बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
दुबई युएई – नेपाल संगीत उद्योग संघ र युएईस्थित “डू” मोबाइल कम्पनीको संयुक्त पहलमा अबदेखि युएईको “डू” मोबाइलमा नेपालीहरुलाई आफ्नै भाषा र आफ्नै चाहना अनुसारका गीतहरु RBTको माध्यमबाट आफ्नो मोबाइलमा कैद गर्न सकिने सुविधा गरेको छ ।
वैदेशिक रोजगारीका सिलसिलामा युएईस्थित रहेका लगभग दुई लाख प्रवासी नेपालीहरुको लागि आफ्नै देशको परिकारका खानाका स्वादसंगै आफ्नै परिहनका पोशाक, नेपाली भाषाका पत्रिका र आफुले चाहेको गीतको रिङटोन मोबाइलमा घन्काउनु पनि आफैमा गौरवको कुरा हो ।
नेपाली गीत तथा संगीतको बिकास र प्रवर्द्धनलाई प्रचार प्रसारको अभियानमा गत ४ मे शुक्रबारका दिन दुबईको ईम्पिरियल स्वीट्स होटलमा नायक तथा निर्माता नवल खड्काको चलचित्र “दशगजा” को प्रदर्शनको अवसरमा नेपाल डिजिटल प्लेटर्फम अन्तर्गत विभिन्न पार्टनर कम्पनीहरुका चर्चित गीतहरुका डिभिडि संग्रहका लगभग ६० भन्दा बढि गीतहरु रहेको डिभिडि नेपाल संगीत उद्योग संघका अध्यक्ष पदमबहादुर बुढा र नेपाल संगीत उद्योगकै कोषाध्यक्ष हिराबहादुर केसीले निःशुल्क रुपमा वितरण गर्नु भएका थिए भने दुबईकै नेपाली चौक र नेपाली रेष्टुरेण्टहरुमा गरि एक हजार दुई सयभन्दा बढि डिभिडिहरु बाढ्नु भएका छन् ।
युएईमा इतिसालात र डू दुईवटा टेलिकम कम्पनी सेवामा रहेता पनि डू भने केहि बर्षअघि मात्र सेवामा आएको हो । इतिसालातको तुलनामा डू सेवा भने अलिकति सस्तो भएको कारणले धेरै जसोले डू सेवा नै प्रयोगमा ल्याएका छन् । नेपाल संगीत उद्योग संघको यो अभियानले प्रवासको मोबाइलमा पनि नेपाली संगीतका धंुनसंगै नेपाली लोक संस्कृतिको पनि उत्थान गरेको छ ।
वैदेशिक रोजगारीको राम्रो गन्तव्य मानिने युएईमा नेपालीहरुको लागि नेपाली रेष्टुरेण्टहरुमा नेपाली परिकारका स्वाद, नेपाली पसलमा नेपाली पहिरनका पोशाकहरु, नेपाली लोक दोहोरी सांझमा नेपाली संगीत, नेपालमा जानका लागि नेपाली ट्राभल्स एजेन्सी, कुनै पनि नेपाली सर-समानको लागि नेपाली सुपर मार्केट, मनोरञ्जन र खबरका लागि दुबईमा नै प्रकाशित हुने नेपाली समाचार पाक्षिक खबर पत्रिका र सिंगार पटारका लागि नेपाली व्यूटी पार्लर रहेका छन् भने नयाँ नेपाली रिङटोन व्यावस्थाले सूुनमा सुगन्ध थपेको छ ।

तपाईको प्रतिक्रिया