बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

न पढन जान्थ्यो

न पढाउन जान्थ्यो

न कमाउन जान्थ्यो

न हलो समाउन जान्थ्यो

कहिले यताको गाउँ

कहिले उताको ठाउँ

हल्लरी मार्दै रमाउन जान्थ्यो

सुको न कमाउदा पनि

दुई चार जनासंग बसेर

भट्टी भित्र संधैं पसेर

लोकल ठर्रा र मासु खान्थ्यो ।

 

समय बित्दै गएपछि

पार्टी चलाउंछु भन्थ्यो

चुनाव लडाउंछु भन्थ्यो

आफुलाई समानुपातिक सभासद

बनाउछु भन्थ्यो

चुनाव भएपछि

समानुपातिकमा परियो

राजधानी डेरा सरियो भन्थ्यो ।

 

संबिधान बनाउछु भन्दै

गाउँ गाउँ डुल्थ्यो

मन्त्री पनि भएछ क्यारे

चप्पलबाट जुतामा हिंड्न थाल्यो

साइकल छाडी गाडिमा हिंड्न थाल्यो

कहाँ कसरी कति कमाइन्छ भन्दै

कमाउनेमा नै भिड्न थाल्यो

धनले अन्धो भएपछि

उल्लु झै राती राती

क्याबिनहरु धाउन थाल्यो

दोहरिमा गाउन थाल्यो ।

 

रावणको रुप देखाउदै

कहिले सचिवलाई पिट्न थाल्यो

कहिले डाक्टरसंग भिड्न थाल्यो

लाजसरम पचाउदै

नाङ्गै शहरमा हिंड्न थाल्यो

एकदिन टन्न पिएर

चौराहमा लर्खाउदै गरेको बेला

खै संबिधान भन्दै

जनताले घेरेपछि

कुनै उत्तर दिन नसकी

डरले कट्टुमा छेरेपछि

उसले बन्दुक पो पड्काउन थाल्यो

जनतालाई झन भड्काउन थाल्यो

कसैले इटा फाल्यो

कसैले ढुङ्गा हान्यो

ढुङ्गामुढा बर्सन थाल्यो

मुर्छित त्यो मान्छेलाई

पुलिसले अगालो हाल्यो

भोलि त्यही मान्छे

अस्पतालको शैयाबाट

आफुलाई नयाँ राजा ठान्दै

जनतालाई आतंककारी भन्न थाल्यो

क्या गजवको !

सबैले चिनिएको मान्छे त्यो ।

तपाईको प्रतिक्रिया