शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

गणतान्त्रिक मुलुक नेपालको संबिधानमा स्पष्ट ब्यवस्था गर्न राज्यको शासकीय स्वरुप र राज्यको पुनरसंरचनाको बिषय अहिले सबैभन्दा केन्द्रिय बहसकारुपमा उठिरहेको छ । मुलुकको सामाजिक, आर्थिक, साँस्कृतिक र राजनैतिक हरेक हिसाबले दीर्घकालिन महत्व राख्ने यी गहन बिषयहरुमा गएर अहिले संबिधान निर्माण कार्य रोकिएको अवस्था छ । बिभिन्न तह र तप्काका बुद्धिजीवी, ब्यवसायी, लेखक र राजनीतिक खेलाडिहरुले आ–आप्mनै ढंगले उक्त बिषयहरुमा ब्याख्या र परिभाषा गर्दै आईरहेको भएपनि नेपालको हावापानी र परिस्थिति सुहाउँदो शासकीय स्वरुप र राज्यको पुनरसंरचना ठ्याक्कै यस्तै भएमा राम्रो हुन्छ भन्नेमा अझै मतैक्यता निर्माण हुन सकेको देखिँदैन ।

प्रस्तुत बिषयहरुमा राजनीतिक पार्टीहरुका आ–आफ्नै स्वार्थ र हारजीतको अंकगणित आफ्ना ठाउँमा अवश्य होलान् यद्यपि, मुलुकको हित र नेपाली जनताको भावनाको प्रतिनिधित्व गर्दै यी बिषयहरुमा अन्य थुप्रै जिम्मेवार क्षेत्रबाट खासै आवाज उठ्न सकिरहेका छैनन् ।

मुलुकको मुल कानुनमा ब्यवस्था गरिनुपर्ने यी र यस्ता अत्यन्त संबेदनशील बिषयहरुमा सबै बर्ग, क्षेत्र र तहबाट आ–आफ्ना धारणा अभिब्यक्त हुन सक्यो भने बहसले थप सार्थकता पाउनेमा दुई मत नहोला । राजनैतिक पार्टीहरुका क्रियाकलापबाट उदासिन बनेका नेपाली जनताका कुनैबेला असाध्यै बलियो जनआधार र बिश्वास आर्जन गर्न सफल नागरिक समाज अहिले मौनता साँधेर बसेको देखिन्छ । मुलुकको सामाजिक, आर्थिक र साँस्कृतिक रुपान्तरण गर्दै नयाँ नेपाल निर्माण गर्ने अभियानमा राज्यसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका हामी प्रवासमा रहेका नेपालीहरुबाट पनि राज्यको शासकीय स्वरुप र राज्यको पुनरसंरचना जस्ता अत्यन्तै गहन बिषयमा खासै चासो र चिन्ता अभिब्यक्त हुन सकिरहेको देखिँदैन ।

के हामी लाखौंलाख बिदेशमा बस्ने सचेत नागरिकहरुलाई मुलुकको मुल कानुनमा ब्यवस्थापन गरिन लागेको यस्ता गम्भीर बिषयमा पटक्कै चासो र सरोकार नभएकै हो त ? खासगरी बिदेशमा रहेका तीसौं लाख नेपालीहरुको प्रतिनिधित्वमुलक संस्था मानिने गैर आवासीय नेपाली संघले यस्ता बिषयमा प्रतिनिधित्वमुलक धारणा निर्माण गरिनु आवश्यक छ । मुलुकको बिकास निर्माणमा जिम्मेवार भूमिका निर्बाह गर्न सक्ने हैसियत राख्ने एनआरएनले यस्ता मुलभूत बिषयहरुमा उदासिनता देखाउनु भनेको सबैभन्दा सचेत र सक्रिय वर्ग सबैभन्दा महत्वपूर्ण बिषयमा सबैभन्दा निष्क्रिय र मौन रहनु जस्तै हो । त्यसैले यस्ता बिषयहरुमा बिदेशमा रहेका नेपालीहरुको प्रतिनिधिमुलक आवाज निर्माण गर्न नेपालीहरुमाझ समय समयमा ब्यापक छलफल तथा बहस हुनु जरुरी छ, जसले गर्दा हाम्रा आवाजहरु सम्बन्धित निकायमा पुग्न सकोस् र थोरै भएपनि लागु गर्न सकियोस् अनि बिशेष मुद्धाहरुमा हाम्रो पनि दह्रो उपस्थिति जनिन सकोस् ।

तपाईको प्रतिक्रिया