शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

१८ बर्षपछि खुशी फर्कियो परिवारमा

टोकियो – एक जापानी महिलाको हत्या अभियोगमा १५ वर्षदेखि बन्दी जीबन बिताउदै आएका गोविन्दप्रसाद मैनाली टोकियो उच्च अदालतको आदेशमा जापानको जेलबाट रिहा भएपछि जुन १५ तारिख शुक्रवार दिउसो सपरिवार स्वदेश फ़र्कनुभएको छ । मैनाली शनिबार दिउँसो साढे १२ बजे काठमाडौं पुग्नेछन् ।

उहाँले आफू निर्दोष रहेकाले आफू विरुद्धको मुद्दाको पुनरावलोकनका लागि निवेदन दिनुभएको थियो । अदालतले त्यही निवेदनमाथि सुनुवाइ गर्दै जुन ७ मा उहाँलाई जेलमुक्त गरेर मुद्दाको पुनरावलोकन गर्न आदेश दिएको थियो । त्यही आदेशले मैनाली तत्कालै योकोहामा जेलबाट रिहा हुनुभयो र भिसा नभएकाले अध्यागमनको रोहवरमा पुग्नुभयो । जापानस्थित नेपाली दूतावासले विहिबार उहाँको यात्रा अनुमति पत्र तयार गरिदिए पछि श्री मैनाली आफ्नी श्रीमती राधा मैनाली र दई छोरीहरुका साथ १८ वर्षपछि जन्मभूमि फ़र्कनु भएको हो ।

अदालतको निर्णय सुन्न उहाँका परिवार केही दिन अघि जापान आइपुग्नु भएको थियो । मैनाली परिवारको नेपाल फ़र्कने हवाईटिकट लगायतका तारतम्य उहाँकै नाममा गठित सहयोग समितिले गरेको हो । गोविन्द सहयोग समितिका मुख्य व्यक्तित्वहरु जापानी नागरिक क्याकुनो, हासुमी, खातागावा र राजन प्रधानाङ्ग पनि उहाँहरुलाई पुर्‍याउन गोविन्द मैनालीसंगै नेपाल जानुभएको छ ।

गोविन्द मैनालीले आफू निराशलाग्दो लामो जेलजीबन विताएका कारण मानसिकरुपमा निकै थकित भएको कुरा उहाँका परिवार र सहयोग समितिका सदस्यहरुमार्फत सार्वजनिक गर्दै तत्काल मिडिया लगायतका भिडभाडबाट टाढा रहन चाहेको बताउनुभएको छ । उहाँको यतिखेरको सबैभन्दा ठूलो धोको बृद्धावस्थामा रहनुभएकी जन्मदिने आमालाई भेट्नु रहेको छ । उहाँका पिता ५ वर्षअगाडि नै बितिसक्नुभएको छ । श्री मैनालीले आफ्नो १५ वर्षको जेलजीवनका बारेमा नेपाली, जापानी र अंग्रेजी भाषामा स्मारिका प्रकाशन गर्ने सोंच बनाउनुभएको उहाँकी श्रीमती राधाले हामीसँगको भेटमा बताउनुभयो । उहाँले अगाडि भन्नुभयो – ’हामी केही समय एकदमै पारिवारिक वातावरणमा सामान्य जीवन जीउन चाहन्छौं ।’ यो नै श्रीमानको ईच्छा रहेको मैले बुझेकी छु ।’

यता गोविन्द मैनालीको निवेदनमाथि सुनुवाइ हुने जानकारी पाएदेखि नै जापानी मिडियाहरुको ध्यान उहाँमाथि निकै तानिएको छ । उहाँलाई जेलमुक्त गर्ने फैसला भएदेखि नै जापानी टीभी र पत्रपत्रिकाहरुले यस विषयका समाचार र टिप्पणीहरु प्रमुखरुपमा उठाउँदै आएका छन् । यो घटनाले जापानको न्यायप्रणाली र अपराध अनुसन्धान पद्धतिमाथि समेत अनेक किसिमका प्रश्न उठिरहेका छन् भने सम्बन्धित निकायहरुलाई दवाव बढेको बताइन्छ । उहाँ नेपाल फ़र्कने समाचारले उहाँको पारिवारिक मिलन जापानी समाजमा प्रस्तुत गर्न थुप्रै जापानी पत्रकारहरु नेपाल पुगिसकेको र मैनालीसँगै पनि दर्जनभन्दा बढी मिडियाकर्मीहरु साथै गएको जानकारीमा आएको छ । उनीहरु १८ वर्ष पछिको श्रीमती, छोरीहरु, बृद्धाआमा र सिंगो परिवारसँगको पुनर्मिलनको पहिलो क्षण कैद गर्न निकै आतुर बनेको पाइएको छ ।

आजीवन कारावासको कहालीलाग्दो अवस्थाबाट मुक्त भए पनि मैनालीको मुद्दा अझै पुनरावलोकनको अवस्थामा भएकाले पूर्णरुपमा सफाई भने मिलिसकेको छैन । तर यस बीचमा गरिएका डिएनए लगायतका नयाँ परीक्षणहरुले श्री मैनालीलाई निर्दोष सावित गरिसकेका छन् र अदालतले पनि तिनै तथ्यहरुलाई हेरेर पुनरावलोकनको आदेश दिएकाले उनी छिट्टै पूर्णरुपमा निर्दोष सावित हुने अपेक्षा गरिएको छ । मैनाली नेपाल गए पनि यता उहाँ विरुद्धको मुद्दा उहाँका वकिलहरुले हेर्ने भएका छन् । मैनाली सहयोग समितिका एक जना मुख्य व्यक्ति जापानी नागरिक इमाइ क्योहेइका अनुसार अव उनको मुद्दाको पुनरावलोकन प्रक्रिया पुरा हुन कम्तिमा एक वर्षेखि बढीमा ३ वर्ष सम्म लाग्न सक्छ । मुद्दाको अन्तिम फैसलामा मैनालीले पूर्णरुपमा सफाइ पाए भने उनले अनाहकमा जेलमा विताएको पीडादायक १५ वर्षको क्षतिपूर्तीको दावी पनि उनका वकिलहरुमार्फत नै हुनेछ । जापानको कानूनअनुसार क्षतिपूर्ति दैनिक एकहजार येनदेखि १२ हजार येनसम्म हुनसक्ने बताईन्छ । त्यसको फैसला पनि अदालतले नै गर्ने भएकाले अहिले नै क्षतिपूर्तीको कुरा गर्न हतार हुने धारणा मैनाली सहयोग समितिका सदस्य श्री इमाइको छ ।

नेपाल फर्कने क्रममा टोकियोस्थित नारिता विमानस्थलमा मैनाली (बीचमा) । तस्विरः एएफपी

सन् १९९४ को फेब्रुअरी २८ मा ३ महिने पर्यटक भिसामा जापान उत्रिएका मैनालीलाई सन् १९९७ मार्चको शुरुमा भिसा नभएको कारण पक्राउ गरिएको थियो भने पछि टोकियो इलेक्ट्रिक पावर कम्पनीकी ३९ वर्षिय एक महिला कर्मचारीलाई बलात्कार गरी चालिस हजार जापानी येनका लागि हत्या गरेको अभियोग लगाएर अदालती कार्यबाही शुरु गरिएको थियो । तर २ वर्षपछि उनी निर्दोष भएको फैसला भए पनि उनलाई इमिरेशनमा थुनियो र पुनः अर्को रिट हालेर सोही मुद्दामा पूर्पक्षका लागि थुनामा राखियो र सन् २००३ मा उच्चन्यायलयमा उनी विरुद्ध मुद्दा दायर गरियो । उच्चन्यायलयले २००५ मा उनलाई दोषी ठहर गर्दै आजीवन काराबासको फैसला सुनाएदेखि उनी आफू निर्दोष रहेको बताउँदै योकोहामा जेलमा जेलजीवन बिताइरहेका थिए । उनको सहयोगका निम्ति गठित जापानी तथा नेपालीहरुको गोविन्द मैनाली सहयोग समितिले उनी निर्दोष भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको भए पनि अदालतले अघिल्लो फैसला सदर गरेपछि उनी जेलमुक्त हुने आशा धुमिल बन्दै गएको थियो । तर पनि उनका वकिल र सहयोग समितिले २००५ मा नै टोकियो उच्चन्यायालयमा डिएनए लगायतका थप प्रमाणहरुको छानविनसहित यो मुद्दाको पुनरावलोकन गरिदिन निवेदन दिएको थियो । यसबीचमा गरिएका अनुसन्धानबाट हया गरिएकी महिलाको शरिरबाट लिइएको र्‍याल र अन्य पदार्थ गोविन्द मैनालीको डीएनएसंग नमिलेको देखिएको थियो ।

मैनालीको रिहाइले जापानस्थित नेपाली समुदायमा खुसीको लहर छाएको छ । यो घटनाले लामो समयदेखि नेपालीको इज्जतमा लागेको एउटा कालो धब्बा हटेको छ । जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले आफ्नो निवासमा गोविन्द सहयोग समितिका जापानी तथा नेपालीहरुको सम्मानमा मैनाली नेपाल फ़र्कनु अघिल्लो साँझ रात्रिभोजको आयोजना गरी उहाँहरुको निरन्तर सहयोगका लागि आभार प्रकट गर्नुभएको छ । त्यसअवसरमा राजदूत डा. भट्टराईले मुद्दा अझै अदालतमै रहेकाले पूर्णरुपमा सफाई नपाउञ्जेल खासगरी जापानी मित्रहरुको सहयोगले निरन्तरता पाउने आशा राखेको बताउनुभयो । सोही अवसरमा श्रीमती राधा मैनाली एवं एनआरएन जापानका अध्यक्ष ओम गुरुङ लगायत त्यहाँ उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले पनि गोविन्द सहयोग समितिका जापानी मित्रहरुले पुर्‍याउनु भएको योगदानको खुलेर प्रशंसा गर्दै उहाँहरुको योगदानका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यसै अवसरमा गोविन्द सहयोग समितिकी एकजना प्रमुख जापानी नागरिक क्याकुनोले अदालतले एक पटक निर्दोष भनिसकेको व्यक्ति त्यो पनि विदेशी नागरिकलाई पुनः दोषी ठहर्‍याउँदै बन्दी बनाएकाले जापानको न्यायप्रणाली ठीक भएन भन्ने लागेर सहयोगको लागि समिति गठन गरेको खुलासा गर्नुभयो । यसै प्रसंगमा मैनालीका अर्का सदस्य इमाइले हामी धन्यवादका पात्र नभएर जापानी हुनुका नाताले मैनालीलाई यतिका बर्षसम्म कुराउनु परेकोमा उल्टै क्षमा माग्न चाहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया