शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – थकाली सेवा समिति जापानले ईश्वी सम्वत २०११ को समापन तथा नयाँ वर्ष २०१२ को उपलक्ष्यमा एउटा भव्य काउन्टडाउन पार्टीका साथै एड्स रोग नियन्त्रण संघ कास्कीद्वारा निर्मित वृत्तचित्र प्रदर्शन गरेको छ ।

कार्यक्रममा समितिले यस वर्ष जापान प्रवेश गरेका थकालीबन्धुहरूलाई समाजका अध्यक्ष शरद कुमार गौचनले खादा लगाई स्वागत गर्नुभएको थियो । यस्तै समाजका संरक्षक डा. योगेन तुलाचनले २०११ साल जापानको लागि अत्यन्तै दुःखदायी वर्ष रहेता पनि जापानीहरू कठोर परिश्रम र सभ्यताका साथ यसबाट छिट्टै पार लाग्ने बताउँदै समाजका सदस्यहरूले यसवाट पाठ सिक्नुपर्ने बताउँनु भयो ।

यसअघि नेपालवाट आफ्नो निजी भ्रमणमा आउनु भएका समाजसेवी एवं एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष तथा कार्यक्रमका अतिथि विश्वमोहन गौचनले गत मार्च महिनामा जापानमा आएको महाभूकम्प तथा सुनामी पीडितहरूलाई समाजले सहयोग गरेको सरहाना गर्दै आफु सम्बन्धित संस्था एड्स रोग नियन्त्रण संघ कास्कीको परिचय र कृयाकलाप वारे जानकारी गराउनु भएको थियो । उहाँले वृत्तचित्र मार्फत उपस्थितहरूलाई एड्स रोगका बारेमा केही शिक्षास्पद कुराहरू पनि बताउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एनआरएन जापानका अध्यक्ष ओम गुरूङले जनचेतना नै एड्स रोग निर्मुल पार्ने प्रमुख माध्यम रहेको बताउनु हुदै चेतनामूलक कार्यक्रम गर्ने समाजसेवी गौचनको कार्यको प्रशंसा गर्नु भयो ।

कार्यक्रमको पहिलो चरणमा “लक्ष्मी” नामक वास्ताविक घटनामा आधारित वृत्तचित्र प्रदर्शन गरिएको थियो । राष्ट्रिय डक्युमेन्ट्री एवं फिल्म फेस्तिवल २०६५ मा जुरी अवार्ड तथा पोखरा अन्तर्राष्ट्रिय फिल्म फेष्टिवल २०६७ मा स्थानिय प्रोत्साहन अवार्ड प्राप्त गरेको उक्त वृत्तचित्रले दर्शकहरूलाई भागविव्हल बनाएको थियो ।

समितिका सहकोषाध्यक्ष दिपक गौचनको स्वागत मन्तव्यवाट सुरू भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव अनिल भट्टचनले गर्नुभएको थियो भने सम्पूर्ण सभाका सभापतित्व अध्यक्ष शरद कुमार गौचनले गर्नुभएको थियो ।

 

 

तपाईको प्रतिक्रिया