शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
राजेश हमालले अभिनयको २५ वर्षे यात्रा पूरा गरेका छन्। २०४४ सालमा काठमाडौंको एउटा तारे होटलमा फेसन सोका लागि उनी  र्‍याम्पमा उक्लिएको देखेपछि उनका निर्माता मामा दीपक रायमाझीले राजेशलाई चलचित्र ‘भाग्यरेखा’ मा अनुबन्धन गरेका थिए। कृष्टि मै नालीको अपोजिट भएर एक साता अभिनय गरेपछि अचानक राजेश र कृष्टि दुवैलाई भाग्यरेखा टिमले चलचित्रबाट आउट गरिदियो। आरोप  थियो, ‘विदेशबाट पढेर आएको यो केटोले हाम्री हिरोइनसँग ज्यादै लसपस गर्‍यो।’ १८ वर्षको उमेरदेखि नै युवतीको संगत गरेका राजेशका  लागि उक्त आरोप हाँसउठ्दो थियो। ‘म जवान युवक, विदेशमा हुर्किएका कारण युवतीसँग कुरा गर्नु अपराध हुन्छ भन्ने कल्पनासम्म थिएन।’  राजेशले २५ वर्षअघिको घटना सम्झँदै भने, ‘म त आउट भएँ ठीकै छ, तर कृष्टिजीको कुनै अपराध थिएन। उहाँ मभन्दा सिनियर कलाकार,  स-सानो भूमिका निर्वाह गर्दै बल्ल-बल्ल सोलो हिरोइन बन्न लागेकी उहाँलाई पनि निकालेेपछि मैले उहाँका लागि चलचित्र टिमसँग माफी  मागें।’ हमालले माफी मागेपछि सबैलाई लाग्यो, ‘लसपस त भएकै रहेछ, नत्र किन माफी माग्थ्यो ?’ यही तीतो अनुभवका साथ चलचित्र क्षे त्रमा आएका हमाल आज पछाडि फर्केर हेर्दा अचम्ममा पर्छन्, ‘मैले हेर्दाहेर्दै कलाकारलाई हेर्ने दृष्टिकोण फेरियो, चलचित्रकर्मीको विचार फे रियो र चलचित्रको मानक पनि फेरियो।’
राजेश हमालले नेपाली चलचित्रको एउटा युगलाई प्रतिनिधित्व गर्छन् भनिन्छ, यो कतिसम्म सत्य हो ?
केही हदसम्म सत्य हो। म जुनबेला नेपाली चलचित्रमा प्रवेश गरें, नेपालमा थोरै मात्र चलचित्र बन्थे। जति बन्थे, ती व्यावसायिक उद्देश्यले  बनाइँदैनथे। चलचित्र क्षेत्रमा मेरो प्रवेश र यसको व्यावसायिक सुरुवात एकैपटक भएकाले मलाई पहिलो व्यावसायिक कलाकार मान्न सकिन्छ।
२५ वर्षअघि पहिलो चलचित्रबाटै निकालिँदाको अनुभव कस्तो थियो, डिप्रेस्ड हुनुभयो ? 
अलिकति दुःख लाग्नुपर्ने हो, तर लागेन। चलचित्र मेरो रुचिको विषय थियो, तर जीवन यसैमा बिताउनुपर्छ भन्ने बाध्यता थिएन। सायद सम्पन्न  परिवारको छोरो हुँ, भविष्यको चिन्ता छैन भन्ने भावना थियो होला। कृष्टिजीलाई आउट गरेकोमा भने दुःख लागेको थियो। उहाँ मभन्दा  सिनियर कलाकार, स-सानो अभिनय गर्दै पहिलो पटक सोलो नायिका हुनुभएको थियो, मेरा कारणले उहाँले निकालिनुपर्‍यो। मैले चलचित्रको  टिमसँग मलाई आउट गरे पनि उहाँलाई नगरिदिनुहोस् भनेर अनुरोध पनि गरें, तर मानेनन्। त्यसमा चाहिँ दुःख लाग्यो।
पहिलो गाँसमै ढुंगा लागेपछि के गर्नुभयो ?
