शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

‏हामी सवैलाई थाहा भएकै हुनुपर्छ नेपालवाट अहिले हरेक दिन १३०० नेपालीहरू अवसरको खोजीमा विदेशको भूमीमा प्रस्थान गरिरहेका छन । नेपाल सरकारको नीति नै युवाहरूलाइ कसरी वैदेशिक रोजगारमा आकर्षित गराउन सकिन्छ भन्ने नीति छ। रोजगारको सिलसिलामा विदेशीने यो १३ सयको लाईनमा अध्ययन गर्न जाने, तालिम, गोष्ठिमा सहभागी हुने र विभिन्न वहानामा युरोप र अमेरिका छिर्ने नेपालीहरूको संख्या समावेश भएको हुदैन र छैन तसर्थ यो संख्या झनै अत्यासलाग्दो छ । यसरी विदेशीका नेपालीहरू युरोप र अमेरिकामा त्यहांको स्थायी वसोवासका लागि अनेक प्रयास गर्छ ,जीवनलाइ सार्थक वनाउन पापड पेल्न सम्म पेल्छन । कैयौ हन्डर खान्छन कुनै पनि काम गर्नलाइ उसले अपमान ठान्दैन मानौ उ त्यसैको लागि मरिहत्ते छ । परमपरागत नेपालीहरूले गर्ने कार्यहरू युरोप अमेरिकामा पेट्रोल पम्प, सव वे स्टेशन, किराना पसल, कपडा पसल, नेपालका मित्रराष्ट्रका भैयाहरूको सेवामा रहने, होटल रेष्टुरामा भाँडा माझ्ने देखि लिएर वेटरसम्ममा काम गर्ने सवै काम नेपालीले गरेकै छन । यो विचमा ति चरणहरू पार गरेर केही केही नेपालीहरूले तिनै पेसालाइ मालिक वनेर निरन्तरता दिइरहेका छन ता पनि त्यो सेरोफेरोवाट वाहिर निस्कन सकिरहेका छैन । जुनसुकै तरिकाले हेरिए पनि कामको सम्मान हुने मुलुकमा वेरोजगार भन्नुभन्दा काम छ भन्नु ईज्जत र प्रतिष्ठाको विषय हो । काम हुनेलाइ के काम गर्छस भनेर गोराले सोधी खोजी गर्दैन वरू काम गर्छस कि गर्दैननस कै वार्तालापमा टुंगिने यस्ता देशहरूमा नेपालीहरूले विलकुलै फरक परिवेशमा अवसर खोजिएको विषयलाइ यहा उजागर गर्न खोजिएको छ ।

वेल्जियममा नेपालीहरूको आगमनको इतिहास खासै नौलो छैन केही दर्जन नेपालीहरू वाहेक अधिकांश नेपालीहरूको वेल्जियममा इतिहास ११/१२ वर्ष भन्दा पुरानो छैन ।यो अवधिका नेपालीहरू पार गर्ने चरणवद्द प्रकृया अधिकांशको एकै र एउटै हो । कसैले त्यो चरणलाइ विर्सन खोजे होलान कसैले त्यसलाइ आधार वनाएर भविष्यको सुनौलो अवसरका खोजीमा निरन्तर लागि रहे होलान । यस्तै सुनौला भविष्य खोजिरहने नेपालीहरूले यहाँ आफ्नो पेशा र व्यवसायलाइ फष्टाउन सफल भएका छन त्यो नेपालीहरूको गौरवको विषय हो । हामीले गर्व गर्न सक्नु र्छ विदेशको भूमिमा आएर पनि अर्काको काम मात्र होइन आफ्नै केही गर्न सक्ने नेपालीहरू छन जो विश्वभर छरिएर रहेका नेपालीहरूका लागि प्रेरणाका श्रोत भएका छन । सलाम छ ति सवै नेपालीहरूलाई ।

