शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – नेपालको भाटभटेनीलगायतका हाउजिङ प्रोजेक्टहरु सम्पन्न गरिसकेको रोड शो रियल स्टेट कम्पनी’ले आफ्नो हाउजिङ बिजनेशलाई जापानमा प्रबर्द्धन गर्ने उद्देश्यले गत आइतबार टोकियोमा एक सेमिनार सम्पन्न गरेको छ ।

सेमिनारमा सो कम्पनीका वरिष्ठ मार्केटिङ म्यानेजर ताराबहादुर गुरुङले कम्पनीले हालसम्म सम्पन्न गरेका प्रोजेक्टहरुको बारेमा जानकारी गराउनुका साथै पोखराको दीप हाउजिङ, चितवनको यज्ञपुरी र रञ्जना ट्रेड सेन्टर जस्ता निर्माणाधिन प्रोजेक्टहरुका बारेमा स्लाईड शो मार्फत बिस्तृत जानकारी गराउनुभयो ।

सो अवसरमा उहाँले ’दीप हाउजिङ’ प्रोजेक्ट अन्तर्गत पर्यटकीय नगरी पोखराको लामाचौर क्षेत्रमा गण्डकी बोर्डिङ स्कुल नजिकै ६१ रोपनी क्षेत्रफलमा डिपार्टमेन्ट स्टोर, स्वीमिङ पुल, गल्फ प्लाजा, २० भन्दा बढि क्याफे एण्ड बार, हेल्थ क्लव, पार्किङ, तथा कम्युनिटी हल, सुरक्षाको ब्यवस्थासहितको सुबिधा सम्पन्न ३६ वटा अपार्टमेन्ट र १०८ वटा लक्जरी हाउस निर्माण गर्न गईरहेको जानकारी गराउँदै उक्त प्रोजेक्टको हाल सम्म करिव ३० प्रतिशत काम भईसकेको बताउनुभयो ।

यसैगरी उहाँले न्यूरोड नजिकैको रञ्जना सिनेमा हलले चर्चेको झण्डै ३० हजार वर्गफिट क्षेत्रफलमा ६ तले रञ्जना ट्रेड सेन्टर निर्माण हुने र सो भवनको जमिनमुनि ३०० भन्दा बढि मोटरसाईकल र झण्डै ७७ वटा गाडि पार्किङ रहने जानकारी गराउँदै १ तलादेखि ५ तलासम्म हरेक तलामा ७५ वटा पसल राख्न सकिने सटर रहने र छैठौं तलामा सिनेमा हल र बालबालिकाहरुको खेल्ने ठाउँ निर्माण गरिने बताउनुभयो । यसैगरी उहाँले चितवनको यज्ञपुरीमा पनि हाउजिङका लागि करिव ६५ रोपनी जमिन लिई काम शुरु भईरहेको जानकारी गराउनुहुँदै लगानीका लागि आह्वान गर्नुभयो ।

यस अघि कार्यक्रममा कम्पनीका जापान प्रतिनिधि बिनोद शेरचनले उपस्थित महानुभावहरुलाई हार्दिक स्वागत गर्नुभएको थियो । कार्यक्रमका बिशेष अतिथि एनआरएन केन्द्रका कोषाध्यक्ष भवन भट्ट र एनआरएन जापानका अध्यक्ष ओम गुरुङ र सो कम्पनीका सल्लाहकार माधव घिमिरेले पनि प्रोजेक्टका बारेमा बोल्नुभएको थियो । सेमिनार सो कम्पनीका प्रेमबहादुर रावतले सञ्चालन गर्नुभएको थियो । सेमिनार पश्चात रात्रीभोजको ब्यवस्था रहेको थियो । ***

तपाईको प्रतिक्रिया