हो, भाग्यरेखाबाट आउट हुनु पहिलो गाँसमै ढुंगासरह थियो, तर पनि म आशावादी थिएँ। मैले कसैसँग गुनासो गरिनँ, निर्माता मामासँग पनि।  सम्भवतः मेरो यही बानीका कारण चलचित्र युगदेखि युगसम्ममा त्यही टिमले मलाई नायकका रूपमा अनुबन्ध गर्‍यो। संयोग कस्तो पर्‍यो भने  भाग्यरेखामा जुन टिमले मलाई हिरोइनसँग लसपस गर्‍यो भनेर आरोप लगाएको थियो, त्यही टिमले मलाई सिफारिस गरेको रहेछ।
त्यसबीचको डेढ वर्ष कसरी बिताउनुभयो ?
भाग्यरेखाको सुटिङ चितवनमा भएको थियो, त्यहीं म आउट भएँ। चितवनमै मेरो मावली हजुरआमाको मौजा थियो, त्यहीं गएर बसें। त्यसपछि  बुबासँग बस्न दिल्ली गएँ। बुबाले म चलचित्रबाट आउट भएको थाहा पाइसक्नुभएको रहेछ क्यारे, चलचित्र क्षेत्रको भूत अब त उत्रियो होला  नि भनेर कराउनुभयो। मैले सबै थोक छाड्न सक्छु तर यो क्षेत्र छाड्दिनँ भनेर फिल्मी शैलीको डायलग मारें। अनि उहाँले पनि मलाई फिल्मी  शैलीबाटै घरबाट निकालिदिनुभयो।
घरबाटै निकालि दिनुभयो ?
हो, दिल्लीको सरकारी क्वार्टरबाट। मैले कूटनीतिक बुवाको छोरा भएका नाताले जुन सरकारी सुविधा पाउँथे, त्यो बन्द भयो, खर्च पनि पाउन  छाडें।
मैले पहिलो पटक आमव्यक्ति कसरी बाँच्छ, पैसा नहुँदा पनि कसरी बस्न सक्छ भन्ने अनुभव गरें।
त्यसपछि के गर्नुभयो ?
अस्ट्रेलियाबाट नेपाल घुम्न आएकी एउटी युवतीसँग काठमाडौंमा परिचय भएको थियो। मैले उसलाई दिल्ली बोलाएँ र भनें, म पनि अब  घरबारविहीन भएको छु। तिमी पनि संसार घुम्न निस्किएकी छौ। मसँग पनि खर्च छैन, तिमी पनि उस्तै छौ। हामी दुई यसैगरी बाँचौं। उसले  मेरो प्रस्ताव स्वीकार गरी। अनि हामीले कस्मिरबाट आफ्नो यात्रा प्रारम्भ गर्‍यौँ । कहिले मन्दिरमा बास बस्यौं, कहिले धर्मशालामा। हामीले जे  सक्छौं काम गर्‍यौं। ऊ पेसाले फोटोग्राफर थिई, म हिरो हुन चाहने मान्छे। उसले उक्त यात्राभरि मेरा हजारौं तस्बिर खिची। ती तस्बिर हामीले  मुम्बईमा विभिन्न मोडलिङ एजेन्सीमा पनि पठायौं। पेट पाल्न बाहिर पनि काम गर्‍यौं। जब मलाई मोडलिङमा अफर आउन थाल्यो, हामीले  मुम्बई पुगेर एउटा सस्तो रिसोर्टमा कोठा लियौं। त्यहींबाट मैले मोडलिङका लागि अडिसन दिन थाले।
यसरी कति समय बिताउनुभयो ?
११ महिना।
उक्त यात्रालाई तपाईंको प्रथम लिभिङ टुगेदर भन्न सकिन्छ ?
लिभिङ टुगेदर त हो नै, मेरो जीवन यात्रा पनि हो। उक्त यात्राबाटै मैले जीवन भनेको के हो, दुःख भनेको के हो ? संघर्ष भनेको के हो र प्रेम  कस्तो हुन्छ भन्ने पहिलो अनुभव पनि गरें।
उक्त यात्रा कसरी टुङ्गियो ?
