शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
काठमाडौ – नेपाली नयाँ वर्षको रमझम छाइरहेका बेला नायक राजेश हमाल भने लन्डनमा भेटिए । संसारा नेपाल युकेले गर्ने ‘शुभकामना साँझ’ का लागि उनी यता आएका हुन् । झन्डै ३ सय नेपाली फिल्मको शीर्ष भूमिकामा देखिइसकेका उनी कार्यक्रमकै लागि बेलायत आएको पहिलोपटक हो । दुई दशकभन्दा बढी समय अभिनयमा विताएका यी सुपरस्टारको बेलायत भ्रमण प्रायः पब्लिकसँग अन्तरक्रिया हुने गरी हुँदैन थियो । यसपटक उनी  विदेश यात्रा, निजी जीवन र फिल्मबारे यसरी खुले-
बेलायतको पहिलो अनुभव ?
९ वर्षको छँदा बुवा र जिजुबुवासँग बेलायत आएको थिएँ । ८० वर्षको जिजुबुवाको इच्छा हाम्रो खान्दानको तीनै पुस्ता एकसाथ विश्वभर साम्राज्य जमाएका अंग्रेजहरूको देश हेर्नुपर्छ भन्ने थियो । इस्ट लन्डनको पेट्टीकोट स्टि्रट मार्केटमा विभिन्न स्टल चाहारेको अझै सम्झना छ । होटलको रोचक सम्झना पनि छ । दायाँतिर जिजुबुवा र बायाँ बुबा सुत्नुहुन्थ्यो । घुर्ने कम्पिटिसन नै हुने भन्या…हा हा हा । मचाहिँ घरि यता पल्टिन्थे घरि उता । सन् १९९९ मा अमेरिकाबाट र्फकंदा डेढ महिना फेरि बेलायत बसें । त्यस क्रममा युरो रेल चढेर पेरिससमेत घुमेको थिएँ । त्यसयता दुईतीन पटक आएको थिएँ, ती सबै नीति तवरको थियो ।
विदेश भ्रमणमा रमाइलो गर्ने तपाईंको तरिका होला । हो । दुई किसिमबाट रमाइलो गर्छु । कार्यक्रममा अडियन्ससँग भेटघाट र गफगाफ गरेर अनि पार्क घुमेर । पार्कहरूमा एक्लै बसेर रमाउँछु, म्युजियम जान्छु । कुनै कफी सपमा बसेर राम्रो भ्यु हेर्दै किताब पढ्छु ।
 यात्रामा तपाइको फरकपन ?
‘ट्राभल’ गर्न असाध्यै मनपर्छ । पब्लिक फिगर भए पनि ‘प्राइभेसी’ लाई महत्व दिन्छु । अरूको घरपरिवार होला, मेरो कोही छैन । दिदीबहिनी विदेशमै छन् । त्यसकारण स्रोत, साधन र समयले भ्याएसम्म घुम्छु । बसिरहन मनै लाग्दैन ।
सपिङ कत्तिको गर्नुहुन्छ ?
सपिङ नरुचाउने मान्छे हुँ म । सपिङ मलाई समयको बर्बादी जस्तो लाग्छ । तर गर्नैपर्ने बाध्यता हुन्छ, किनभने नेपालमा कुन सामान ओरिजिनल, कुन कमसल भन्ने थाहा हुन्न । विदेशतिर महँगो भए पनि ‘स्टेवल’ हुन्छ । दोकान जान्छु, चाहिने कुरा उठाउँछु र्फकन्छु । नेपालमा चाहिँ एकदम कम सपिङ गर्छु ।
अहिलेसम्म कति देश घुम्नुभयो ?
युरोपका प्रायः देश गइसकें । अमेरिका, क्यानडा, कोरिया, जापान, थाइल्यान्ड, फिलिपिन्ससँगै खाडीका थुप्रै कयौं देश घुमेको छु । बाल्यकालदेखि नै हो घुम्ने बानी । बुवा कूटनीतिज्ञ भएकाले सानैमा निकै घुम्ने अवसर मिल्यो । घुम्नु मेरो प्यासन नै हो ।
यात्रा क्रममा भोगेका सुखद, दुःखद् क्षण ?
दुइटा पाटा छन् । नेपाली समुदायमा जाँदा आफ्नै कथा, व्यथा सुन्छु । कसैको पीडादायक, कसैको खुसी । विकसित देश र खाडीमा आफ्नै किसिमका चुनौती छन् । खाडीमा जाँदा नेपाली कामदारको कष्टकर जीवन, मजबुरी देख्छु त्यो तीतो पक्ष छ । युरोप, अमेरिका, जापान बेग्लाबेग्लै समस्या देख्छु । बिच्चामा नेपाली भनेर गर्व गर्थें । ९ वर्षमा युके आउँदा नेपालीको पहिचान बेग्लै थियो । गोर्खाली, नेपाली भनेपछि अर्कै हिसाबले हेरिन्थ्यो । अहिले ‘गर्व’ गर्ने अवस्था छैन् । व्यक्तिका हिसाबले परिचय दिँदा तपाईंलाई राम्रो मानिएला तर देश भनेपछि अर्कै टि्रट हुन्छ । पासपोर्ट हेर्ने वित्तिकै इमिग्रेसनमा पनि भेदभाव हुन्छ । मुलुकको स्थितिले गर्व गर्न नदिएको जस्तो लाग्छ ।
भिसा रिफ्युज भएका घटना पनि छन् ?
रिफ्युज नै गर्‍या त छैन तर विकसित देशमा आउँदा स्वर्गमा जान लागेको जस्तो हिसाबले व्यवहार गरिन्छ । विभिन्न झन्झटिलो प्रोसेस पार गर्नुपर्ने । जस्तो कि बेलायतीहरू नेपाल जान चाहे सजिलै पाउँछन्, हामी आउनचाहिँ हरेक झन्झट । यो सबै देशकै कारण हो भएको हो जस्तो लाग्छ ।
तपाईंलाई सबैभन्दा बढी सोधिने प्रश्न म पनि सोध्छु- बिहेको साइत जुरेन ?
२०६९ भित्र गर्छु भनेर सार्वजनिक गरिसकेको छु । कुनै एक व्यक्तिलाई चिन्छु म । केही वर्ष भयो चिनजान भएको । हतारमा पछुताउनुभन्दा फुर्सदमा गरौं । उनको पनि माइन्ड मेकअप होस् भनेर केही वर्षपछि गर्ने सोचले हो, अब तयारी हुँदैछ । उनी फिल्म लाइनकी होइनन् ।
कसरी गर्ने सोच छ बिहे ?
तामझाम गर्दिनँ । त्यस्तो स्वभाव छैन । तामझाम गर्दा त सुटिङ नै गर्‍याजस्तो लाग्छ । हा हा हा… ।
दुई दशकयता नेपाली फिल्ममा निरन्तर हुनुहुन्छ, कुनै समय राजेशबिनाको फिल्म उद्योग कल्पनै गर्न सकिन्न भन्नेहरू पनि थिए । कोही व्यक्ति नहुँदैमा उद्योग नै नचल्ने होइन । राम गए श्याम आउँछ । बरु, मचाहिँ फिल्मबाहेक अरू कल्पना गर्नै सक्दिनँ ।
‘पपुलारिटी मेन्टेन’ गर्न चुनौती भए जस्तो लाग्दैन ?
अवश्य । फिल्म यस्तो क्षेत्र हो जसमा ५ वर्षअघि मैले राम्रो गर्‍या थें भनेर हुन्न । समय र समाजअनुसार दर्शकको सोचाइ परिवर्तन हुन्छन्, अपेक्षा बढ्छन् । तीन महिनाअघिको ‘च्वाइस’ अहिले राम्रो लाग्न सक्छ । नयाँपन कसरी दिने भन्नेबारे चुनौती सधैं नै हुन्छ ।
नयाँ पुस्ताको ‘वेभ लेन्थ’ मा नेपाली फिल्म जान नसकेको भनिन्छ नि ?
नेपाली फिल्ममा प्रगति नै नभएको भन्न त मिल्दैन । सुरुमा चलचित्र नै बन्थेन नेपालमा । यसैमा करियर बनाउने भन्ने कुरा त सोच्न पनि सकिन्थेन । त्यो स्थितिबाट नेपाली चलचित्र अहिलेको अवस्थासम्म आइपुग्नु प्रगति नै हो । तर अन्तर्राष्ट्रियस्तरमा फड्को मार्न नसकेको चाहिँ स्विकार्नुपर्छ हामीले ।
के कुराले यस्तो बनायो ?
स्टोरी र एक्टिङको मात्र हैन, प्राविधिक रूपमा पनि हामी पछि छौं । हलिउड, बलिउडको तुलनाभन्दा पनि नेपाली फिल्म उद्योगलाई परिमार्जित कसरी गर्ने र फिल्ममा बेग्लै स्वाद, पहिचान कसरी दिने भन्ने आजको मुख्य चुनौती हो ।

तपाईको प्रतिक्रिया