शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – जापानबाट नेपालमा पैसा पठाउने कम्पनी जापान मनि एक्सप्रेस जेएमईले आफ्नो उपहार योजनाका बिजेताहरुलाई आज टोकियोमा एक समारोहकाबीच साँचो हस्तान्तरण गर्नुकासाथै हार्दिक सम्मान गर्‍यो ।

“नेपालीका लागि नेपाली” “हामीबाटै पठाऔं हामीबाटै पाऔं, त्यो पनि मात्र ८५० येनमा” जस्ता अत्यन्त आकर्षक नाराकासाथ आफ्नो सेवा बिस्तार गरिरहेको जेएमईले आज टोकियोमा एक समारोहको आयोजना गरी उपहार विजेताद्वयलाई साँचो हस्तान्तरण गरेको हो ।

जेएमईले नेपालीहरुको महान पर्व दशैतिहारको उपलक्ष्यमा आफु मार्फत नेपालमा पैसा पठाउने आफ्ना ग्राहकहरुमध्यबाट भाग्यमानी दुईजनालाई मोटरसाइकल र स्कुटर उपहार योजना बजारमा ल्याएको थियो । जसअनुसार लमजुङकी प्रिया गुरुङलाई पहिलो उपहार मोटरसाइकल र काठमाडौका सुमन थापालाई दोश्रो उपहार स्कुटर परेको थियो र उहाँहरुलाई समारोहका प्रमुख अतिथि नेपाली राजदूतावासका उपनियोग प्रमुख तापस अधिकारीले साँचो हस्तान्तरण गर्नुभयो ।

उपहार विजेताद्वयलाई अर्का अतिथि एनआरएन जापानका अध्यक्ष ओम गुरुङले खादार्पण गरी जेएमईको तर्फबाट सम्मान गर्नुभएको थियो ।

प्रमुख अतिथिको आसनबाट अधिकारीले नेपालीहरुको कमाईलाई सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउने रेमिट्यान्स ब्यवसायीहरुबीच एकता र समन्वय कायम हुनुपर्ने धारणा राख्दै जेएमईको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्नुभयो ।

यसैगरी बिशेष अतिथि एनआरएन जापानका अध्यक्ष ओम गुरुङले प्रतिस्पर्धाको नाममा ब्यवसायनै संकटमा पर्न सक्ने तर्फ चनाखो रहन संकेत गर्दै ग्राहकलाई आकर्षित गर्न अल्पकालिन सेवा र सुबिधा बजारमा ल्याउनुभन्दा ब्यवसायीहरुबीच समन्वय गरी टिकाउ हुने योजना प्रबाह गरिनुपर्ने बिचार ब्यक्त गर्नुभयो ।

कार्यक्रमको शुभारम्भमा जेएमईका प्रमुख कार्यकारी अधिकृत डिपी अर्यालले कार्यक्रममा उपस्थित महानुभावहरुको स्वागत गर्दै जेएमईका सेवा तथा सुबिधाहरुका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले ग्राहकहरुको सेवा तथा सुबिधालाई ध्यानमा राखी जापानको बिभिन्न स्थानहरुमा कलेक्शन काउन्टरको ब्यवस्था गरिएको, हालसम्म जेएमईको ग्राहक संख्या ५ हजार भन्दा बढि रहेको, यहि महिनादेखि नै बिश्वका ९३ मुलुकहरुमा एकैचोटी रेमिट्यान्स सेवा बिस्तार गर्न लागेको जस्ता ब्यवसायिक जानकारी दिनुभयो ।

सो अवसरमा रेमिट्यान्स ब्यवसायी सिटी एक्सप्रेस जापानका अध्यक्ष महेश श्रेष्ठले बैधानिकरुपबाट जापानबाट नेपालमा पैसा पठाउने रेमिट्यान्स सेवाको ऐतिहासिक पक्षबारे प्रकाश पार्दै प्रतिमहिना जापानबाट हाल १ अरबभन्दा बढि रकम नेपाल भित्रिने गरेको सन्दर्भलाई जोड्दै उहाँले ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी सिटी एक्सप्रेसले सेवा तथा सुबिधाहरु थप्दै लैजाने कार्यक्रम रहेको र जेएमईले पनि सेवा तथा सुबिधा बढाउने बिश्वासका साथ सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

यसैगरी समारोहमा अन्तरराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष शालिकराम भण्डारीले जेएमईको सफलताको कामना गर्दै रेमिट्यान्स ब्यवसायीहरु प्रतिस्पर्धीको नक्कल गर्दै सुबिधा बढाउने गरिएको प्रबृक्तिले दिन सकिने सुबिधा पनि हालसम्म नदिईएको रहेछ भन्ने सन्देश समाजमा गएकोले यस्ता सेवा तथा सुबिधा शुरुदेखि नै दिइएको भए उपयुक्त हुने धारणा रख्नुभयो ।

यसैगरी आईएमईका जापान प्रतिनिधि राजीव श्रेष्ठले जेएमईको उत्तरोत्तर प्रगति र सफलताको कामना गर्दै रेमिट्यान्स ब्यवसायीहरुबीच स्वस्थ्य र स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बिचार ब्यक्त गर्नुभयो ।

यसैगरी समारोहमा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले जेएमईको सफलताको शुभकामना ब्यक्त गर्दै जापानमा रेमिट कम्पनीहरुले यहाँका नेपालीहरुको सेवा र सुबिधालाई सँधै केन्द्रमा राखी आफ्ना योजनाहरु ल्याईनुपर्ने बिचार ब्यक्त गर्नुभयो । उहाँले अन्य वैकल्पिक उपायहरु अवलम्बन गरेर भएपनि रेमिट्यान्स बापत लाग्ने दस्तुर संभवभएसम्म सस्तो गरिनुपर्नेमा जोड दिनुभयो ।

अन्तमा, सभाका सभापति डिपी अर्यालले आफ्ना संक्षिप्त भनाईहरु राख्दै औपचारिक समारोहको समापन गर्नुभएको थियो ।

औपचारिक समारोहको समापन पश्चात आयोजक संस्था जेएमईले सामूहिक दिवाभोजको ब्यवस्था गरेको थियो । नेपाली खाजाघर ममको सभाकक्षमा भएको सो समारोहमा अन्तरराष्ट्रिय नेपाली समाज जापानका महासचिव अर्जुन अधिकारीको सञ्चालन रहेको थियो । ***

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया