुलतमा फसेका थिए । उनको नेपालमा बाबा, आमा, श्रीमती र २ छोरा छन् । उनको मृत्युको कारण पानीमा डुबेर भएको प्रहरीले बताएको थियो । छानबिनअनुसार गैरेले नदिमा हाम फालेर आत्महत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको थियो । गैरेको शरिरमा कुनै चोटपटक नलागेको र हत्या भन्न मिल्ने त्यस्तो कुनै प्रमाण नभेटिएकोले आफै पानीमा हाम फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीले बताएको थियो । गैरेको शव नजिकैको नदिमा तैरिरहेको अवस्थामा स्थानिय केटाकेटीहरुले देखेपछि प्रहरीमा खबर गरेको र प्रहरीले उनको पहिचान गरेपछि नेपाली दूतावासमा खबर गरेको थियो ।

 ६. दिलबहादुर खड्का, बागलुङ बलेवा (कालगति)
आजभन्दा ५ बर्ष पहिले बिजनेश भिसामा जापान आएका बागलुङ बलेवाका दिलबहादुर खड्काको गत मई २२ को बिहान ५ बजेतिर टोकियो इतावासी कु मा पर्ने ओयामा अस्पतालमा निधन भयो । उनी बागलुङबाट बसाई सराई गरी काठमाडौं आएका थिए । करिव ४४, ४५ बर्षका खड्का लामो समयदेखि जण्डिस रोगले ग्रसित थिए । सोहीदिनको बिहान ४ बजेतिर अचानक असजिलो महसुस भएपछि श्रीमतीसहित अस्पताल पुगेका खड्का अस्पताल पुगेपछि बेहोस भई ढलेका थिए र त्यसपछि उनलाई डाक्टरहरुले मृत घोषित गरेका थिए । टोकियो ताबातामा दिलसागर नामको रेष्टुरेन्ट चलाउँदै आएका खड्का केहि महिना अगाडि मात्र रेष्टुरेन्ट बिक्रि गरेका थिए । जापान आउनुअघि खड्का लामो समयसम्म अष्ट्रेलियामा बसेका थिए । स्वर्गिय खड्काको श्रीमती जापानमै छिन् भने ५ बर्षीय एउटी छोरी नेपालमा छिन् ।

 ७. लाक्पा शेर्पा सोलुखुम्बु (आत्महत्या)
गत जुन महिना लाग्दै गर्दा नागोयामा सोलुखुम्बुका लाक्पा शेर्पाले आत्महत्या गरे । शेर्पाले श्रीमतीसंग मनमुताव भई बिछोडिनु परेको पीडा खप्न नसकी आत्महत्याको बाटो रोजेको सुसाइड नोटमा लेखेका थिए । उनले छोडेको सुसाइड नोटमा श्रीमतीसंग ठूलो झगडा परी छुट्टिनुपरेको बिछोडको पींडा खप्न नसकी आत्महत्याको बाटो रोजेको उल्लेख गरिएको थियो । २९ बर्षीय लाक्पा ७ बर्ष अगाडि जापान आएका थिए । उनी आईची केनको कोमाकी सिटीमा बस्दै आएका थिए ।

 ८. बालकुमार बानिया म्याग्दी (कालगति)
म्याग्दी जिल्ला सिंगा गाबिस बगुवा घर भई रोजगारीका सिलसिलामा साढे दुइ बर्ष अगाडि जापान आएका बालकुमार बानियाको अघिल्लो महिना टोकियो नाकानो अस्पतालमा निधन भएको थियो । ४९ बर्षीय बानिया हेपाटाईटिस बि रोगले ग्रस्त थिए । केहि बर्ष अगाडिदेखि काठमाडौको सामाखुशी माछापोखरीमा बस्दै आएको बानिया परिवारका ३ छोराहरु डोलेन्द्र, गणेश र पुरण यहि जापानमा छन् भने श्रीमती नेपालमा छिन् । उपचारकैक्रममा नाकानो अस्पतालमा बानियाको मृत्यू भएको हो ।

 ९. अमृता थापा, अर्घाखांची (आत्महत्या)
अर्घाखांची धारापानी गाबिस फलामखिल्ली घर भै टोकियो आसागयामा बस्दै आएका अमृता थापा मगरले गत २७ जुनको राती आत्महत्या गरेकी हुन । ११ महिना अघि जापान आएकी २५ बर्षीय अमृताले आफ्नै कोठाको बाथरुममा आत्महत्या गरेको बताईएको थियो । ४ बर्ष अघि जापान आएका रेष्टुरेन्ट क्षेत्रमा रोजगाररत श्रीमान चेतनारायण थापासंग अमृता आसागयमा बस्दै आएका थिए । थापा दम्पतीका नेपालमा ९ बर्षीय छोरी छिन् ।