म मुम्बईमा छु भन्ने थाहा पाएपछि मामा दीपक रायमाझीले मलाई फोन गर्नुभयो। भएको के रहेछ भने जब भाग्यरेखाबाट निकालिएँ र पनि  कुनै विद्रोह गरिनँ, उनीहरूलाई लागेछ, नेपाली चलचित्रको नायक यस्तै हुनुपर्छ। हप्ता दिन भएको सुटिङको परफर्मेन्स देखेर पनि युगदेखि  युगसम्मका लागि म नायक हुन लायक छु भन्ने भएछ। त्यतिबेला आजको जस्तो सञ्चारको साधन थिएन, म कहाँ छु भन्ने परिवारका  सदस्यहरूलाई पनि जानकारी थिएन। खुबै खोजी भएछ। अन्त्यमा कूटनीतिक उपायद्वारा म कहाँ बस्छु भन्ने पत्तो लाग्यो सायद। जब नेपाली  चलचित्रबाट फेरि अफर आयो, मैले सबै थोक त्यागें, मुम्बईको संघर्ष र अस्ट्रेलियन युवती पनि।
तपाईंलाई युगदेखि युगसम्मबाट मात्र नायकका रूपमा मानिसले देख्न पाए, यस अर्थमा तपाईंको अभिनय यात्रा २४ वर्ष मात्र भयो, होइन ?
हो, दर्शकका लागि २४ वर्ष तर मेरा लागि २५ वर्षभन्दा बढी। किनभने म क्यामेराअघि उभिएको भाग्यरेखाबाटै हो। मैले २५ वर्ष नै गणना  गरेको छु। यो आ-आफ्नो तर्कको कुरा हो।
जे होस्, २५ वर्ष नेपाली चलचित्रमा जम्नु चानचुने कुरा होइन, के कारणले तपाईंलाई दर्शकले रुचाए भन्ने लाग्छ ?
पहिलो कुरा त म अभिनयबाहेक अरू कल्पना गर्न नसक्ने मान्छे। यो क्षेत्रमा मेरो रुचि नै यत्रो वर्ष टिक्नुको कारण हो। कलाकार भएका  कारणले मलाई निर्देशकहरूले जस्तो चलचित्रमा अफर गरे, मैले कहिल्यै यो हुन्न, गर्दिनँ भनिनँ। अर्को कुरा म संयोगवश विद्रोहको प्रतिनिधि  पात्रका रूपमा उभिए, दर्शकले त्यसलाई मन पराउनुभयो।
सधैंभरि एकै किसिमको चलचित्रमा अभिनय गरें भन्ने लाग्दैन ?
मैले अघि नै भने सम्भवतः मैले एउटा युगको प्रतिनिधित्व गरें। त्यो बेला त्यस्तै चलचित्र चले, त्यसैले व्यावसायिक मानिसले त्यस्तो सोच्दैन।
अब राजेश हमालको व्यावसायिक अभिनयको अन्त्य भएको हो ?
होइन, भूमिका मात्र परिवर्तन भएको हो। कुनै मानिस सधैं एउटै अवस्थामा रहनु असम्भव छ। करिब २५ वर्ष मैले नेपाली चलचित्रमा प्रमुख  नायकका रूपमा काम गरें, दर्शकले त्यसलाई रुचाइदिनुभयो। अहिले पनि म प्रमुख भूमिकामै जमिरहेको छु, तर नायिकासँग रूख वरिपरि नाच्ने  र धूवाँधार फाइट गर्ने अभिनयबाट अलिकति फरक गर्न खोजिरहेको छु। यसैको सुरुवातका रूपमा मैले एउटा चलचित्रमा खलनायकको  भूमिका निर्वाह गरेको छु।
तपाईं नायकबाट हट्नु र नेपाली चलचित्रको ट्रेन्ड परिवर्तन हुनु एकैपटक पर्‍यो हैन ?
मैले पहिलेदेखि नै भनेको थिएँ, नेपाली चलचित्रको शैली परिवर्तन गर्ने बेला भयो। जुनबेला नेपाली चलचित्र चलेनन्, यो क्षेत्रलाई संकटकाल  घोषणा गर्नुपर्छ पनि भनियो। त्यो बेला पनि म नेपाली चलचित्र चलेनन् नभन्नुहोस्, नराम्रा चलचित्र मात्रै नचलेका हुन् भन्थे। नभन्दै लुट र  चपली हाइटले नेपाली चलचित्र चल्दैनन् भन्ने कुरा गलत सावित गरिदिए। बरु अब दर्शकले नेपाली चलचित्रमा नयाँ स्वाद खोजिरहेका छन्  भन्ने कुरा प्रस्ट भयो।
कहिलेकाहीँ एउटा ट्रेन्डको नेपाली चलचित्र मैले काँधमा हालेर हिँडे भनेर खुसी लाग्दो हो, हैन र ?
खुसी लाग्छ। त्यो बेला परिवारसँग विशेष गरी बुवासँग विद्रोह गरेर मैले यो क्षेत्र रोजेको थिएँ। यदि म यो क्षेत्रमा लागेर सफल नभएको भए  मनमा कहीँ-कतै परिवारको कुरा मानेको भए हुन्थ्यो भन्ने हुन्थ्यो होला। आज म आफ्नो जीवन सफल भएको मान्छु। सम्भवतः यो  सफलताको श्रेय तपाईंले भनेजस्तो पनि हुनसक्छ।
तपाईंले आफ्नो भूमिका पनि परिवर्तन गरिसक्नुभयो, तर यो उमेरमा फरक भूमिका खोज्दा कतिवटा चलचित्र हात लाग्ला ?
म व्यावसायिक कलाकार हुँ। मलाई यस्तै भूमिका चाहिन्छ भन्न मिल्दैन। निर्देशकहरूले मेरा लागि जुन भूमिका उपयुक्त मान्नुहुन्छ, मैले गर्नुपछर् । यद्यपि पहिलेजस्तो बाक्लै चलचित्र गर्दिनँ, पाउँदिन होला। २० वर्षभन्दा बढी मैले १८ घन्टा काम गरें। सधैं त्यस्तो तीव्रता सम्भव छैन।
यति धेरै ऊर्जा अब केमा लगाउनुहुन्छ, किनभने चलचित्रबाहेक अरू कुरामा तपाईंको रुचि पनि छैन ?
निर्देशनमा लगाउँछु। स्क्रिप्ट तयार हुँदैछ, थप एलिमेन्ट के-के राख्न सकिन्छ भनेर खोजी गरिरहेको छु। म दमदार सिनेमा बनाउने तयारी  गरिरहेको छु।
कस्तो दमदार ? लुट र चपली हाइटजस्तै ?
हाम्रो स्वभाव के छ भने एउटाले बनाएको कुरा सफल भयो भने त्यस्तै चलचित्र बनाउने। सबै जना त्यसको पछि लाग्छन्। म फरक तरिकाले  आफ्नो कथा भन्छु। मैले २ सय ९० वटाजति चलचित्रमा काम गरें। ती सबैको कथा भन्ने तरिका एउटै थियो, म केहि फरक गर्छु। विशेषगरी  मानवीय संवेदनामा काम गर्ने योजना छ।
चलचित्र विदेशीका लागि बनाउने कि स्वदेशीका लागि ?
राम्रो चलचित्रले कर्णालीका जनतालाई पनि उत्तिकै छुन्छ भने क्यानडाका नेपालीलाई पनि उत्तिकै मन पर्छ। म सम्पूर्ण नेपालीका लागि राम्रो  चलचित्र बनाउन चाहन्छु।
कहिलेदेखि काम सुरु हुन्छ ?
पहिले विवाह गर्छु, अनि निर्देशन सुरु गर्छु।
विवाह कहिले गर्दै हुनुहुन्छ ?
