शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
  • दुर्गालाल केसी
दाङ – रोजगारीका लागि भारत गएकी एक महिला पतिबाटै बेचिएकी छन् । रुकुमकोट पेदीकी ४० वषर्ीया कल्पना चन्द आफ्नै पति समीर शाहबाट बेचिएकी हुन् । भारतको सिमलामा ५२ हजारमा बेचिएकी उनी ३ वर्षपछि घोराही फर्किएपछि न्याय खोज्न थालेकी छन् ।
चन्दले उजुरी दिएपछि जिल्ला प्रहरीले शाहलाई पक्रेर अनुसन्धान गरिरहेको छ । सुत्केरी हुन १८ दिन मात्र बाँकी रहेका बेला पतिले बेचेर भागेको उनले बताइन् । २०६५ सालमा उनीहरू सिमला गएका थिए । ‘सात महिना काम गरेपछि पति घरायसी व्यवहार मिलाउन नेपाल फर्किए । पछि अर्की
श्रीमती लिएर गएका थिए,’ उनले भनिन्, ‘मलाई तँ जहाँ जानुपर्छ जा भनेर एक्लै छोड्न खोजे तर मैले बच्चा जन्मने बेला भइसकेकाले सुत्केरी हुँदासम्म एक्लै नबनाऊ भनें तर मानेनन् । उनी एकाबिहानै भागेछन् ।’
पति भागेपछि आफू पनि निस्कन खोजेको तर घरमालिकले बेचेको भनेर छुटकारा नदिएको उनले बताइन् । ‘म निस्कन खोज्दा घरमालिकले तिमीलाई पतिले ५२ हजारमा बेचेको छ भन्यो । अनि म त्यहाँबाट निस्कन पाइनँ,’ उनले भनिन्, ‘म बस्ने सानो झुप्रो थियो । उसले छोडेको १८ दिनपछि छोरा जन्मियो । बच्चा जन्मँदा म एक्लै थिएँ, एक्कासि बेहोस भएछु । सघाउने कोही थिएन । पछि होसमा आउँदा बच्चा चिसो भएर सुन्निएको थियो ।’
सुत्केरी हुने दिन पनि दिनभर काम गर्नुपरेको उनले बताइन् । ‘बच्चा जन्मिसकेपछि पनि त्यसरी नै काम गर्नुपर्‍यो,’ उनले भनिन्, ‘दुई वर्षपछि मामा कृष्णबहादुर थापा र दाइ जुद्धबहादुर चन्दले मलाई बेचेको पैसा घरमालिकलाई तिरिदिनुभयो । अनि मात्र म निस्कन पाएँ ।’ त्यसपछि एक वर्ष अन्य ठाउँमा काम गरेर मामा र दाइलाई उक्त पैसा फिर्ता गरेको उनले बताइन् । ऋण तिरेर नेपाल र्फकनेबित्तिकै उनले न्यायको खोजी गर्न थालिन् ।
‘मलाई कतिखेर नेपाल आएर न्यायको बाटो समाउँला भन्ने लागिरहेको थियो । आउनेबित्तिकै श्रीमान् कहाँ छन् भन्ने खोजी गरें । कतारबाट नेपाल र्फकंदै रहेछन् । घोराही आउनेबित्तिकै प्रहरीले पक्राउ गर्‍यो,’ उनले भनिन्, ‘अब न्याय पाउने आशामा छु ।’
भारतमा जन्मिएका छोरा एरिस तीन वर्षका भइसकेका छन् । त्यही बच्चा बोकेर उनी अहिले दिनहुँ प्रहरी कार्यालय र अदालत धाइरहेकी छन् । रोल्पा इरिवाङकी चन्दले २०६४ मा शाहसँग प्रेमविवाह गरेकी थिइन् । घोराहीमा केही समय गिफ्ट पसल गरेपछि थप पैसा कमाउन उनीहरू भारत गएका थिए । जिल्ला प्रहरी प्रमुख एसपी गणेशबहादुर ऐरले शाहलाई पक्राउ गरी मुद्दा चलाइरहेको जानकारी दिए । ‘पक्राउ गरिएको छ । थप अनुसन्धान जारी छ,’ उनले भने, ‘कानुनअनुसार कारबाही अघि बढ्छ ।’

तपाईको प्रतिक्रिया