शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
काठमाडौँ- प्रधानमन्त्री बाबुराम भट्टराईले अब बस्ने मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्रीलाई राष्ट्रियता र सार्वभौमसत्ता विरोधी अभिव्यक्ति नदिन सचेत गराउने बताएका छन् । राष्ट्रपतिले मन्त्रीहरुले जथाभावी बोलेकोमा चिन्ता व्यक्त गरेपछि भट्टराईले यस्तो जानकारी गराएका हुन् ।
राष्ट्रपति रामवरण यादवसँग प्रधानमन्त्री बाबुराम भट्टराईले भेट गरी पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएका छन् । राष्ट्रपति निवासमा भएको भेटवार्तामा संविधान निर्माण र शान्ति प्रक्रियाको बारेमा प्रधानमन्त्रीले जानकारी गराएका उनका प्रेस सल्लाहकार रामरिझन यादवले जानकारी दिए ।
संविधान निर्माणमा भइरहेको ढिलाइबारे राष्ट्रपतिले प्रधानमन्त्रीसँग चासो राख्नुभएको र प्रधानमन्त्रीले सबै प्रक्रिया सहमतिमा नै सम्पन्न गर्ने जानकारी गराएको यादवले जानकारी दिए ।
यसैगरी, भेटमा राष्ट्रपतिले राष्ट्रियता र सार्वभौमसत्ता विरोधी अभिव्यक्ति सरकारका वरिष्ठ मन्त्रीहरुले नै दिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
राष्ट्रपतिले प्रमुख दलहरुका कारण नेपाली जनता निरास भएको भन्दै तत्काल सङ्क्रमणकाल अन्त्य गर्ने गरी अगाडि बढ्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए भने नेपालको तराई मधेसमा जङ्गल मासिएकाले तत्काल वन संरक्षण गर्न सरकार लागि पर्नुपर्नेमा सचेत गराएका थिए ।
प्रधानमन्त्री भट्टराईले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, शान्ति प्रक्रियामा देखिएका विवादित विषय टुङ्ग्याएर अगाडि बढ्न लागेको राष्ट्रपतिलाई जानकारी गराएका थिए। ***

तपाईको प्रतिक्रिया