बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024
काठमाडौं- नेपाली सेनाको त्रिभुवन आर्मी क्बलले यहाँ सञ्चालित एएफसी च्यालेञ्ज कप फुटबलमा सहभागी नेपाली टोलीमा रहेका आफ्ना तीन मध्ये दुई खेलाडीलाई फिर्ता लगेको छ । मिड फिल्डर राजु तामाङ र गोल रक्षक विकास मल्ललाई फिर्ता लगेका हुन् ।
हिजो राति साढे ११ बजे गोदावरीस्थित नेपाली टोली बसेको होटल भ्यु भृकुटीमा आएर मिड फिल्डर राजु तामाङ र गोल रक्षक विकास मल्ललाई फिर्ता लगेका हुन् । अर्का खेलाडी टंक बस्नेतलाई भने नलगेको एन्फा श्रोतले बताएको छ।
नेपाली टोलीका प्रशिक्षक ग्राहम रोबर्टले ती खेलाडीलाई लैजानबाट रोक्ने प्रयास गरे पनि उनीहरूले नमानेको श्रोतले जनाएको छ ।
‘प्रशिक्षकले रोक्न खोजेका थिए । तर उनीहरूले मानेनन्,’ श्रोतले भन्यो ।
उपत्यकामा २६ फागुनबाट नेपाली सेनाको आयोजनामा सञ्चालित प्रथम दक्षिण एसियाली सैनिक खेलकुद प्रतियोगिता सञ्चालन भइ रहेको छ । त्यही प्रतियोगितामा सहभागी गराउन ती खेलाडीलाई लगेको सेनाले बताएको छ ।
‘आज हाम्रो निकै महत्वपूर्ण खेल छ । दुबै खेलाडीको अभाव हामीलाई हामीले महसुस गरिरहेका थियौँ,’ सेनाका प्रवक्ता रमिन्द्र क्षत्रीले भने ।
प्रतियोगिता अन्तर्गत आज नेपाली सेनाको टोलीले श्रीलंकाली सेना विरुद्ध खेल्दै छ । उता एएफसी च्यालेञ्ज कपबाट बाहिरिइसकेको नेपाली टोलीले आज आफ्नो समूहको अन्तिम खेलमा तुर्कमेनिस्तानको सामना गर्दै छ ।
यसअघि नेपाली टोली उद्घाटन खेलमा प्यालेस्टाइनबाट २-० गोलले पराजित भएको थियो भने शनिबार मालद्धिब्सबाट १-०ले हारेको थियो ।
दुबै खेलमा राजु तामाङ खेलेका थिए ।

तपाईको प्रतिक्रिया