शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
दाङ- नेकपा एमालेका सचिव युवराज ज्ञवालीले माओवादीले नेपाली सेनामा आफ्नो पार्टीको प्रभाव कायम गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । उनले माआवादीले सेना समायोजनका क्रममा महानिर्देशनालयको दोस्रो दर्जा माग्नु सेनामा आफनो प्रभाव कायम गर्ने चाल भएको दाबी गरे ।
रिपोर्टर्स क्लब नेपाल, दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता ज्ञवालीले सेनामा कुनै पनि हालतमा राजनीतीकरण गर्न नदिने स्पष्ट पारे । उनले सेनालाई पूर्णरुपमा व्यावसायिक र लोकतान्त्रीकरण गर्न आफूहरु तयार रहेको भन्दै राजनीतीकरण गर्न भने नहुने सुझाव दिए । उनले सेना समायोजनमा माओवादीभित्र ठूलै अन्यौल रहेको भन्दै पार्टीमा काम गरेको आधारमा सेना हुन नसक्नेसमेत स्पष्ट पारे ।
अर्को एक प्रसङ्गमा नेता ज्ञवालीले नेपाली राजनीति विराट सम्भावना र चुनौतीको दोसाँधबाट अघि बढिरहेको भन्दै माओवादीले ७ बुँदे सहमति पालना गरे वर्तमान समस्या समाधान हुने बताए । उनले माओवादीमा उग्रवामपन्थी चिन्तन, एकदलीय तानाशाही सोच र हतियारप्रतिको मोह कायम रहेसम्म मुलुकले निकास नपाउने दाबी गरे ।
नयाँ संविधानमा मिश्रित निर्वाचन प्रणाली राख्‍न दलबीच सहमति हुने विश्वास व्यक्त गर्दै उनले शासकीय स्वरुपमा पनि एमालेले राखेको प्रत्यक्ष निर्वाचित प्रधान मन्त्री र संवैधानिक राष्ट्रपति उत्तम विकल्प रहेको बताए । उनले संविधान निर्माणमा अबको जटिल विषय भनेको राज्य पुनर्संरचनामात्र रहेको भन्दै त्यस विषयमा दलहरुले गम्भीररुपमा छलफल अगाडि बढाउनुपर्ने धारणा राखे ।

तपाईको प्रतिक्रिया