बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024
सुव्रत आचार्य
नायिका ऋचा घिमिरेले गर्भावस्थाको छैटौं महिनामा काठमाडौं क्रेज डट कमका फोटोग्राफर कवीन्द्रमान शाक्यसँग फोटोसेसन गराइन्। युरोप,  अमेरिकातिर मात्र देखिने यस्तो सौख नेपालमा सम्भवतः पहिलोपल्ट देखा परेको हो। अर्को रोचक कुरा त के भने उनले ती तस्बिर सार्वजनिक  गर्न समेत रुचि देखाइन्। यसअघि नायिकाहरू सञ्चिता लुइँटेल र अरुणिमा लम्सालका गर्भवस्थाका केही तस्बिर सार्वजनिक भए पनि उनीहरूले फोटोसेसन नै गराएको कुराचाहिँ चर्चामा आएन। ऋचाको गर्भावस्थाको तस्बिरले डेमी मुरको गर्भावस्थाका तस्बिरको सम्झना दिलाए  पनि उनले आफ्नो पेटलाई मुरले जस्तो खुला भने राखेकी छैनन्।
‘गर्भवती भएको छ महिनामा मैले आफन्त तथा परिचितबाट दुई किसिमका प्रतिक्रिया पाइरहेकी छु। एकथरी मैले हतार गरेको भन्दैछन् भने  अर्काथरी सही समयमा बच्चा जन्माउने भएकामा खुसी व्यक्त गर्दैछन्। वास्तविकतामा भने शंकरजी (निर्देशक शंकर घिमिरे) र मैले बच्चा  पाउने ‘प्लान’ नै गरेका हौं र त्यही अनुरूप म गर्भवती भएकी हुँ,’ -मंगलबार बिहान चलचित्र ‘तुलसी’को स्वराङ्कनमा जान हतारिरहेकी  नायिका ऋचा घिमिरेले भनिन्।
‘अलिकति डर, अलिकति कौतूहलता मनमा खेलिरहेको छ। अब के हुन्छ र कसरी हुन्छ ? भन्ने उत्सुकता मनमा छ। मात्र तीन महिना बाँकी छ,  त्यसैले दिन नजिकिँदै आएकोमा मन डराइरहेको पनि छ,’- डा. ज्योति शर्माका अनुसार काली सुन्दरी नायिका ऋचा घिमिरे असारको अन्तिम  साता आमा बन्दैछिन्। चलचित्रको पर्दामा अभिनय गर्ने क्रममा समेत एकपटक पनि आमाको अभिनय नगरेकी यी नायिका वास्तविक जीवनमै  बच्चा जन्माउँदैछिन्। त्यसैले ऋचामा डर र कौतूहलता हुनु स्वाभाविक हो। यस्तो अवस्थामा पनि चिकित्सकसँग सल्लाह गर्दै उनी श्रीमान् शंकर घिमिरेसँग चितवन र हङकङ पुगेर आइसकेकी छिन्। होम प्रोडक्सन चलचित्र ‘तुलसी’ लाई विदेशमा रिलिज गर्ने दौडधूपमा पनि उनी  व्यस्त छिन्। ‘नेपालमा रिलिज हुँदा म सुत्केरी हुन्छु होला, त्यतिबेला यसरी चलचित्रका लागि खट्न सकिँदैन कि ?’ उनले भनिन्।
‘यो क्षेत्रमा लागेको डेढ दशक हुन लाग्यो। दिनको दुई चार पटक खाना नखाएको पनि त्यति नै समय भैसकेको थियो। अहिले म दिनको दुई  पटक त्यो पनि स्वस्थकर पौष्टिक खाना खाइरहेकी छु। त्यहीअनुरूप मेरो तौल पनि बढ्दै छ। यही महिना मात्र सात किलो बढेछु,’ -ऋचालाई  आफू मोटाउँदै गएकोमा चिन्ता छैन। बरु पेटमा रहेको आफ्नो शिशुका लागि उनी चिन्तित छिन्। आफ्नै आन्टी (आमाकी बहिनी) डा. ज्योति  शर्माबाट लगातार सल्लाह-सुझाव पाइरहेकीले उनमा आत्मविश्वास पनि बढेको छ। त्यसबाहेक उनलाई आमा भएको अनुभव सँगालिसकेका  नायिकाहरू मेलिना मानन्धर, सञ्चिता लुइँटेल र अरुणिमा लम्सालले पनि सल्लाह  सुझाव दिइरहेकाले बच्चा जन्मने दिन नजिकिँदै गएकोमा  उनी थप उत्सुक भैरहेकी छिन्।
‘अल्ट्रासाउन्ड (भिडियो एक्सरे) गराउँदा रेडियोलोजिस्टलाई मैले मेरो गर्भमा छोरा वा छोरी भएको विषयमा जान्न नचाहेको बताए, किनभने  मेरो लागि छोरा वा छोरी जे जन्मिए पनि उत्तिकै माया रहन्छ। फेरि नजन्मिएसम्म त्यो पनि त एउटा उत्सुकता नै रहन्छ नि।’ ऋचाले आफ्नो  सन्तानको दुईवटा नाम राख्ने निधो भने गरिसकेकी छिन्। ‘एउटा बोलाउने नाम राख्छु, जुन अंग्रेजीमा हुनेछ भने अर्को उसलाई चिनाउने नाम  संस्कृत शब्दबाट खोज्नेछु, तर अहिले नै त्यसका लागि हतार छैन। पहिले शिशु त जन्मियोस्।’

तपाईको प्रतिक्रिया