मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

नेपालमा लगानीका असिम संभावना – पन्त
टोकियो – नेपाल लगानी बोर्डका कार्यकारी प्रमुख राधेश पन्तले स्वदेशी तथा बिदेशी दात्तृसँस्थाहरुबीच लगानी मैत्रि वातावारणको निर्माण गरी नेपालमा लगानी भित्र्याउन प्रोत्साहित गर्न नेपाल लगानी बोर्ड क्रियाशील रहेको बताए । उनले मुलुकमा छिट्टै राजनैतिक स्थिरता कायम हुने र त्यसपछि नेपालमा बिभिन्न क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण निर्माण हुने बिश्वास पनि ब्यक्त गरे ।

जापान सरकारको निमन्त्रणामा एक कार्यक्रमका लागि जापान आएका पन्तको स्वागत तथा सम्मानमा गैर आवासीय नेपाली संघ जापानद्वारा मंगलबार साँझ टोकियोमा आयोजित रात्रीभोजसहितको एक परिचयात्मक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त बिचार ब्यक्त गरेका हुन् ।

“नेपालमा अथाह प्राकृतिक श्रोतका भण्डारहरु छन्, लगानीका लागि नेपाल अत्यन्तै राम्रो अवसर भएको देश हो, तर यति हुँदैमा बिदेशी तथा स्वदेशी जो कोही त्यतिकै लगानी गर्न नेपाल आउँदैनन्, यसका लागि लगानीपूर्ण मैत्रि वातावरण निर्माण हुन आवश्यक छ” कार्यकारी प्रमुख पन्तले भने – “सरकार, राजनीतिक दल लगायत निजी क्षेत्र सबै मिलेर मुलुकमा आर्थिक एजेण्डालाई अगाडि बढाउनु आजको आवश्यक्ता हो, यस सवालमा गैरआवासीय नेपालीहरुको भूमिका पनि अत्यन्त महत्वपूर्ण रहेको छ । बिदेशमा कमाई गरिरहेका नेपालीहरुको पूँजीलाई एकत्रित गरी उपयुक्त क्षेत्रको पहिचानकासाथ नेपालमा लगानी गर्नका लागि एनआरएनहरुले आफ्नो भूमिकालाई थप तिब्र पार्दै कार्यान्वयनको तहमा उत्रिनुपर्ने बेला आएको छ, यसका लागि लगानी बोर्डका तर्फबाट पूर्ण सहयोग रहने कुरामा प्रतिबद्ध छौं – पन्तको भनाई थियो ।

कार्यक्रमका सभापति एवं एनआरएन जापानका अध्यक्ष ओम गुरुङले श्री पन्तलाई फूलको गुच्छा र खादार्पण गरी स्वागत गरेका थिए । सो परिचयात्मक अन्तरक्रिया कार्यक्रममा नेपाली दूतावासका उपनियोग प्रमुख तापस अधिकारीले नेपालमा लगानी भित्र्याउने सन्दर्भमा लगानी बोर्ड र एनआरएनबीचको सहकार्य आवश्यक रहेको विचार ब्यक्त गरेका थिए ।

एनआरएन अभियानसंगै झण्डै एक दशक अघिबाटै शुरु भएको सामूहिक लगानीको अवधारणा पछिल्लो चरणमा थप पेचिलो बन्दै गईरहेको सन्दर्भमा स्वयम लगानी वोर्डका जिम्मेवार ब्यक्तित्व जापान आएको अवसरमा एनआरएन जापानले उक्त कार्यक्रमको आयोजना गरेको हो । बिषयगत हिसाबले अत्यन्त समसामयिक एवं एनआरएनसंग सम्बन्धित कार्यक्रममा मुलत: नेपालमा गैरआवासीय नेपालीहरुको पूँजीलाई के कसरी भित्र्याउन सकिन्छ भन्ने बिषयमा  छलफल र बिचारबिमर्श केन्द्रित रहेको थियो ।
सो अवसरमा सामुहिक लगानीको अवधारणालाई सर्बसाधारण सबैले बुझ्ने भाषामा थप प्रष्ट पारिनुपर्ने, बिषय मात्र उठान गरिरहनुभन्दा उपयुक्त क्षेत्रको शिघ्र पहिचान गरी लगानीका लागि स्पष्ट योजना अगाडि बढाईनुपर्ने, नेपालमा लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न सम्बन्धित सबै जिम्मेवार हुनुपर्नेमा जोड दिईयो ।

कार्यक्रममा बिभिन्न राजनैतिक तथा गैर राजनैतिक संघसंस्थाका प्रतिनिधिमुलक उपस्थिति र छलफलमा सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै एनआरएन आइसीसीका कोषाध्यक्ष भवन भट्टले एनआरएनहरुको सामुहिक लगानीको एक उदाहरणको रुपमा बिबि एअरवेज शुरु हुन गईरहेको र यसमा एनआरएनहरुले क्षमताअनुसारको लगानी गर्न सक्ने बताए । सो अवसरमा एनआरएन आइसीसी लगानी टास्कफोर्सका सहसंयोजकसमेत रहेका  सिटी एक्सप्रेस जापानका अध्यक्ष महेशकुमार श्रेष्ठ, जेएमई जापानका कार्यकारी प्रमुख डिपी अर्याल, जेनिथ रेमिट्का अध्यक्ष मेघ केसी, डाईरेक्टहरु दिलु खत्री, चन्द्र खत्री एवं सन्त खत्रीलगायतका ब्यवसायीहरुका साथै नेपाली जनसम्पर्क समिति जापानका कार्यवाहक अध्यक्ष पासाङ शेर्पा, नेपाली जनप्रगतिशील मोर्चा जापानका महासचिव डा. भूपालमान श्रेष्ठ, नेपाली लोकतान्त्रिक मञ्च जापानका महासचिव सुन्दर पौडेल, सल्लाहकार राजकुमार पन्डित, नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष ध्रुब भट्टचन, थसेस जापानका अध्यक्ष एवं एनआरएन जापानका प्रवक्ता शरदकुमार गौचन, तामाङ समाज जापानका अध्यक्ष सुकमान थिङ तामाङ, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानका अध्यक्ष प्रकाश पौडेल “माइला”, नेपाल जापान साँस्कृतिक तथा मैत्री संघ जापानका अध्यक्ष विनोद शेरचन, समुद्रपारि डट कमका प्रधानसम्पादकसमेत रहेका नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लको संस्थागत उपस्थिति र प्रस्तुत बिषयमा छलफलमा सहभागिता रहेको थियो । यसैगरी सो अवसरमा एनआरएन जापानका उपाध्यक्ष चिरिञ्जीवी थापा, सल्लाहकार डा. राम गिरी, सदस्यद्वय यमलाल ढकाल र देवीलाल भण्डारी, नेपाली जनसम्पर्क समिति जापानका सल्लाहकार सुवास लोहनीलगायतका ब्यक्तिहरुले पनि लगानी बोर्ड प्रमुख पन्तसंग अन्तरक्रिया गरेका थिए ।

कार्यक्रमको अन्तमा सभापति ओम गुरुङले उपस्थित सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्दै जापानमा हामीबीचबाटै थुप्रै साथीहरु गर्व गर्न लायकको उद्यमशील उचाई हासिल गरिसकेको परिप्रेक्ष्यमा सामूहिक लगानीको अवधारणालाई अगाडि बढाउन र यसको अगुवाई गर्न कुनै गाह्रो नभएको बिचार ब्यक्त गरे । उनले भने- “जापानमा सबै संघसंस्थाहरुसंग छिट्टै परामर्श र सहकार्य गरी संभावित क्षेत्रको पहिचान गरेर सामूहिक लगानीको अवधारणालाई अगाडि बढाइने छ, यस कार्यमा सम्बन्धित क्षेत्रका ज्ञाता, अनुभवी र विज्ञहरुको सहयोगको आवश्यक छ ।”

टोकियो निशीकासाईस्थित एशियन डाईनिङ साईनो नामक भोजनालयमा भएको सन्ध्याकालिन सो कार्यक्रमको आयोजक सँस्थाका महासचिव डा. राजेन्द्र पराजुलीले संचालन गरेका थिए । ***

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया