बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

नेपाली राजनीतिमा गुटबन्दीको खेलले दलहरुको हैसियत र साइज बेलामौकामा खुम्चिने र तन्कने गरेको पाईन्छ । संबिधानसभाको निर्बाचनबाट सबैभन्दा ठुलो दलको पगरी गुथ्न पुगेको एकीकृत नेकपा माओवादी यस्तै गुट, उपगुटको गोलचक्करमा फसेपछि अन्ततः दई चिरामा बिभाजित भएरै छोडेको छ । बिभिन्न कालखण्डमा फरक फरक पृष्ठभूमिका समुह तथा उपसमुहहरुको एकताबाट देशकै ठूलो पार्टी बन्ने सौभाग्य पाएको एमाओबादीले संबिधान सभाबाट संबिधान बनाउने भन्ने आफैले उठाएको एजेण्डा पुरा नगर्दै आफ्नै नेतृत्वमा सरकार भएको बेलामा संबिधानसभाको अवसान हुन पुगेको छ, भने स्वयम एमाओबादी पार्टी बिभक्त हुन पुगेको छ । ऐतिहासिक जनआन्दोलन र जनयुद्धका उपलब्धिहरु नयाँ संविधानमार्फत संस्थागत गर्न नसक्दा खेर जाने अवस्थामा छन् ।

अग्रगामी परिवर्तनको कित्तामा उभिएका शक्ति थप एकताबद्ध र संगठित हुनुपर्ने बेलामा बिभाजित हुने र एकआपसमा सिगौंरी खेल्ने जस्ता हास्यास्पद क्रियाकलापहरु जुन अहिले भईरहेका छन्, त्यो अत्यन्त अशोभनीय छ र समग्र मुलुक र मुलुकबासीका लागि हानिकारक छ । लामो समयसम्म हतियार बोकेको पृष्ठभूमि र संगीन कालखण्ड पार गरेर आएका त्यागी र पाका नेताहरु भएको पार्टीमा देखिएको पछिल्ला उरेन्ठेउला खालका चर्तिकलाले अहिले नेपाली जनतामा ज्यादै निराशा र बितृष्णा छाएको छ ।ईतिहासले सुम्पेको जिम्मेवारी मिलेर पुरा गर्ने बेलामा आफु आफुमा एकले अर्कालाई नङ्ग्याउने खेल शुरु भईरहेको छ । जसले गर्दा परिबर्तनको एजेण्डालाई अगाडि लैजानका लागि खर्चिनुपर्ने ऊर्जा एकले अर्कालाई सिध्याउने र भण्डाफोर गर्न मै खर्च हुने स्थिति देखा परेको छ । जसबाट सबैभन्दा ठूलो नोक्सानी प्रगतिशील परिवर्तन चाहने नेपाली जनताको कित्तामा जाने पक्का छ भने सबैभन्दा धेरै लाभ चाहिं यथास्थिति र प्रतिगमन चाहने शक्तिलाई हुने छ ।

अर्कोतिर पार्टी बिभाजनका लागि यस्तो संबेदनशील समय रोजिएको छ कि, संबिधान सभाको अवसान हुन गई मुलुक संबैधानिक संकटमा फसेको बेला पार्टी बिभाजनको रडाकोले देशले थप राजनीतिक जटिलता भोग्नुपरेको छ । यी र यस्ता ऐतिहासिक महत्व राख्ने बिषयमा जिम्मेवार नेताहरु बेलैमा जिम्मेवार बनेर देश र जनताको हितमा काम गर्ने दिशामा अबको राजनीति केन्द्रित हुनु आवश्यक छ ।

सबैभन्दा ठूलो र सबैभन्दा धेरै जनताले आशा र भरोसा गर्ने भनिएको पार्टीभित्र सल्केको गुट र उपगुटको फोहोरी एवं घिनलाग्दो राजनीति बेलैमा चिरफार हुनु आवश्यक छ भने नेकपा एमाले र नेपाली काँग्रेसको फुटपछिको जुट अपरिहार्य भएकोबाट पाठ सिक्दै एकताबाट मात्र परिबर्तन संभव छ भन्ने कुरालाई दृष्टिगट गरी फेरि पनि एउटै कित्तामा उभिन सकेमा मात्र हजारौं सहिदको रगतले क्षमा गर्नेछन् । नत्र तिनै सहिदका परिवार र बेपत्ता योद्धाहरुले जनयुद्धको औचित्य पुष्टि गर्न लगाउने छन् या हिजो टाउकोको मोल तोकिनेहरु आज सत्ता, भत्ता अनि केवल कुर्सीका लागि पार्टी फ़ुटाएको अभियोगले आजीवन डामिने छन् । ***

 

तपाईको प्रतिक्रिया