शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

कोलोराडो –  अन्तरराष्टिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा शनिबार कोलोराडोको लेकुटमा साहित्य संगम कवि गोष्ठी सम्पन्न भयो ।

गायक मनोज तुलाधर तथा रमिता तुलाधरको आतिथ्यमा सम्पन्न कवि गोष्ठीमा १२ जना कवि, कवयत्रीले आ-आफ्नो कविता बाचन गरेका थिए । यसरी कविता बाचन गर्नेहरुमा बरिष्ठ गायक हिरण्य भोजपुरे, डा. विजयराज शर्मा, आचार्य प्रभा, निर्मल प्याकुरेल, भूपेन्द्र महत, पदम बिश्वकर्मा, उर्मिला भोजपुरे, मीना पौडेल, हरी अधिकारी लगायतका कवि तथबब कवयत्री रहेका थिए । कार्यक्रममा मनु ब्राजाकीले पठाउनुभएको कविता पनि वाचन गरेर सुनाईएको थियो ।

हाईकु, गद्य, पध्य, श्रृँगारिक जस्ता शैलीहरुमा बाचन गरिएका अधिकाँश कविताहरुमा नेपालको विगत र बर्तमान स्थिति झल्काउन खोजिएको थियो । मनिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा पुगेपनि, जस्तोसुकै सुःख र सुविधा उपभोग गरेपनि जन्मे हुर्केको देशको माया ममता त्याग्न सक्दो रहेनछ भन्ने दृश्य यहाँ प्रष्ट देख्न सकिन्थ्यो । कतिपय कवि कवयत्रीले नेपाली दाजुभाई दिदीबहिनीले अहिले भोग्नुपरेको पीडा, नेताहरुको मनोमानी ज्यादै मार्मिक तरिकासंग कवितात्मक शैलीमा प्रस्तुत गरेका थिए ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा गायक मनोज तुलाधरले जहाँछन बुद्धका आँखा भन्ने मार्मिक राष्ट्रिय गीत गाएर श्रोताहरुलाई एकछिन स्तब्ध पारीदिनुभएको थियो । मानिस जहाँ जसरी रहेपनि नेपाल र नेपालीको भाषा सँस्कृति जोगाई राख्नुपर्दछ भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सभापति विश्वकर्मा बताउनुभयो । हामी अहिले पश्चिमी सँस्कृतीमा भुलेर बस्ने हो भने बिदेशमा रहेका हाम्रा सन्ततिले भोली पर्खा जन्मेको देशनै बिर्सने उहाँको दावी थियो ।

हरेक महिनाको अन्तिम शनिवार आयोजना गरिने साहित्य संगम कविगोष्ठी कोलोराडोमा नियमित हुनेगरेको प्रमुख साहित्यिक कार्यक्रम हो । ***

 

 

तपाईको प्रतिक्रिया