बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो – आज टोकियोमा आयोजित एक समारोहकाबिच दर्जनौ श्रष्टाहरुले बिभिन्न बिधाका साहित्यिक सिर्जनाहरु वाचन गरे।

श्रष्टाहरुले आ-आफ्ना सिर्जना मार्फत देशप्रतिको माया, कर्त्तब्य र सामाजिक जिम्मेवारी लगायतका विविध पक्षमा सजग र सतर्क रहन ध्यानाकर्षण गराउँदै नेपाली साहित्यको उजागर गरेका हुन् ।

उनीहरुले साहित्यमार्फत नेपाली समाजमा बिद्यमान बिसंगति र बिकृतिको उछिट्टो काढ्नुका साथै नेपाली राजनीति र नेतागणप्रतिको बितृष्णालाई समेत तिखो वाण प्रहार गर्न भ्याए ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान शाखाले हरेक तीन महिनाको अन्तरमा नियमितरुपमा आयोजना गर्दै आएको साहित्यिक शृङखलाका अवसरमा जापानमा रहेका सर्जकहरुको साहित्यिक सिर्जनाहरु प्रस्फुटन भएको हो ।

आयोजक संस्थाका अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा भएको सो साहित्यिक कार्यक्रममा अनेसास नेपालका उपाध्यक्ष एवं कान्तिपुरकर्मी तृष्णा कुँवर, एनआरएन जापानका उपाध्यक्ष चिरिञ्जिवी थापा, बिश्व नेपाली साहित्य महासंघका केन्द्रिय उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ललगायतका बिभिन्न संघसंस्थाहरुको आतिथ्यता रहेको थियो ।

साहित्यिक सिर्जना वाचन गर्ने सर्जकहरुमा अर्जुन अधिकारी-कविता, रामजंग कार्की-गजल, चैतन्य अधिकारी-कविता, छक्कू उदासी-लघुकथा तथा कविता, देवीलाल भण्डारी-कविता, राजेन्द्र जम्मरकट्टेल-कविता, सागर रिजाल-कविता, जिज्ञान थापा-मुक्तक, सुवास लोहनी-हास्यकविता, पिताम्बर चापागाई “पदमपाणि”-गजल, श्रवण सत्याल-चिठी तथा क्यारिकेचर, पुष्कर थापा-हाइकु, देवी इङ्नाम-कविता, बेलु थापा-मुक्तक र चुटि्कला, कृष्णकुमार श्रेष्ठ-गजल, शशि बिक-हाइकु र गजल, तिलक मल्ल-कविता, तृष्णा कुँवर-कथा, प्रकाश पौडेल माइला-हाइकु रहेका थिए ।

समारोहमा डायस्पोरिक नेपाली साहित्यका बारेमा प्रकाश पार्दै बिभिन्न वक्ताहरुले आ-आफ्ना धारणा पनि राखेका थिए । वक्ताहरुमा वी फर अलका अध्यक्ष सरोज खत्री, तमु धीं जापानका अध्यक्ष हर्क गुरुङ, मजदुर संगठन जापानका उपाध्यक्ष पदम गुरुङ, नेपाल जापान डट कमका शरद शेरचन, एनआरएन आइसीसी च्यारिटी टास्क फोर्सका सदस्य कपिलदेव थापा, प्रवासी नेपाली पत्रकार सञ्जालका अध्यक्ष भूषण घिमिरे, नेसाजका सहसचिव कुमार डल्लाकोटी, पश्चिमाञ्चल भलिबल संघका पूर्व अध्यक्ष एवं तमु धीं जापानका उपाध्यक्ष श्री गुरुङ, एनआरएन जापानका उपाध्यक्ष चिरिञ्जिवी थापा लगायतका थिए ।

केहि साता अगाडि ओसाकामा निर्मम हत्या भएका स्व. बिष्णु धमलाप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै १ मिनेट मौनधारणबाट शुरु भएको सो साहित्यिक समारोहको आयोजक सँस्थाका सहसचिव शशि विकले सञ्चालन गरेका थिए भने सदस्य राजेन्द्र जम्मरकट्टेलले स्वागत गरेका थिए । कार्यक्रमको प्रारम्भमा नेपाल र जापान दूवै देशको राष्ट्रिय गान बजाइएको थियो ।

आजको साहित्यिक शृङखलामा सुभास लोहनीको नेपाली र जापानी दूवै भाषा मिश्रति हास्य-कविता बिशेष आकर्षण बन्न सफल रह्यो । लोहनीले मायापिरतीको खेलमा हुने घात-अन्तरघातको पींडालाई केन्द्रिय बिषयवस्तु बनाएर मजासंग हँसाए, रौसाए र साहित्यको नयाँ स्वाद चखाए । यसैगरी श्रवण सत्यालले आमालाई लेखेको छोरीको चिठीमार्फत जापानका नेपालीहरुको कथाब्यथा र नालीबेली छर्लङ्ग पार्नुकासाथै नेताहरुको क्यारिकेचरमार्फत जापानका केहि अगुवाहरुलाई प्रतिनिधिपात्र बनाएर चोटिला ब्यङ्ग्य प्रहार गरे, जसलाई श्रोताहरुले निकै मन पराए । यसैगरी अन्य सिर्जनाहरुमा पिताम्बर चापागाई “पदमपाणि” को गजल, चैतन्य अधिकारीको-कविता “हिउँ छर्ने बेला”, कृष्णकुमार श्रेष्ठको-गजल, प्रकाश पौडेल माइलाको-हाईकुलगायतका सिर्जनाहरु आजको कार्यक्रमका थप आकर्षण बने ।

समारोहमा वक्ताहरुले साहित्य भनेको समाजको ऐना भएकोले यसले केवल मायापिरतीको कथा, लोकाचारका भाका र उच्छबासका उत्ताउला गन्थन भन्दा साहित्यमार्फत देश दुखेको भाषालाई सम्बोधन गरिनुपर्ने, समाजका बिसंगति र बिकृतिहरुको बिरुद्धमा आवाज उठाईनुपर्ने र सभ्य समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गरिनुपर्नेमा जोड दिएका थिए ।

स्मरणरहोस, आजको साहित्य शृङखला अनेसास जापानको बर्तमान कार्यसमितिको पहिलो साहित्यिक कार्यक्रम हो । ***

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया