शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

आफूलाई सबैभन्दा पूरानो र जेठो प्रजातान्त्रिक दल बताउने नेपाली काँग्रेस’ स्वार्थी कार्यकर्ताका कारण कहिल्यै पार्टी विवादबाट माथि उठ्न सकेको छैन । पार्टी विवादको रोग देशभित्र मात्रै होइन, विदेशमा समेत संक्रमित भएको छ । धन कमाउने सपना पाल्दै देश त्यागेर वा छाडेर विदेशका विभिन्न मुलुकमा पुगेका नेपालीहरु त्यहां पनि विभिन्न स्वार्थमा परेर राजनीति गर्ने नाममा विभिन्नखाले बखेडा झिक्ने गरेको पाईएको छ । नेपालमा राजनीति गर्दागर्दै होस् या उतै गईसकेर राजनीतिमा सक्रियता जनाएका किन नहोउन, पार्टी हितमा भन्दा पनि आफ्नै स्वार्थपूर्ण व्यवहारमा पर्दा विवाद चर्कने गरेको हो । लोकतान्त्रिक आन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको दोस्रो पुण्य तिथिका अवसरमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा बेल्जियमका काँग्रेसीहरुले कोइरालाको योगदानको चर्चा भन्दा पनि पार्टी बिवादको विषयलाई चर्को रुपमा उठाएर आफ्नो चरित्र सार्वजनिक गरेका थिए । नेपाली काँग्रेस’को यूरोपका विभिन्न मुलुकमा स्थापना भएका संगठनभित्र यतिबेला विवाद निकै चर्केको छ, यसै विषयलाई लिएर नेपाली काँग्रेस यूरोपका संयोजक दिल गुरुङसंग गरिएको छोटो कुराकानी :-

यूरोपमा ‘नेपाली काँग्रेस’ को त चर्को विवाद छ रे नि ?
सिंगो यूरोपमा होइन, बेलायत र बेल्जियममा विवाद देखिएको छ । यो विवाद नयाँ होइन, पूरानै हो । छ-सात वर्षदेखि नै मिल्न सकेको छैन । पार्टीहितका लागि भन्दा पनि पदका कारण भएको झगडा हो । पाँच वर्षअघि मैले ठूलै प्रयासका साथ विवाद मिलाएको थिएँ तर, सँधैं मिलीरहन सकेन । सानो बेल्जियममा पनि यसरी संगठनभित्र फुट र विवाद आउन नहुने हो । यसले सिंगो पार्टीलाई नै असर पार्छ । पार्टी केन्द्रीय कार्यालयलाई नै नकारात्मक असर पर्छ । तसर्थ, नेपाली काँग्रेसले नै विवादमाथि हस्तक्षेप गर्नुपर्ने देख्छु, अब पनि पार्टी चुप लागेर विवाद चर्केको हेरेर बस्नु हुँदैन ।

 विवादको मुख्य जड के हो त ?
चार वर्ष अघि गंगाधर गौतमलाई अध्यक्ष बनाइएको भए पनि दुइ वर्षअघि उल्का घिमिरे अध्यक्ष भएर समानान्तर संस्था खोलेपछि विवाद चर्केको हो । त्यसबेला नै अधिवेशन गराइनुपर्नेमा महासमितिको मात्रै अधिवेशन गराइयो, त्यो प्रक्रिया नै गलत थियो । त्यसबेला सबैलाई महासमिति सदस्य बन्ने चाहाना बढ्यो । पार्टीको केन्द्रीय अधिवेशनका लागि महासमिति सदस्य चयन गर्न विलम्व गर्नु हुन्थेन त्यसबेला । पछि महासमिति सदस्यले पनि अधिवेशनको चाहाना गरेपछि विवाद बढेको हो । त्यो अधिवेशन दशैंको मुखमा राखिएको थियो । त्यसबेला नेपालमा एनआरएनको साधारणसभा थियो र अधिकांश काँग्रेसका सक्रिय सदस्यहरु एनआरएन भेलामा सहभागि हुन नेपाल गएका थिए । त्यसैबेलादेखि अधिवेशनको विषयलाई लिएर विवाद चर्केर आइरहेको छ ।

तपाईं ‘नेपाली काँग्रेस’को यूरोप संयोजक, तपाईँले नै हैन र विवाद मिलाउन पहल गर्नुपर्ने ?
मैले धेरै कोशिस गरें तर, पनि सकिन । विवाद मिलाउन म बेल्जियम गएर ३-४ दिनसम्म बसें । एकै शब्दमा भन्नुपर्दा पार्टीको हकहितका लागि काम गर्न भनेर विवाद भएको होइन, यो सबै विवाद ‘स्वार्थी काँग्रेसी’का कारण भएको हो । जहाँ पदको लोभ हुन्छ, त्यहाँको विवाद कसरी मिल्छ ? देशमा शान्ति र संविधानका लागि बहस चलिरहेको अवस्था छ । दुइ महिनापछि देशको भविष्य कता जाने हो ? यस्तो अप्ठ्यारो अवस्थामा हामी विकसित मुलुकमा बसेका प्रजातन्त्रवादीहरुले त आ-आफ्ना पार्टीका शिर्षनेतालाई यसो गर, उसो गर भनेर सुझाव पठाउनुपर्नेमा उल्टो आफू-आफू विवाद गरेर पार्टी शिर्षनेतालाई नै तनावमा पारिदिने काम गर्नु कति सुहाउँदो विषय हो ? अनावश्यक विवादमा उत्रने साथीभाईलाई म के भन्न चाहान्छु भने, प्रतिस्पर्धात्मक राजनीति नै गर्नु छ भने नेपालमै गएर गरे हुन्छ, यहाँ भनेको त प्रजातन्त्रवादी बिचारधारा भएका हामी सम्पूर्ण नेपालीले आफ्नो आस्थाको धरोहरको हितमा संगठन विस्तार गर्ने, पार्टी नेतृत्वलाई सघाउन उर्जा बन्नु पर्ने हो । धनको लोभमा परेर राजनीति त के परिवार समेत त्यागेर विदेशिने, अनि विदेशमा आएर पनि काँग्रेसी राजनीति गर्छु भनेर हुन्छ ?

तपाईं संयोजक भएर पार्टी हित विपरित चल्नेहरुमाथि अनुशासनको कारवाही गर्न नसक्नु भएको हो कि ?भन्नलाई सजिलो छ, गर्न गाह्रो छ । अनुशासनको कारवाही कसकसलाई मात्र गर्ने ? पार्टी सभापति सुशील दाईकै निर्देशन पालना भएको छैन भने मेरो कसरी होला ?

यूरोपका अन्य मुलुकमा कस्तो छ त काँग्रेसको संगठन ?
बेलायतमा पनि त्यस्तैखाले विवाद छ, तर अन्यत्र छैन । र, संगठन विस्तार पनि क्रमशः भइरहेको अवस्था छ ।

बेल्जियमको विवाद कसरी मिल्ला त ?
पार्टी हस्तक्षेप गर्नुपर्छ र एउटा स्पष्ट निर्देशन यसो गर भनेर सुझाव दिनुपर्छ । नेपालको गाउँमा भन्दा पनि बेल्जियममा झगडा चर्केको छ । आठ सय क्रियाशिल सदस्य भएको देशमा ससाना विवाद संगठन अल्झिरहन दिनुहुँदैन । अब पहिलाजस्तो जनसम्पर्क समितिको मात्रै हैसियतमा हामी छैनौं । महासमिति सदस्य पाएपछि हामी नेपाली काँग्रेसको एउटा जिल्ला संगठनको हैसियतमा छौं । त्यसैले पनि हामी काँग्रेसको नीति, नियम र विधानअनुसार चल्नुपर्छ ।

त्यहाँको विवाद केन्द्रीय कार्यालयलाई जानकारी गराउनु भयो त ?
गराइँसके । अर्को अधिवेशनको अवधि साढे दुइ वर्षको छ , त्यतीञ्जेलका लागि अधिवेशन गराउनुभन्दा पनि अबका दिनमा संगठनलाई कसरी अघि बढ्ने भनेर क्रियाशील सदस्यको बहुमतका आधारमा तय गर्नुपर्छ भन्ने पनि पार्टीलाई सुझाव दिएको छु । प्रजातान्त्रिक प्रक्रिया बाहिर गएर छ वर्षका लागि कसैलाई अध्यक्ष मानिरहने कुरा पनि हुन सक्दैन । त्यसैले ८ सय मध्येबाट छानेर अर्को अधिवेशनसम्म पालैपालो नेतृत्व मिलाएर लैजानुपर्छ । ४ वर्ष पुगिसक्यो, २ वर्ष अधकल्चो देखिएको छ ।
जवसम्म कुनै पनि संघसंस्था सिस्टममा चल्दैन, तबसम्म लक्ष्यमा पुग्न सकिँदैन । महासमिति सदस्य नपाउँदाको अवस्थामा आफूखुसी जे-जे गरे पनि अबका दिनमा त्यसरी मनलागि गर्नबाट पार्टी हस्तक्षेप गर्नैपर्छ । किनकी, हरेक कार्यकर्ता सक्षम छन्, तीनै सक्षम कार्यकर्ता प्रजातन्त्रको रक्षाका लागि नेपाली काँग्रेसमा समाहित भएका हुन् । हिजोका दिनमा जस्तो अबका दिनमा काँग्रेसमा राजनीति गरेकै भरमा आफूखुसी गर्ने दिन गए । अब त राजनीति भनेको देश र जनताका लागि निस्वार्थ भावका साथ गरिने सामाजिक योगदानको अर्को पाटो बन्न पुगेको छ । ***

 

तपाईको प्रतिक्रिया