शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – आज टोकियोमा विविध कार्यक्रमहरुसहित ३० औं मगर दिवस तथा प्रथम शहिद लखन थापा मगरको १३५ औं स्मृति दिवस मनाईयो ।

नेपाल मगर संघ टोकियो जापानको आयोजनामा भएको सो दिवस समारोह प्रथम शहिद लखन थापाको तस्वीरमा माल्यार्पणबाट शुरु भएको थियो ।

आयोजक संस्थाका अध्यक्ष शैलेन्द्रकुमार थापा मगरको सभापतित्वमा भएको सो समारोहमा जापानमा क्रियाशील बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले ३० औं मगर दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना ब्यक्त गर्दै शहिद लखन थापाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष ध्रुब भट्टचन, थकाली सेवा समितिका अध्यक्ष शरदकुमार गौचन, तमु धीं जापानका अध्यक्ष हर्क गुरुङ, नेपाली जनसम्पर्क समिति जापानका कार्यवाहक अध्यक्ष पासाङ शेर्पा, तामाङ समाज जापानका अध्यक्ष सुकमान थिङ तामाङ, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ललगायतका ब्यक्तिहरुको उपस्थिति तथा शुभकामना मन्तब्य रहेको थियो ।

औपचारिक कार्यक्रम पश्चात कार्यक्रम साँगीतिक माहौलमा परिबर्तन भएको थियो । दोहोरी, लोकभाका तथा झ्याउरे गीत तथा नृत्यमा मनोरञ्जन गर्दै कार्यक्रम समापन गरिएको थियो । साँगीतिक मनोरञ्जनलाई त्यहाँ घुम्न आएका बिदेशी पर्यटकहरुले पनि रमाईलो मानेर साथ दिएका थिए ।
सो अवसरमा नेपाली तथा ईण्डियन रेष्टुरेन्ट रोजिनाको ब्यवस्थापनमा तयार पारिएको सेलरोटी, आलुको अचारलगायतका नेपाली परिकारहरुको स्वाद लिंदै सहभागीहरुले मनोरन्जन लिएका थिए ।
संघका सचिव तोरण थापाको सञ्चालन रहेको सो कार्यक्रमको अन्तमा सभापति शैलेन्द्रकुमार थापाले उपस्थित समस्त महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्दै आगामी बर्षहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रम हाराजुकुस्थित योयोगी पार्कमा भएको थियो, जहाँ दिनहुँ हजारौंका सँख्यामा स्वदेशी तथा बिदेशी पर्यटकहरु अवलोकन गर्न आउने गर्दछन् । ***

तपाईको प्रतिक्रिया