शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

संविधान निर्माणका सवालमा आफ्नै प्रतिवद्धता पूरा गर्न चुक्दै आएका ठूला राजनीतिक दलहरू संविधानका विवादित विषयमा सहमति जुटाउने प्रतिवद्धता पूरा गर्न फेरि एकपटक चुकेका छन् । जसरी पनि सहमति गर्ने र जेठ १४ भित्रै नयाँ संविधान जारी गर्ने प्रतिबद्धता दलका शीर्ष नेताहरूले पटक पटक व्यक्त गर्दै आएका हुन् ।

व्यवहारत संविधानसभाको म्याद सकिन २४ घण्टा बाँकी रहँदा पनि सहमति जुट्न सकेको छैन । पछिल्लो समय नयाँ वर्षको सुरुआतसँगै बैशाख पाँच भित्र संविधानका विवादित विषयमा सहमति जुटाउने प्रतिवद्धता नेताहरूले व्यक्त गरेका थिए । त्यसयता पटक पटक वार्ता, सम्वाद र सहमतिका प्रयास भइरहेको खबर मिडियामा आईरहेको थियो । तर मिडियामा आएका खबरहरू अनुरूपको सहमति कार्यान्वयन हुन सकेको छैनन् । सबैभन्दा पछिल्लो सहमति जेठ २ गते भएको थियो । ११ प्रदेशसहित संविधानका प्राय सबै विवादमा सहमति जुटेको दाबी नेताहरूले गरेका थिए । सहमतिलाई लिपिवद्ध गर्न बाँकीरहेको बताएका नेताहरूले सहमति लिपिवद्ध हुन नपाउँदै तोडेका छन् । सहमति गर्ने प्रमुख तीन दलका मधेसी, आदिवासी जनजाति र दलित सभासद्हरू नै सहमतिको विपक्षमा उत्रिए । उत्रिएनन् मात्र संविधानसभाका सबै जनजाति, मधेसी र दलित गरी ३२० सभासद्ले शीर्ष नेताहरूलाई ज्ञापनपत्र बुझाएरै ११ प्रदेशको सहमति कार्यान्वयन गर्न नसघाउने चेतावनी नै दिए ।

गत चैत्र २३ गते कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपस्थित भएर प्रमुख तीन दलका नेताहरूले छिट्टै सहमति जुटाउने प्रतिवद्धता जनाएका थिए । त्यसैअनुरुप संविधानसभाको कार्यतालिका संशोधन भएको थियो । संविधानसभामा मतदानको प्रक्रियाबाट भन्दा सहमतिको माध्यमबाटै समस्या समाधान गर्नुपर्ने भन्दै नेताहरूले निरन्तर कार्यतालिका परिवर्तन गराइरहे । तर अब संविधानसभाको म्याद सकिन जम्मा १ दिन मात्र बाँकी रहेका बेला नेताहरू मतदानको प्रक्रिया जाने तरखर गर्दैछन् । यसको स्पष्ट संकेत हो, आगामी जेठ १४ गते नेपाली जनताले नयाँ संविधान पाउने छैनन् । संविधान नआउने मात्र होइन, संविधानको पहिलो मस्यौदासम्म आउने सम्भावना देखिएको छैन ।

निर्धारित समययमै संविधान जारी नभए संविधानसभाको मात्र नभई दलका नेताहरूको भविष्यसमेत अन्योलमा छ । तरपनि हाम्रा नेताहरूलाई संविधान निर्माणका विषयमा गम्भीर हुन अझै चेत खुलेको छैन । चार वर्षको अवधि यस्तै ढिलासुस्ती र आरोपप्रत्यारोपका कारण बित्यो । आआफ्ना अडानबाट टसका मस नगर्ने प्रवृत्ति दलहरूमा अझै पनि विद्यमान छ । जसले सहमतिको दूरी बढाइरहेको छ । तर समयको चाप हेर्दा अब गलाउने र गल्ने समय छैन । दलहरूको अकर्मण्यताका कारण लामो समयको संघर्ष र धेरै ठूलो बलिदानपछि प्राप्त संविधानसभाबाट जनताको प्रत्यक्ष सहभागितामा संविधान बनाउने अवसर गुम्दै गएको छ । देश ठूलो द्वन्द्वको संघारमा पुगिसकेको छ । अदालतले बारम्बार संबिधानसभाको मिति नथप्न आदेश जारी गरिरहेको छ । अब मिति थप्दा अदालतको अपहेलना हुनेछ । दलहरुले अदालतको सम्मान गर्दै संबिधानसभालाई सफल अवतरण नगर्ने हो भने न देशको भविष्य छ, न जनता र नेताको नै । दलहरुले के गर्लान त्यो हेर्न बाँकी नै छ ।

(लेखक नेपाल पत्रकार महासंघ जापान शाखाका सदस्य हुन)

तपाईको प्रतिक्रिया