मलाई जाडोमा विवाह गर्ने मन छैन। गर्मी जान लागिसक्यो। काठमाडौंमा अर्को गर्मी सुरु हुनुअघि नै विवाह गर्छु।
तपाईंसँग पहिले कुरा गर्दा विवाहप्रति खासै रुचि देखाउनुहुन्नथ्यो, अहिले अचानक विवाहको कुरा आउन थालेको छ, कारण के होला ?
जतिबेला म विवाहमा रुचि देखाउँदिनथेँ, त्यो बेला विवाह लायक युवती फेला पार्न सकेको थिइनँ। मलाई विवाह गर्नैपर्ने कुरा हो र ? भन्ने  लाग्थ्यो। मलाई प्रेम भन्ने कुरा कविको कल्पना वा चलचित्रमा निर्देशकको भावनामा मात्र हुन्छ भन्ने लाग्थ्यो।
यत्रो जीवनमा यसअघि प्रेम भएन ?
जसलाई म प्रेम मान्थें, वास्तवमा त्यो प्रेम होइन रहेछ। कसैले राजेश हमालसँग विवाह गर्न प्रेम गरे, कसैले राजेशको प्रेमिका हुने लोभमा प्रेम  गरे। कोही राजेशलाई साँच्चै प्रेम गर्थे, तर राजेशको भित्री हृदय छुन सकेनन्। मलाई लाग्थ्यो, जुन प्रेमको कुरा कवि-कलाकारहरू गर्छन्, त्यो  यो संसारमा सम्भव छैन, प्रेम भनेको अमूर्त वस्तु हो, जुन प्राप्य छैन।
अहिलेको प्रेमचाहिँ वास्तविक प्रेम हो भन्ने मान्नुहुन्छ ?
हो, अहिले यो उमेरमा लाग्न थालेको छ, प्रेम भनेको कुरा मूर्त नै हुन्छ क्यारे। उनको उपस्थितिले, व्यवहारले मभित्रको अहंलाई तृप्तता दिन्छ।  मैले प्रेममा यति धेरै समर्पण हुन्छ भन्ने कल्पना गरेकै थिइनँ। म परिवारमा खासै जम्न सकिनँ, लामो समय कामको लोडमा वास्तविक प्रेमको  अनुभूति गर्न सकिनँ। यत्रो ठूलो घरमा मैले एक्लै लामो समय बिताएँ। मलाई एक्लो जीवन नै प्यारो लाग्थ्यो, तर होइन रहेछ, जब म उनले  पकाएको खाना खान्छु, उनको उपस्थितिले घरभित्रको वातावरण परिवर्तन भएको महसुस गर्छु, लाग्छ, मलाई प्रेम भएकै हो, उनको बानी पर्न  थालेकै हो। म उनको मायाले बरफझैं पग्लन थालेको छु।
तपाईंको कुरा सुन्दा यस्तो लाग्छ, तपाईंले विवाह गरिसक्नुभयो, उहाँ तपाईंकै घरभित्र हुनुहुन्छ ?
उहाँ मेरो घर आउनुहुन्छ। मैले उहाँको हातको खाना खाएको छु। यसलाई लिभिङ टुगेदर भनिहाल्न मिल्दैन। हामी धेरै नजिक छौं, मन र  शरीरबाट।
त्यसो भए आफ्नी प्रेमिकालाई किन सार्वजनिक गर्नुहुन्न ?
विवाह नभइसकेकाले मैले उहाँ मेरो मान्छे भनेर चिनाउने हक प्राप्त गरिसकेको छैन। फेरि म अरूजस्तो आफ्नी प्रेमिकालाई तुरुन्तै  चिनाइहाल्ने स्वभावको परिनँ। उहाँको सोचको पनि सम्मान गर्नैपर्छ। जुन बेला उहाँले राजेशकी प्रेमिका वा श्रीमतीका रूपमा आफूलाई सार्वजनिक गर्न चाहनुहुन्छ, म तपाईंलाई अवश्य बोलाउँछु।

तपाईको प्रतिक्रिया