यसैविच अहिले वेल्जियममा रहेका र यहांको स्थानीय निकायमा भिझेका, यहाँको भाषा र शिक्षा भएका तथा नेपालमा नै राजनैतिक पृष्ठभूमि भएका केही युवाहरू यहाँको स्थानिय निर्वाचनमा सहभागी हुने जमर्को गरिरहेका छन । त्यस्तो त एक नेपाली दर्शन रौनियारले अमेरिकामा सिनेटको लागि पार्टीको तर्फवाट उम्मेदवार पाउन गरिरहेका संघर्ष र उनको पार्टीवाट मनोनयनमा परेको समाचारले विश्रभर उत्साह त फैलाएको नै छ नै त्यस्तै वेल्जियममा पनि त्यसको प्रभाव परेको छ । यसै सिलसिलामा मैले आगामी स्थानीय निर्वाचनमा यहाँको डिष्ट्रिक काउन्सिलर पदमा उम्मेदवारी दिने गैरहेको प्रसंग समावेश गर्न गैरहेको छु । मेरो उम्मेदवारी विदेशमा वस्ने खासगरि विदेशमा वसेर नेपाली राजनीति गर्ने दाजुभाइ तथा दिदिवहिनीहरूका लागि थप उत्साह प्रदान गराउन र जहाँ वसिन्छ त्यहीको समाजसंग घुलमिल हुन हौसला मिलोस भन्ने अभिप्रायसंग सम्वन्धित छ । हामीले विदेशमा नेपाली राजनीति गरे पनि यहाको समाजलाइ पाच्य हुने गरि गर्न सक्छौं र गर्नु पर्छ भन्ने नै हो । मैले वेल्जियम वसेको करिव १० वर्षको अवसरमा र अहिले आवद्द भएको पार्टीसंगको २ वर्षको मात्र योगदानमा वेल्जियमको सवै भन्दा ठूलो दलमा एउटा विदेश मुलको कालो वर्णको मान्छेले यो अवसर पाउनुलाई मैले अवस र चुनैतीको रूपमा हेरेको छु ।

मेरो NVA दलको मेरो जिल्लामा मात्र रहेका पार्टीका करिव दुइ हजार साधारण सदस्यहरू विचमा भएको सार्वजनिक भेला र प्रजातान्त्रिक पद्दतिवाट चुनिएको मेरो उम्मेदवारीले वेल्जियमा वस्ने नेपालीहरूमा प्रत्यक्ष वा परोक्ष झन्कार ल्याएको छ । यहाँका नेपालीहरू विचमा एउटा उत्साह र उमंग पैदा भएको महशुस गरेको छु । वेल्जियमका हरेक जिल्लामा २५ सदस्यीय काउन्सिल हुन्छ र ति सवै २५ सदस्यहरूको प्रत्यक्ष प्रणालीवाट निर्वाचन हुन्छ । निर्वाचनमा सवै क्षेत्र र वर्ग र लिगको उपस्थित होस भन्ने अभिप्रायले सामानुपातिक मतदान पद्दति अपनाइएको हुन्छ । यो पार्टिको खुला लिष्टको आधारमा उम्मेदवार हुने छन । यहां पार्टीलाइ प्राप्त मत र उम्मेदवारले पाउने मत दुवैलाइ एकमुष्ट राखेर धेरै मत ल्याउने अडिरहने फर्मुला अपनाइन्छ । जसलाई अग्रेजीमा Largest Rainder Formula भन्ने गरिन्छ । वेल्जियमको स्थानीय निर्वाचनमा पार्टिले आ-आफ्नो लिष्ट तयार गर्छन त्यसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनैपर्छ जुन कानूनद्दारा अनिवार्य गरिएको छ । जसले गर्दा यहाँको राजनीतिमा महिलाहरूको वलियो उपस्थिती रहेको हामी सवैले देखेका छौं । म यहांको निर्वाचनसंग सम्वन्धित केही कुराहरू राख्ने प्रयासमा छु तर सवै सम्भव छैन है ।

मेरो जिल्लामा हाल चवालिस हजार जनसंख्या रहेको छ । यस मध्ये करिव ९ हजार विदेशीहरू रहेका छन । तर मतदाताहरूको यकिन विवरण भने अगष्ट १७-१८ को विचमा मात्र प्रकाशित गर्ने छ यहाँको निर्वाचन आयोगले । किन भने वेल्जियममा मतदान अनिवार्य छ । यदी तपाईले यहां मतदान गर्नुभएन भने तपाइले आर्थिकरूपमा जरिवाना तिर्नुपर्ने छ । वेल्जियममा नागरिकता लिएका र मतदानका लागि योग्य भएका व्यक्तिहरूलाई मतदानका लागि घर घरमा निमन्त्रणा गरिन्छ जुन निमन्त्रणामा उनीहरूको मतदान गर्ने केन्द्र लगायतका विवरण संलग्न गरिएको हुन्छ । जुन अनिवार्यरूपमा लिएर मतदान केन्द्रमा लिएर जानु पर्नेछ । हामी जस्तै विदेशवाट वेल्जियममा वसोवास गर्ने १८३ देशका मानिसहरू सहभागी भै यस पटकको स्थानीय निर्वाचनमा मतदान गर्ने छन । ग्रिकल्याण्ड, अष्टेलिया, लेक्जम्वर्ग र अधिकांश दक्षिण अमेरिकी राष्ट्रहरू जस्तै यहां पनि अनिवार्य मतदान भएको राष्ट्र वेल्जियम हो । त्यसैले मतदानमा जनताको सहभागीता वढी हुने देशहरू मध्य वेल्जियम अग्र स्थानमा आउछ ।मेरो विचारमा वेल्जियममा यसरी गैर आवासीय नेपालीहरूले स्थानीय निर्वाचन होस वा संसदीय निर्वाचनमा होस वा आजैवाट कुनै न कुनै दलका माध्यमवाट उम्मेदवारी दिने प्रक्रियाको थालनी गर्नु र यहाँका राजनैतिक दलहरूको विश्वास जित्न सक्ने वातावरण वन्नु पक्कै पनि नेपाल र नेपालीहरूका लागी खुशीको कुरा हो ।

हुन त हामी वेल्जियममा गैरआवासीय नेपालीहरूको साधारण सदस्य २२ सय भन्दा वढी भएको भनिए पनि वेल्जियमको सरकारी निकायमा नेपालीहरूको आधिकारिक तथ्याकं १८९३ मात्र रहेछन । उनीहरू कानूनीरूपमा यहाँको गृहमन्त्रालयको रेकर्ड रहेका संख्रया हो यो ।(मलाइ थाहा छैन नेपाल सरकारको प्रतिनिधि नेपाली दूतावास व्रसेल्ससंग वेल्जियममा आधिकारिकरूपमा के कति नेपाली के कस्तो हालतमा रहेका छन त्यो डाटा छ की छैन सायद आगामी दिनमा त्यो पनि वाहिर आउला ।) ति मध्ये वेल्जियमको पुरै भू-भागमा वसोवास गर्ने र यहाँको वेल्जियन नागरिकता लिएका नेपालीहरूको संख्या जम्मा २१४ जना रहेका रहेछन । यो संख्या २०१२ को जनवरी १ सम्मको हो ।

ति मध्ये वेल्जियमको आगामी निर्वाचनमा नागरिकता लिएका वाहेकका ८०६ ले मतदान प्रक्रियामा सहभागिता हुन पाउने छन तर त्यो अनिवार्यता छैन । यदी उनीहरूले सिटी हलको निर्वाचन शाखावाट मतदानका लागि निम्तो पत्र पाए भने मतदान गर्नै पर्ने छ नत्र अनिवार्य छैन । यदि जुन महिना भित्रमा निर्वाचनका लागि मतदान गर्ने निम्तो आएन भने सम्वन्धित सिटी हलमा गएर मतदानका लागि निवेदन दिन पाउने छन र त्यो सम्वन्धित निकायवाट स्विकृत हुनुपर्ने छ । नत्र मतदानमा सहभागी हुन पाउने छैनन । यी ८०६ जना नेपालीहरू लगातार कानूनीरूपमा ५ वर्ष वेल्जियममा वसेको हुन। त्यसैगरी यही जुलाइ ३१, २०१२ भित्रमा तपाईले सेतो कागज लिएको ५ वर्ष पुग्दै छ भने पनि तपाईले मतदानका लागि निवेदन दिनुपर्ने नियम रहेको छ । त्यस पछि तपाइले मतदान गर्न पाउने नपाउने निर्यण सिटी प्रमुखले गर्ने छन ।

अर्को कुरा २१४ जना जो नागरिकता लिएका छन तिनीहरूले अनिवार्य मतदान गर्नुपर्छ तर कारणवश तपाई मतदानमा जान सक्नुहुन्न भने तपाइले आफ्नो परिवारको सदस्य वा तपाईको घरमा वस्ने कसैलाई मन्जुरी नाममा दिएर प्रोक्सी मतदान गर्न पाउने व्यवस्था समेत रहेको छ । त्यसका लागि तपाइले सिटी हलमा गएर निर्वाचन शाखामा सम्पर्क गरेर एउटा मंजुरीनामामा हस्ताक्षर गरेर दिन सक्नुहुने छ । तपाईले विदेशमा गएर यो स्थानीय निर्वाचनमा सहभागी हुन सक्नु हुने छैन मतदानका लागि मंजुरी नाममा दिने सकिने तर्फ पनि विचार गर्नुहोला यदी कोही त्यस समयमा नेपाल जाने योजनामा हुनुहुन्छ भने ।

