बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
लामो समयपछि ठूलो सम्भावना बोकेकी युवती मिस नेपाल भएकी छिन्। बेलायतमा तीन वर्षदेखि मोडेलिङ गरिरहेकी सृष्टि श्रेष्ठले मिस नेपालको मुकुट पहिरिने क्रममा निर्णायकहरूले यसपालिकी मिस नेपाल विशेष भएको प्रतिक्रिया दिएका थिए। हुन पनि आयोजक संस्थाले उनको प्रतिभा देखेर सृष्टिका लागि केही नियम तोडेको आरोप पनि छ। ५ फिट ९ इन्च अग्ली आकर्षक सृष्टि भने यस्ता कुराबाट बेखबर छिन्। गएको बुधवार अति व्यस्तताका बाबजुद आयोजक संस्था हिडेन ट्रेजरले सृष्टिसहित मिस नेपालका प्रथम तीन युवतीलाई साप्ताहिकसँग भेट गरायो। साधारण वेशभूषामा दरबारमार्गको नाङ्लो रेस्टुराँमा आएकी सृष्टिले अश्विनी कोइराला र रोजिन शाक्यसँग खुलेर कुरा गरिन्।
तपाईंको नामसँग तपाईंको जीवनको केही अर्थ छ ?
सृष्टि भनेको क्रिएसन हो। यो संसार स्वयंमा एउटा क्रिएसन हो। अनि म उक्त क्रिएसनको एउटा अङ्ग। मेरो नामसँग मेरो जीवनको अन्तरङ्ग सम्बन्ध छ।
तपाईंसँग त्यस्तो के छ, जसले तपाईंलाई मिस नेपाल बनायो ?
पोजेटिभ थट। म कुनै पनि कुरालाई नकारात्मक रूपमा लिन्नँ। हरेक कुरामा इन्जोय गर्छु। त्यसपछि म जुन उद्देश्य राख्छु, त्यसलाई लगनशील भएर पुरा गर्छु। यही तीन कुराले मलाई मिस नेपाल बनाएको हुन सक्छ। मुख्य कुरा सकारात्मक सोच हो।
सकारात्मक सोच भनेको त्यति सजिलै प्राप्त हुँदैन, त्यति ठूलो कुरा तपाईंले कसरी प्राप्त गर्नुभयो ?
जस्तो हामी यतिबेला चिया पिइरहेका छौं। यो चियाको प्रत्येक चुस्कीमा एउटा स्वाद छ। फरक कति छ भने त्यो स्वाद हामी लिइरहेका छौं कि छैनौं। यदि स्वाद लिइरहेका छौं भने हामी सकारात्मक सोचमा छौं। प्रत्येक पल इन्जोय गरिरहेका छौं। चिया पिउने जुन उद्देश्य थियो, त्यो पूरा गरिरहेका छौं।
साह्रै सुन्दर कुरा, यो सोच्ने शैली हो, कहाँबाट पाउनुभयो ?
मेरो बुबाबाट। उहाँ भन्नुहुन्छ, तिमी जुन काम गर्छौ, हृदयदेखि गर, प्रेमपूर्वक गर। उद्देश्य भएका कुरा मात्र गर। निरर्थक कुरा नगर। म सकेसम्म उहाँको कुरा फलो गर्ने प्रयास गर्छु।
तपाईं अहिलेसम्मका सुन्दर मिस नेपालहरूमध्ये एक हुनुहुन्छ भन्ने थाहा छ ?
थाहा छ। यद्यपि मेरो सुन्दरताको परिभाषा केही भिन्न छ। सुन्दर स्त्री घमन्डी हुन सक्छिन्। यदि कुनै युवतीमा घमन्ड छ भने त्यो सुन्दरताको अर्थ रहँदैन। ममा त्यो घमन्ड आएको दिन मेरो सौन्दर्य मर्छ। त्यसैले म सचेत छु।
त्यो घमन्ड आए-नआएको कसरी थाहा पाउनु ?
आफन्त र परिवारले थाहा पाउँछन्। जस्तो मलाई सुरुमा भेट्नेहरूले ममा सुन्दरताको घमन्ड छ कि भनेर सोच्छन्। जब दुई-चार मिटिङ हुन्छ, उनीहरू आफैं भन्छन्- तपाईंको रूपभन्दा तपाईंको व्यवहार असल छ। सौन्दर्य भनेको यही हो।
यति राम्री युवती कहिल्यै प्रेममा परिनन् ?
एकपल्ट परी। ऊ मेरो कलेजको साथी थियो, तर कतिखेर प्रेमी भयो मलाई नै थाहा भएन। जे होस्, प्रेम भनेको के हो मलाई थाहा छ।
त्यो प्रेम अहिले टुङ्गियो भन्ने सुनियो, के भयो ?
प्रेम कहिलै टुङ्गिँदैन। यति हो, ऊ र म टाढा भयौं। यद्यपि त्यो प्रेमको झङ्कार अझै मेरो मनमा छ।
मिलनको सम्भावना छ ?