 १०. ललित साहनी (बिष्णु) बागलुङ (आत्महत्या)
बागलुङ जिल्ला गल्कोट मल्म – ७ घर भएका ३८ बर्षीय ललित साहनी (बिष्णु) ले यहि जुलाई ५ मा साइतामाकेनमा आत्महत्या गरे । प्राप्त जानकारीअनुसार उनले आत्महत्या गर्ने बारे फेसबुकमा अग्रिम संकेत गर्दै भनेका थिए – “यो मेरो अन्तिम तस्वीर हुने छ ।” उक्त दिनको बिहानपख ३ बजेतिर साहनीले उक्त म्यासेज अपलोड गरेका थिए । आत्महत्या गरेका साहनी सन २००० को जुलाईमा कुक भिसामा जापान आई ओसाकामा रहँदैं आएका थिए । उनी ६ महिना अगाडि मात्र साइतामाकेनमा बसाईसराई गरी श्रीमतीसहित तोक्रोजावामा बस्दै आएका थिए । जापानको स्थायी भिसा प्राप्त गरेका साहनी दम्पतीले जापानी कम्पनीमा काम गर्दै आएका थिए । साहनी दम्पतीका ४ बर्षीय एक छोरी नेपालमा छिन । साहनीको गत आइतवार तोकोरोजावामा अन्त्येष्टी गरिएको थियो ।

 देवबहादुर घर्ति, म्याग्दी (बेपत्ता)
परिवारलाई सुख दिउँला, बालबच्चालाई राम्रो नानाचाचा र राम्रै स्कुलमा पढाउँला भन्ने सपना मनभरि बुन्दै १५ लाख छनछनी गनेर जापान आएका म्याग्दी ज्यामरुककोट-१ बौरका देवबहादुर घर्ती बिगत १ बर्षदेखि बेखबर छन् । उनको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । यद्यपि उनको परिवार भने उनी आउने बाटो हेर्दै दिन गनेर बसिरहेको छ ।

“लालपुर्जा राखेर १५ लाख खर्च गरेर जापान जानुभएको आउने दशैंमा २ बर्ष पुग्छ, महिनादिनपछि १ पटक फोन र अलिपछि ९० हजार दाम पठाउनुभा’को थियो, त्यसपछि अत्तोपत्तो छैन’- गहभरि आँशु लिदैं श्रीमती लिलाकुमारी घर्तीले फोनमा भनिन् “यहाँ बालबच्चाको बिचल्ली एकातिर छ भने अर्कोतिर ऋणको भारीले थिच्दै ल्याएको छ । तर हरेस भने खाएकी छैन, एक दिन त पक्कै घर फर्केर आउनुहुनेछ भन्ने आशा र भरोसामा बाँचिरहेकी छु । मलाई बिश्वास छ, मेरा देवता जस्ता देवबहादुरलाई भगवानले एकदिन घर पठाईदिने छन् ।’

३४ बर्षीय देवबहादुरका १२ र ८ बर्षका २ छोरी छन् भने उनी जापान आएर बेखबर भएपछि जन्मेको एउटा छोरो काखमा छ । घरमा छोरो जन्मेको खबरसमेत थाहा छैन, देवबहादुरलाई ।

४ दाजुभाइमध्यका कान्छो देवबहादुरका दाजुहरु पनि सबै बिदेशमै भएकोले समयमै उनको सोधीखोजी गर्न नसकिएको लिला बताउँछिन् । देवबहादुर जापान भित्रिएको लगत्तै जापानमा ठूलो भूकम्प र सुनामी आएको थियो । उक्त घटनामा परेर जापानमा हजारौंले ज्यान गुमाएका थिए । कतै त्यहि भूमरीमा परेर घर्तीले यो धर्ति छोडिसकेका पो हुन कि भनेर शंका गर्ने ठाउँ प्रशस्त भए पनि त्यतिबेला देवबहादुर जापानको कुन शहरमा थिए, के काम गर्थे भन्ने बारेमा समेत उनको परिवार अनभिज्ञ छ । उनलाई चिन्नेजान्नेहरु जापानमा धेरै नै भएपनि जापानमा कसैले नभेटेको बताउँछन् । अझ अचम्मको कुरा त उनलाई कुक भिसामा जापान कसले ल्यायो, कुन रेष्टुरेन्टमा आए भन्ने बारेमा पनि परिवारसंग स्पष्ट जबाफ छैन ।

“बिबाह गरेको १४ बर्ष भयो, बूढी सासू र छोराछोरीको जिम्मेवारी त छँदैछ, साहुको ऋण कसरी चुक्ता गर्ने भन्ने पिरलोले सताईरहन्छ, तर पनि किन हो किन मेरा पति एक दिन टुप्लुक्क घर आउने आशा भने मरेको छैन’ – भक्कानिदैं लिलाले भनिन् – “जापानमा हुनुभएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले मेरा श्रीमान देवबहादुरलाई भेट्नुभयो वा उहाँको बारेमा केहि थाहा पाउनुभयो भने खबर गरी सहयोग गर्नहुन हार्दिक अनुरोध गर्दछु । डाँडापारिको घामजस्तै बृद्धाआमा जापान गा’को छोराको बाटो हेरेकोहेर्यैछिन् । जापानमा रेष्टुरेन्ट भएका गुरुङथरका नेपालीले देवबहादुरलाई जापान उडाएको हो भन्ने मैले सुनेकी थिए । यी सबै कुराको सोधीखोजी गर्न अब छिट्टै काठमाडौं जाँदैछु’ – लिलाले भनिन् – “आवश्यक परे कूटनीतिक पहलबाट भए पनि सोधीखोजी गर्न हारगुहार गर्ने विचार गरेकी छु ।”

 

तपाईको प्रतिक्रिया