त्यस्तै अर्को प्रावधान पनि यहांको निर्वाचनमा रहेको छ, त्यो के भने तपाई यदी मतदाता लिष्टमा हुनुहुन्छ । तपाइलाइ मतदान प्रकृयामा सहभागी नभएर जरिवाना आएको छ , वा मतदान गर्न मन लाग्दैन भने तपाईले आफ्नो नाम मतदाता नामावलीवाट फिर्ता लिन पाउनुहुने छ । तर एक पटक फिर्ता लिएपछि भविष्यमा तपाईले मतदानका अन्य कुनै पनि प्रक्रियामा सहभागी हुन पाउनुहुने छैन । यदि चाहानुहुन्छ भने फेरि मतदातामा सहभागी हुन निवेदन दिनु भएमा र नगरप्रमुखले स्विकृत गरेमा मात्र मतदाता नामावलीमा समावेश हुन सक्नुहुनेछ ।

प्रवासमा वस्ने नेपालीहरू पूर्व मेचीमा भूइचालो गै एक जना नेपाली घाइते हुदाँ यहाँ वेल्जियममा वस्ने नेपालीहरू, उनीहरूको दुखमा सहभागी भैरहेका छन चाहे त्यो पश्चिमको पोखरामा वाढी लागेर घरवार विहिन भएका नेपालीहरूको दुखमा किन नहोस नेपालीहरूको मन त्यही साटिएको छ । कर्णालीको भोकमरीमा परेका नेपालीका दुखमा साथ दिने नेपालीहरू प्रवासमा छाप्पछ्याप्ती छन। नेपालको झण्डा साइकलमा राखेर वेल्जियममा आइपुग्ने नेपालीहरूलाइ हार्दिकता देखाउने हाम्रो गैर आवासीय नेपालीहरू र विभिन्न संघसंस्थाहरू, नेपाली दूतावासका कर्मचारी आउदा र जादाँ खुशी र दुखी हुने हाम्रा वेल्जियमको नेपाली समाज पक्कै पनि वेल्जियमको राजनीतिमा त्यो पनि यहाँको सवैभन्दा ठूलो दलको तर्फवाट डिष्ट्रिक्टको काउन्सिलर पदमा उम्मेदवारी दिन पाँउदा देखाउनुभएको सदाशयता र हौसलाका लागि म नतमस्तक छु ।

प्रवासमा वस्दा एक नेपालीलाई दुख्दा दुख्ने र एक नेपालीले सफलता प्राप्त गर्दा सवै नेपाली खुशी हुने यो वातावरणको श्रृजना गराउन वेल्जियममा रहेका सवै नेपाली संघसंस्थाका जिम्मेवार पदाधिकारीज्यूहरू , जिम्मेवार सदस्यज्यूहरू तथा सवै नेपाली दाजुभाई, दिदीवहिनीहरूलाई मेरो लगायत यो अभियानमा विभिन्न जिल्लावाट निर्वाचनमा सहभागी हुन लाग्नुभएका गैरआवासीय नेपालीहरूलाई सक्दो सहयोग पुराई यो अभियानलाइ हकिकतमा परिणत गर्न म आव्हान गर्दछु ।

म लगायत यो निर्वाचनमा सहभागि हुनुभएका र हुन खोजेका गैरआवासीय नेपालीहरूको यो पहलले पक्कै पनि वेल्जियमको स्थानीय समाजमा एउटा गतिलो उपस्थिति जनाएको छ । यसलाई निरन्तरता दिन र आगामी दिनमा थप अन्य गैरआवासीय नेपालीहरूलाई यसतर्फ आकर्षण गराउन सकियो भने पक्कै पनि हामी सवैले नेपाली भएकोमा गर्व गर्ने छैन । यहाँको स्थानीय निकायहरूमा हाम्रा गैर आवासीय नेपालीहरूको निर्वाचनका माध्यमवाट समावेश गराउन सकियो भने मात्र हामीले लिने जुनसुकै योजना आयोजना सफल गराउन सक्छौं, त्यसकारण नेपाल र नेपालीको सेवा गर्नलाई नेपालको कुनै राजनैतिक दलको विदेशमा सदस्य नभएर पनि योगदान दिन सकिन्छ । त्यतातिर सवै गैर आवासीय नेपालीहरूले सोच्ने हो कि  ? ***

तपाईको प्रतिक्रिया