संगीतको अन्त्यमा त्यसको झन्कार मात्र बाँकी रहन्छ।
अहिले तपाईं मिस नेपाल हुनुभएको छ, यद्यपि नियम मिचेर तपाईंलाई समावेश गरियो भन्ने आरोप लागेको छ, के भन्नुहुन्छ ?
मैले सन् २०१० मै मिस नेपालमा भाग लिन हिडेन ड्रेजरसँग सम्पर्क गरेकी थिएँ। त्यसबेला मैले अडिसन पनि दिएकी थिएँ। ए लेभल अध्ययन गरिरहेको अवस्थामा मैले त्यतिबेला त्यो अवसर पाइनँ। त्यसबेला दिएको प्रारम्भिक अडिसनले पनि काम गरेको हुन सक्छ।
यो वर्ष हुने प्रतियोगिताको अडिसन दुई वर्षअघि दिएर हुन्छ ?
मैले फोनमा म नर्सिङ पढिरहेकी छु। कलेजका कारणले एक हप्ता ढिला हुन्छ भनेर आफ्नो समस्या राखेकी थिएँ। उहाँहरूले मेरो पुरानो अडिसनलाई आधार बनाउन सकिने बताउनुभयो। फोनमा लामो अन्तर्वार्ता लिनुभयो। फिजिकल्ली उपस्थित नभए पनि फोनबाट म सेलेक्ट भएकी हुँ। अहिलेको प्रविधिको युगमा यसलाई सामान्य रुपमा लिनुपर्छ।
तैपनि विरोध भैरहेको छ, के भन्नुहुन्छ ?
मैले प्रारम्भिक अडिसन मात्र छुटाएकी हुँ। मैले पछिल्ला सबै तालिम र प्रतिस्पर्धामा भाग लिएकी थिएँ। लामो यात्राबाट आउँदा एक-दुई दिन ढिला भएको हुनसक्छ। यद्यपि फोनबाट आयोजक एवं जजहरूसँग प्रारम्भिक अन्तरवार्ता दिएकी हुनाले त्यो ठूलो कुरा हो भन्ने मलाई लाग्दैन।
तपाईंले मिस नेपालको उपाधि नपाउनुभएको भए जीवनमा के फरक पर्थ्यो?
मिस नेपाल भनेको आफूले सिकेका कुरा प्रयोग गर्ने प्लेटर्फम मात्र हो। हामी १६ प्रतियोगीले एउटै कुरा सिक्यौं, थाहा पायौं, जीवनलाई नजिकबाट बुझ्ने मौका पायौं। त्यसैले यो क्राउन पाउनु र नपाउनुमा त्यो सिकेका कुरामा केही फरक पर्दैन। यत्ति हो, क्राउन पाएपछि सिकेका कुरा मिस नेपालले फलो गरी कि गरिन, बाहिरबाट जज हुन्छ।
एउटी नेपाली युवतीले बेलायतजस्तो देशमा मोडलिङको अवसर कसरी पाउनुभयो ?
म साउथ वेस्ट इङ्ल्यान्डको क्रिप्स रेस्टुराँमा वेट्रेसको काम गर्थें। ए लेभलको पढाइका लागि मैले उक्त साधारण रेस्टुराँमा जागिर खानुपरेको थियो। काम गरेको दुई-चार महिनापछि एक जना व्यक्ति लगातार मैले काम गरेको रेस्टुराँमा आउन थाल्नुभयो। उहाँ मलाई निकै ध्यान दिएर हेर्नुहुन्थ्यो र मलाई नै डिस ल्याऊ भनेर अर्डर भन्नुहुन्थ्यो। आफ्नो ग्राहकलाई खुसी राख्नु हाम्रो धर्म हो। म उहाँले अर्डर गरेका सामग्री पुर्‍याउँथे।
को थियो त्यो व्यक्ति ?
चर्चित फोटोग्राफर विपोन्ड थोमस। उहाँ विभिन्न म्यागजिनका लागि न्यू कमर मोडल खोजी थम अनुसार फोटोसेसन गर्नुहुँदो रहेछ। मलाई देखेपछि उहाँलाई म मोडलिङका उपयुक्त युवती हुँ भन्ने लागेछ। म कुन पहिरनका लागि उपयुक्त हुन्छु भनेर मेरो रेस्टुराँमा आउन थाल्नुभएको रहेछ। अनि एक दिन मलाई तिमी मोडलिङ गर, तिम्रा लागि राम्रो अफर छ भन्नुभयो। पहिले त मैले पत्याइनँ। उहाँले आफ्ना बारेमा बताएपछि मैले अफर स्वीकार गरें।
त्यसपछि ?
त्यहाँको ‘ब्राइडल’ म्यागजिनमा मेरा तस्बिर प्रकाशित भए। त्यसपछि उहाँले मोडलिङ गर्ने रहर लागे मलाई भेट्नू भनेर आफ्नो सम्पर्क ठेगाना दिनुभयो। त्यसपछि मलाई यो क्षेत्रमा अघि बढ्ने रहर बढेर आयो।
अहिले बेलायतमा मोडलिङको कुन पोजिसनमा छु भन्ने लाग्छ ?
