बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिश्वभरिका शोषित पीडित महिला समुदायको मुक्ति र समुन्नतिका निमित्त राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक हरेक क्षेत्रमा महिलाहरुलाई समान अवसर दिलाउनका लागि उचित बातावरणको सिर्जना गर्दै महिला सचेतना र संघर्षको बिकास गर्ने हेतुले मार्च ८ तारिखका दिन बिश्वब्यापीरुपमा अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो ।

यसरी यो दिवस औपचारिक रुपमा मनाउन शुरु गरिएको आज १०२ बर्ष पुगिसकेको छ । यस दिनले बिश्वभरीका र खासगरी नेपालका सम्पूर्ण शोषित पीडित महिला समुदायलाई आफ्ना हक अधिकारको निमित्त सचेत, संगठित र सक्रिय भएर संघर्षको मैदानमा उत्रनका लागि संघर्षमय प्रेरणा देओस्. भन्ने हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

नेपालको ऐतिहासिक जनआन्दोलनमा महिलाहरुको अत्यन्त महत्वपूर्ण भूमिका र बलिदानीपूर्ण संघर्षले गर्दा नेपाली समाजमा राजतन्त्रको अन्त्य भएर संघीय गणतान्त्रिक लोकतन्त्र नेपालको आरम्भ भएको सर्बबिदितै छ । यद्यपि हाम्रो समाज अझै पनि सामन्ती तथा अर्धसामन्ती अवस्थाबाट गुज्रिरहेकोले नेपाली महिलाहरुले अझै पनि सामाजिक तथा लैंगिक शोषण र उत्पीडन झेल्नु परिरहेको अवस्था छ । देशमा बिद्यमान यस्तो अवस्थालाई आमूलरुपमा परिवर्तन नगरिएसम्म नेपाली समाजका शोषित पीडित बर्ग र बिशेषगरी महिला समुदायले पितृसत्तात्मक सामन्ती शोषण, अन्याय, अत्याचार, हत्या, हिंसा, बलात्कार, थिचोमिचो तथा साम्राज्यवादी शोषण तथा उत्पीडनबाट मुक्ति पाउन संभव छैन । त्यसो भएकोले तमाम शोषित पीडित बर्ग र समुदायसँग एकजुट भएर नेपाली शोषित पीडित महिलाहरुले आमूल सामाजिक परिवर्तनको संघर्षलाई निर्णायक उचाईमा पुरयाउन योगदान गर्न अझ धेरै बाँकी छ ।

यतिबेला नयाँ संविधान निर्माणको क्रम अन्तिम चरणमा पुगेकोले संबिधानमा महिला हक हितका कुराहरुलाई ब्यवस्थित गर्न अधिकतम प्रयत्न गर्नुपर्ने बेला छ । यस कार्यमा सम्पूर्ण संविधान सभाका सभासदहरु अझ महिला सभासदहरुले महिलाहरुको हकहित र अधिकारका लागि आवश्यक ब्यवस्था गर्न सबैभन्दा चनाखो र सक्रिय हुनुपर्ने बेला आएको छ । यस सन्दर्भमा भाषण र नारामा भन्दा ब्यवहारमा महिलाहरु सचेत, सजग र जिम्मेवार हुँदै रुपान्तरित हुने दिशामा यस १०२ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसले थप प्रेरणा प्रदान गरोस, यस अवसरमा घरदेशलगायत परदेशमा रहेका समस्त नेपाली महिला दिदिबहिनीहरुमा हार्दिक शुभकामना । ***

तपाईको प्रतिक्रिया