त्यहाँ मेरो विशेष पोजिसन छ भन्ने लाग्दैन। मलाई एउटा मोडल एजेन्सीले एक वर्षको कन्ट्रयाक्टमा लिएको थियो। एसियाली मूलका कुनै मोडल चाहिएको खण्डमा एजेन्सीले मलाई रिफर गर्छ। धेरै युरोपियन-अमेरिकन मोडलबीच म एक्ली नेपाली मोडल भएकी छु।
बेलायतमा पहिलो नेपाली मोडल ?
पहिलो भनेर दाबी गर्दिनँ। यद्यपि अहिले त्यहाँ म एक्ली नेपाली मोडल हुँ कि भन्ने लाग्छ।
अहिले मिस नेपाल हुनुभएको छ, अब बेलायतको मोडलिङ छाड्नुहुन्छ ?
सबै नेपालीका लागि नेपाल पहिलो प्राथमिकतामा पर्छ। विदेशमा जतिसुकै प्रख्यात भए पनि नेपालमा सानो भूमिका निर्वाह गर्न पाउँदा पनि नेपालीहरूलाई गर्व लाग्छ। त्यसमाथि मिस नेपाल आफैंमा ठूलो पद हो। यो भूमिका निर्वाह गर्न पाउनु मेरा लागि ठूलो अवसर हो। फेरि म बेलायतकै प्रसिद्ध मोडल त होइन। सानोतिनो एजेन्सीमार्फत सानोतिनो काम गर्ने मोडल हुँ। म बेलायतकै सुपर मोडल बन्न सक्छु भन्ने सपना पनि पालेकी छैन। मेरा लागि मिस नेपाल हुनु धेरै ठूलो कुरा हो। यसका लागि त्यस्ता कुरा त्याग गर्न सकिन्छ।
मिस नेपाल बन्ने सपना कहिलेदेखि पाल्नुभएको थियो ?
जुन बेला माल्भिका सुब्बा मीस नेपाल हुनुभयो, त्यसबेला मलाई मिस नेपालको गरिमा बढेको महसुस भयो। त्यहि बेलादेखि सपना बुन्न थालेकी थिएँ। मोडेलिङले त्यसमा थप उत्साह प्रदान गर्‍यो।
अब एक वर्ष तपाईंले नेपाल र नेपालीकै लागि काम गर्नुपर्छ, के भन्नुहुन्छ ?
त्यो मलाई थाहा छ। नेपाल आएर यसरी काम गर्न पाउनु त ठूलो कुरा हो। म त यो अवसर पाएर निकै खुसी छु।
कतिपय मिस नेपाल आफ्नो कार्यकाल सकेपछि विदेश पुग्छन्, तपाईंका परिवार बेलायतमै बसोवास गर्छ, यस अर्थमा नेपालीले तपाईंलाई एक वर्ष मात्र देख्न पाउने भए, होइन ?
म बेलायतमा मोडलिङ गरे पनि वा नर्सिङको विद्यार्थी भए पनि बेलाबेलामा नेपाल आएर समाजसेवाको काम गर्थें। चितवनको एउटा वृद्धाश्रम एवं जिल्लाका कतिपय स्थानमा स्वास्थ्य सेवा दिने काममा खट्थें। मेरो बुवा बेलायतमा रेस्टुराँ खोलेर बस्नुभएको छ। उहाँको मन भने नेपालमै छ। उहाँले अलिकति पैसा जुटाएर नेपाल आउने र केही न केही सहयोग गर्ने कार्यलाई दस वर्षदेखि निरन्तरता दिइरहनुभएको छ। उहाँकै कारण म पनि यस्ता काममा जोडिएकी छु। मिस नेपालले मलाई त्यस्ता काममा थप जम्ने अवसर दिएको छ।
भन्न त सबैले यसै भन्छन्, तर व्यवहार फरक पर्ने गरेको छ…. ?
मैले अहिले नै धेरै कुरा गर्नु हतार हुन्छ। यो बोलेर गर्ने कुरा होइन, काम देखाएर प्रुफ गर्ने कुरा हो। यतिचाहिँ भन्छु, म हराउने मिस नेपाल होइन।
तपाईं मिस नेपाल भएपछि निर्णायकहरूले पनि तपाईंबाट धेरै आशा राखेको देखियो, चीनमा हुने मिस वल्र्डले नेपाललाई के देला ?
म आफ्नो तर्फबाट पर्याप्त मेहनत गर्दैछु। जुन आशा, भरोसा र विश्वासले मलाई यो मुकुट पहिर्‍याउनुभएको छ, त्यो भरोसा म सकेसम्म मर्न दिन्न। आशा गरौं, केही न केही त अवश्य होला।

तपाईको प्रतिक्रिया